शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी केन्द्रका विभाग : संगठन विभागको सक्रियता बढ्यो, नेता–कार्यकर्तालाई पढाउँदै स्कुल विभाग

मङ्गलबार, २८ चैत २०७९, १० : ३७
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका ३४ विभागमध्ये अधिकांश विभाग निष्क्रिय देखिएका छन् । यद्यपि संगठन विभाग, स्कुल विभाग र जलस्रोत तथा ऊर्जा विभाग गरी तीन विभाग अत्यन्तै सक्रिय छन् । अरू सात विभाग पनि तुलनात्मक रूपमा सक्रिय नै देखिएका छन् ।

निष्क्रियजस्तै रहेका २४ विभागमध्ये कतिपयको विभागीय प्रमुख नै छैनन् भने अधिकांश विभागको बैठकसमेत बस्न सकेको छैन । तर केही विभागले नियमित बैठक राख्ने र पार्टीलाई सुझाव दिने काम गर्दै आएका छन् ।

संगठन विभागको सक्रियता बढ्यो

पार्टीको महत्त्वपूर्ण विभागको रूपमा संगठन विभागलाई लिइन्छ । संगठन विभागलाई नेतृत्वसम्म पुग्ने भर्‍याङका रूपमा पनि बुझिन्छ । त्यसैले विभाग गठन गर्ने बेला संगठन विभाग प्रमुख हुन निकै हानथापसमेत भयो । अन्त्यमा संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाए ।

यसबिचमै पार्टीको पदाधिकारी चयनमा निकै पनि हानथाप भयो । पार्टीको महासचिव हुन जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङ लगायत नेताले निकै जोडबल गरेका थिए । अन्त्यमा गुरुङलाई महासचिव बनाइयो र शर्मालाई उपमहासचिवको समेत जिम्मेवारी दिइयो तर शर्माले उपमहासचिव पद स्वीकार गरेका छैनन् । यद्यपि पार्टीको संगठन विभाग प्रमुखको रूपमा उनी निकै सक्रिय छन् । मन्त्री हुँदा पार्टीका गतिविधिमा खासै सक्रिय नभएका शर्मा पछिल्लो समय पार्टीभित्र निकै सक्रियता बढाएका देखिन्छन् । उनले संगठन विस्तारलाई आक्रामक रूपमा अघि बढाएका छन् ।

पार्टी संगठन निर्माण गर्न अध्यक्ष प्रचण्डलाई विभिन्न चरणमा गरेर चार प्रतिवेदन बुझाएर सुझाव दिएको संगठन विभाग प्रमुख शर्माले बताए । ‘अहिले देशभर अन्तर्क्रिया गरेर पार्टी निर्माण गर्न लागेका छौँ । प्रदेशहरूमा विभिन्न अन्तर्क्रिया भइराखेका छन् । अब बागमती र गण्डकी प्रदेशको मात्रै बाँकी छ,’ रातोपाटीसँग शर्माले भने, ‘पार्टीलाई कसरी जनता र कार्यकर्तातिर फर्किएको पार्टी बनाउने हो ? पार्टीलाई कसरी नेतामुखी हुन नदिने भन्ने विषयमा विभिन्न समयमा अध्ययन गरेर प्रतिवेदन बुझाएका छौँ ।’

नेता कार्यकर्तालाई उत्पादनमा जोड्ने नीति बनाएर अघि बढेमात्रै पार्टी बलियो बनाउन सकिने शर्माले बताए । अब पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन उत्पादन र श्रममा जोड्न सकेमात्रै पार्टी र देश बनाउन सकिने शर्माको तर्क छ । पार्टी सदस्य सङ्ख्या ८ लाख पुर्‍याएर एक जनाले तीन जना सदस्य अनिवार्य बनाउँदै २४ लाख सदस्य पुर्‍याउने योजना उनले बनाएका थिए ।

यस विभागको प्रमुखमा शर्मा भए पनि उपप्रमुख तोकिएको छैन । यसका सदस्यमा सात प्रदेशका इन्चार्ज र तीन गैरभौगोलिक प्रदेशका इन्चार्जलाई राखिएको छ ।

पाठ्यक्रम बनाएर नेता–कार्यकर्तालाई पढाउँदै स्कुल विभाग

पार्टीको स्कुल विभाग प्रमुख पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ छन् । स्कुल विभाग उपप्रमुखमा पार्टी उपमहासचिव गिरिराजमणि पोखरेल छन् । यो विभागको ३६ सदस्यीय कमिटी बनाएको छ । जसमध्ये रमेश भट्टराई एमालेमा प्रवेश गरेका छन् भने २ जना विदेश अध्ययन गर्न गएकाले तीन सदस्य रिक्त हुन पुगेको हो । स्कुल विभागको बैठक नियमित बस्ने गरे पनि अझै तीन सदस्य नियुक्त गरिएको छैन ।

तर, आफूहरूले जिम्मेवारी पाएपछि नियमित बैठक र प्रशिक्षण चलिरहेको विभाग उपप्रमुख पोखरेलले बताए । ‘हामीले विभाग गठन गरे लगत्तै पाठ्यक्रम बनायौँ । कार्यविधि र कार्ययोजना बनायौँ । त्यो बिचमा विभिन्न राजनीतिक घटनाक्रमले गतिविधि अघि बढ्न सकेन,’ पोखरेलले भने, ‘कार्ययोजनामा स्कुलिङ महत्त्वपूर्ण हो । पाठ्यक्रममा चार संरचना बनाएको छ । आधारभूत, माध्यमिक, उच्च र अनुसन्धान छ । आधारभूत स्थानीय र जिल्लामा अध्ययन गराइने छ । माध्यमिक तहको प्रदेश, उच्च तहको पाठ्यक्रम केन्द्रले र अनुसन्धानमूलक कार्यक्रम आवश्यकताका आधारमा समकालीन मुद्दामा केन्द्रीय स्कुल विभागले काम अघि बढाउने छ ।’

पाठ्यक्रम बनाएपछि केन्द्रदेखि दुई प्रदेशमा स्कुल विभागको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको पोखरेलले बताए । अब लुम्बिनी, कर्णाली र बागमती प्रदेशको प्रशिक्षणको तयारी गरिएको उनको भनाइ छ । स्कुल विभागले पार्टी निर्माण र विस्तारसँगै वैचारिक पार्टी निर्माणमा जोड दिएको पोखरेलले बताए ।

जलस्रोत तथा ऊर्जा विभाग नीति बनाउन सक्रिय 

यस विभागको प्रमुख लीलामणि पोखरेल छन् भने उपप्रमुख कसैलाई तोकिएको छैन । कुल ३५ जना सदस्य बनाउने भनिए पनि तीन जना सदस्य अझै नियुक्त गरिएको छैन । यद्यपि विभागको बैठक नियमित बस्दै आएको छ ।

विभागका प्रमुख पोखरेलले यसअघि जलस्रोत विभागले धेरै काम गरे पनि पछिल्लो समय प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे । ‘हामीले यसअघि यो विभागबाट धेरै काम गर्‍यौँ । हाम्रै योजनामा लोडसेडिङ अन्त्यदेखि अरू महत्त्वपूर्ण नीतिगत काम भएका थिए,’ पोखरेलले भने, ‘अब प्रभावकारी काम गर्न सचिवालय बनाएर काम गर्ने तयारीमा छौँ । त्यसपछि देखिने गरी काम हुन सक्छ ।’

आगामी नीति तथा कार्यक्रमलाई मध्यनजर गर्दै वैशाख ५ गते विभागको बैठक बोलाएको पोखरेलले बताए ।  

स्वास्थ्य विभाग सक्रिय हुन खोज्दै

स्वास्थ्य तथा जनसङ्ख्या विभागको प्रमुख कल्पना धमला र उपप्रमुख कमल रानाभाट छन् । विभागले पूर्णता पाए पनि नीति निर्माणमा हस्तक्षेप गर्ने गरी कुनै काम गर्न सकेको छैन । उल्लेख्य काम गर्न नसके पनि आफ्नै गतिमा यो विभाग सक्रिय हुन खोजेको छ । विभाग गठन भएपछि १० भन्दा बढी बैठक बसेर छलफल गरिसकेको र आवश्यकता परेको अवस्थामा भर्चुअल माध्यममार्फत महिनामा २ पटकसमेत बैठक बस्ने गरेको विभागकी प्रमुख धमलाले बताइन् ।

‘मैले विभागलाई सक्रिय बनाएको छु । सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव दिने भनिएको छ । त्यसमा गृहकार्य भइराखेको छ । यो विभाग गठन भएपछि १० भन्दा बढी बैठक बसेको छ,’ उनले भनिन् । आफूले जिम्मेवारी सम्हालेको १८ महिनामा के के काम भए भन्ने विषयमा समीक्षासमेत गर्ने गरेको धमलाले बताइन् ।

कोरोनाका बेला धेरै काम गरेको धमलाले दाबी गरिन् । ‘हामीले कोरोनामा धेरै काम गर्‍यौँ । कतिपय अवस्थामा राज्यले गर्न नसकेका विभागले काम गरेको छ,’ धमलाले भनिन्, ‘कोरोना बेलामा अक्सिजन, मास्क, स्यानिटाइजर वितरण गरियो । अरू सचेतनामूलक कार्यक्रम भए । स्वास्थ्य शिविर गरिराखेका छौँ ।’ हरेक गाउँ बस्तीमा मोबाइल अस्पताल चलाउनु पर्छ भनेर अवधारणा अघि सारिए पनि कार्यान्वयन गर्न नसकिएको धमलाले बताइन् ।

सहरी विभागले आफ्नो सुझाव सरकारलाई बुझायो

सहरी विकास विभागले देशको सहरी नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिएको छ । सरकारले लिने सहरी नीतिका सम्बन्धमा अध्ययन गरेर सुझाव बुझाएको  विभागका सदस्य रोशन थापा मगरले बताए ।

‘यो विभाग गठन भएपछि तीन वटा बैठक बस्यो । त्यसमध्ये एउटा बैठकले सहरी नीतिका विषयमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ,’ थापा मगरले भने, ‘हामीले अध्ययन गरेर दिएको सुझाव अनुसार सहरी नीति लागु भएमा त्यसलाई उपलब्धि मान्नुपर्छ ।’

विभागले अरू कुनै उल्लेख्य काम गर्न सकेको छैन । अरू आवश्यकता बमोजिम भर्चुअल मार्फत बैठक बस्ने गरेको थापा मगरले बताए । यस विभागका प्रमुख पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र उपप्रमुख कलबहादुर रोकाय छन् ।

समाज कल्याण विभागले सक्रियता बढायो

यस विभागको प्रमुख सत्या पहाडी छिन् । विभागको ३५ सदस्यीय कमिटी छ । विभाग प्रमुख पहाडी लामो समय पेट सम्बन्धी बिरामी भए पनि नियमित बैठक राखेर विभागलाई सक्रिय राखेकी छन् । नियमित बैठक राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको नियमन सम्बन्धी काम हुँदै आएको छ । विभाग गठन भएपछि पाँच पटक बैठक बसेको सदस्य इन्द्रराज भट्टराईले बताए । विभागको भूमिका बमोजिम काम कारबाही भइरहेको भट्टराईको दाबी छ ।

विदेश पलायनबारे अध्ययन गर्दै श्रम विभाग

पार्टीको श्रम तथा रोजगार विभागले युवाहरू विदेश पलायनका विषयमा अध्ययन गर्न थालेको छ । देशबाट लाखौँ युवा विदेश पलायन हुन थालेपछि विषय विज्ञ राखेर छलफल गर्न थालेको एक सदस्यले बताए ।

‘हामी नियमित बैठक बस्ने, छलफल गर्ने र सरकारलाई सुझाव दिने काम गरिरहेका छौँ । अहिलेसम्म ५ पटक बैठक बसियो,’ ती सदस्यले भने, ‘अहिले युवा विदेश पलायनका विषयमा अध्ययन गरेर समाधानका उपायसमेत सुझाउने तयारी छ ।’

देशमा रोजगारी सिर्जना नहुँदा युवाहरू विदेश जाने गरेकाले स्वदेशमा रोजगारी सिर्जना गर्न सुझाव दिने तयारी गरिएको ती सदस्यले बताए । यस विभाग प्रमुख पूर्व श्रम मन्त्री रामेश्वर राय यादव छन् भने उपप्रमुख कसैलाई नियुक्त गरिएको छैन ।

मन्त्री भएपछि रेखा शर्माले आफ्नै विभागबाट सुझाव लिइन्

राजकीय मामिला तथा सुशासन विभागको प्रमुखमा सञ्चार मन्त्री रेखा शर्मा छिन् भने उपप्रमुख नरेश भण्डारी छन् । शर्मा मन्त्री भएपछि विभागको बैठक बोलाएर सुझावसमेत लिएको विभागका सदस्य सुरेश न्यौपानेले बताए । यस विभागको नियमित बैठक र छलफल हुँदै आएको उनले बताए ।

‘हामी नियमित बैठक बस्ने, छलफल गर्ने गर्दै आएका छौँ,’ न्यौपानेले भने, ‘सुशासनका मामिलामा विज्ञ र सरोकारवाला निकायसँग सुझाव लिएर काम भइरहेका छन् । अब नतिजामा देखिने गरी काम गर्नुपर्छ भन्ने छ ।’

सक्रियता बढाउँदै पर्यटन विभाग

पार्टीको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागले सक्रियता बढाउँदै लगेको छ । यो विभागमा नियमित बैठक तथा छलफल भइरहेको विभागका प्रमुख झक्कुप्रसाद सुवेदीले बताए । विभागका ३५ सदस्यमध्ये अधिकांश सक्रिय रहेको सुवेदीले बताए ।

‘हामीले पर्यटन विभागलाई सक्रिय बनाएका छौँ । नियमित बैठक, छलफल गोष्ठी, अन्तर्क्रिया गर्दै आएका छौँ,’ सुवेदीले भने, ‘हरेक पर्यटन मन्त्रीलाई सुझाव दिँदै आएका छौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने विषयहरू लिखित रूपमा प्रधानमन्त्रीज्यूलाई बुझाउँदै छौँ ।’

पर्यटन विभागलाई सक्रिय बनाउन विषय विज्ञको समेत सुझाव लिने गरेको सुवेदीले बताए ।

आफ्नै सुझाव कार्यान्वयन गर्दै साहित्य, कला तथा सांस्कृतिक विभाग

साहित्य, कला तथा सांस्कृतिक विभागले पनि नियमित बैठक तथा छलफल गर्दै आएको छ । माओवादी सरकारमा सहभागी भएपछि विभागका कतिपय सदस्य राजकीय भूमिकामा छन् । यस विभागका प्रमुख गोपाल ठाकुर भाषा आयोगका प्रमुख छन् भने उपप्रमुख सरल सहयात्री पौडेल बागमती प्रदेशका सांसद छन् ।

Gopal_Thakur

अरू कतिपय सदस्यले पनि कला साहित्य क्षेत्रमा नियुक्ति लिएका छन् । आफूले सोचेको योजना र कार्यक्रम सत्तामा गएर लागु गर्न लागेको एक सदस्यले बताए । ‘हामीले सत्ता बाहिर हुँदा यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर बोल्यौँ,’ ती सदस्यले भने, ‘अब हामीले कार्यान्वयन गरेर परिणाम देखाउनु पर्नेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप