शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

१६ जनालाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्ने तयारी

प्रतिस्पर्धामा को–को ?
बिहीबार, ३० चैत २०७९, १२ : ५८
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू बुधवार प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भए । बढुवा समितिले गरेको सिफारिस अनुसार एकहप्ता पुरा भएपछि गृहमन्त्रीले डीआईजी बढुवाको निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । नायव महानिरीक्षकमा बढुवा सिफारिससँगै प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने बाटो खुलेको छ । डीआईजी बढुवा सिफारिस भएसँगै १६ जनालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न मिल्छ ।

निवर्तमान आईजीपी धिरजप्रताप सिंहसँगै उनका ब्याचमेट उमाशंकर पञ्जियार र जनकराज पाण्डे एसएसपीबाट अवकाशमा गएका थिए । त्यसअघि एसएसपी लोकेन्द्र श्रेष्ठको अवकाश भएकाले रिक्त पदसंख्या १६ पुगेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । एसएसपीमा बढुवा हुन २०७५ जेठ २९ मा प्रहरी उपरीक्षक (एसपी) भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयले एसएसपी बढुवाको तयारी थालेको छ । एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् । प्रहरी महानिरीक्षक सदस्य र  मानव श्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा समितिमा सदस्य–सचिव हुन्छन् ।

एसएसपी बढुवाको मेरिट लिस्टमा सबैभन्दा माथि विमल बस्नेत छन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका बस्नेत २०७४ मा प्रहरी उपरीक्षक भएका हुन् । बढुवाको प्रतिस्पर्धामा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले र  सोमेन्द्रसिंह राठौर अगाडि छन् । उनीहरू २०७५ जेठ २९ मा एसपीमा बढुवा भएका थिए ।

२०७५ जेठमै प्रहरी उपरीक्षक भएका मुकुन्द मरासिनी, कृष्णबहादुर पल्लीमगर, भूपेन्द्र खत्री, गङ्गा पन्त, गोपालचन्द्र भट्टराई, रवि पौडेल, बेलबहादुर पाण्डे, दिपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभूषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन र वसन्त रजौरे बढुवाको लाइनमा छन्  ।   २०७५ फागुन ७ मा एसपी भएका अधिकृतहरू पनि बढुवा हुने दौडमा छन् । पछिल्लो लटका रमेश बस्नेत, श्यामकृष्ण अधिकारी र रवीन्द्र रेग्मी पनि बढुवाको प्रतिस्पर्धामा छन् ।

बढुवा ढिला भएमा २०८० वैशाखमा थप दुईवटा वरिष्ठ उपरीक्षकको पद रिक्त हुन्छ । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रसिंह खड्का वैशाख १० मा र चक्रबहादुर सिंह वैशाख १४ मा अवकाशमा जान्छन् । बुधवारको डीआईजी बढुवा सिफारिसमा चक्रबहादुर सिंहलाई अन्यायपूर्ण तरिकाले छुट्ट्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप