ब्याजदर घटाउनेबारे छिट्टै निष्कर्षमा पुग्छौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’
विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महसुस भएको भन्दै विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको प्रधानमन्त्रीको भनाइ छ । ‘बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दै छु । हामीले एक अर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ’ प्रधानमन्त्रीको भनाइ छ ।
उनले अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको पनि बताए । ‘भूकम्प, कोभिड, रुस र युक्रेनको युद्ध लगायतका कारण छन् । आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ’, प्रधानमन्त्रीको भनाइ छ । उनले अनुगमनलाई कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने भएकाले त्यतातर्फ सरकारले जोड दिइरहेको भन्दै घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने बताए ।
‘बैङ्क ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदै, हुल हुज्जतमा सरकार कठोर हुन्छ’, प्रधानमन्त्रीको भनाइ छ । छलफलमा विभिन्न बैङ्कका कार्यकारी अधिकृत लगायत बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैङ्क र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका थिए ।
बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, गृह सचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तोयम राय लगायतका पदाधिकारीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न