बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
बारा-२ उपनिर्वाचन

'म यो क्षेत्रको धर्तीपुत्र हुँ, जनताले बाहिरका उम्मेदवारलाई भोट दिँदैनौँ भनेका छन्'

गठबन्धन नेताहरुको मात्र हो, जनताकोे होइन : कुशवाहा
शुक्रबार, ०१ वैशाख २०८०, १२ : ००
शुक्रबार, ०१ वैशाख २०८०

बारा । बारा–२ मा यतिबेला चुनावी माहोल तातेको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । माओवादीमा रहँदा २०६४ को चुनावमा यसै क्षेत्रबाट जितेका शिवचन्द्र कुशवाहा गत मंसिरमा सम्पन्न निर्वाचनमा पराजित भए । वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।

गरिबी, अशिक्षाले ग्रस्त तथा स्वास्थ्यको पहुँचमा हुन नसकेको मधेस प्रदेशका जिल्लामध्ये बारा पनि एक हो । बारा–२ मा कुशवाहाको राजनीतिक जग पुरानो भए पनि छुट्टै विचार बोकेका राउतको पार्टीबाट उम्मेदवार बनेका कारण उनलाई जित हासिल गर्न त्यति सहज देखिएको छैन । तर, कुशवाहा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । प्रस्तुत छ– चुनाव प्रचार, एजेण्डा लगायतका विषयसँग केन्द्रित रहेर कुशवाहासँग गरिएको कुराकानीको सम्पादित अंश :

घरदैलोका क्रममा कस्ता चुनावी एजेण्डा लिएर जानुभएको छ ?

यो भन्दा अघि चुनाव जितेर गएकाहरुले यहाँका जनताको अपेक्षालाई पूरा गर्न सकेका छैनन् । जनताको गुनासो हामीले धेरै सुनिरहेका छौं । त्यसैले हामीले धर्तीपुत्रलाई जिताऔं, आफ्नो क्षेत्रको उम्मेदवारलाई जिताऔं, सप्तरीबाट आएको मान्छेलाई जिताउनुहुन्छ भने भोलिदेखि भेट हुँदैन भनेर जनतालाई आग्रह गरिरहेका छौं ।

जनताको बीचमा कस्ता चुनावी एजेण्डा लिएर जाँदै हुनुहन्छ ?

स्वास्थ्य, शिक्षा, रोजगारका कुरा, किसानका मलखादका समस्या छन् । मधेसमा किसानका समस्या धेरै छन् । उद्योगपतिहरु पनि छैनन् । हामी किसानका समस्याहरु सुनिरहेका छौं । खुला सीमा, रोटीबेटीको सम्बन्ध छ । अहिले बोर्डरमा आवातजावत गर्न पनि ठुलो समस्या भइरहेको छ । यी सबै कुराको अवगत सरकारलाई पनि हुँदैन । हामी सरकारलाई आफ्ना कुरा राख्छौं ।

घरदैलोको क्रममा जनताको गुनासो कति आएका छन् ?

यो निर्वाचन क्षेत्रबाट चुनाव जितेर गएकाहरुले जनताको मतको सम्मान गर्न सक्दैनन्, जनताले चाहे अनुसारको योजना दिन सक्दैनन् । सडक, पुल पुलेसाका कुरा भए, जनताका दैनिक कामकाजका समस्याहरुमा पनि उसको सहभागिता हुँदैन, त्यसैले हामीहरुले भनिरहेका छौं– धर्तीपुत्रलाई जिताउनुस् ।

यही क्षेत्रकालाई जिताए तपाईलाई सुखदुःखमा साथ दिन्छ भनेर मतदातालाई भनिरहेका छौं । धेरैले हामी बाहिरियालाई भोट दिँदैनौं भनिरहनु भएको छ ।

त्यसो भए तपाईको मुख्य प्रतिस्पर्धी को हुनुहुन्छ ?

s5

तपाईहरु गाउँमा गएर हेर्नुस्, मेरो कोही प्रतिस्पर्धी छन्जस्तो देखिएको छैन । किनकि ममात्रै यो क्षेत्रको धर्तीपुत्र हुँ, जनताले बाहिरका उम्मेदवारलाई भोट दिँदैनौं भनेका छन् । त्यसैले मैले कसलाई प्रतिस्पर्धी ठान्ने ? मैले प्रतिस्पर्धी देखेकै छैन । 

हिजो लामो समय माओवादीमा बसेर राजनीति गर्नुभयो, अहिले अवसरका लागि पार्टी फेर्नुभयो भन्ने जनताको आरोप छ नि ?

कसैले यो प्रश्न मलाई गरेको छैन । जनताले मलाई फलानो पार्टीमा हुनुहुन्थ्यो, किन जनमतबाट उम्मेदवार बन्नुभयो भनेर सोधेको छैन । परिस्थिति त्यस्तो प¥यो भन्ने सबैलाई थाहा छ । मुख्य कुरा, जनताले सेवा चाहन्छन् र म जनताको सेवा गर्ने मान्छे । म जुनसूकै पार्टीमा रहे पनि जनताको भावनाको सम्मान गर्छु । आफ्नो भूमिका मैले निभाएको छु । यो पार्टीबाट अर्को पार्टीमा जाँदा समस्या केही होला भन्ने मलाई लाग्दैन । जनताले पनि यही हिसाबले बुझेका छन् ।

हिजो माओवादी पार्टीमा रहँदा गर्न नसकेका काम आज जनमत पार्टीमा बसेर गर्न सकिन्छ भन्ने लागेको छ ?

स्वाभाविक रुपमा मैले कम्युनिस्ट आन्दोलनमा ठुलो योगदान गरेको छु । तर कम्युनिस्ट पार्टीभित्र देखिएको अन्तरविरोधहरु, खसवादी अहंकार जबरजस्त ढंगबाट लागु छ । मधेसको लिडर अगाडि बढेको हेर्न चाँहदैनन् । यति जालझेल गरेर माइनस गर्न खोज्छन् । त्यसले गर्दा कम्युनिस्ट पार्टीभित्र मैले आफ्नो भविष्य देखिनँ । मैले बाध्य भएर पार्टी परिवर्तन गरेको हुँ ।

अहिले सीके राउतको जनमत पार्टीमा आइसकेपछि सीके राउतसँगै काँधमा काँध मिलाएर जाने भनेर उम्मेदवार बनेको छु । २०७९ मंसिर ४ गतेको चुनावमा झिनो मतले हारेकाले जनताको सहानुभूति मसँग छ । जनताकै दबाबमा यो पटक म चुनाव लडेको हो ।

म चुनाव नलड्ने सोचमा थिएँ । तर जनताको ठुलो दबाब आयो । तपाई चुनाव लड्नैपर्छ भनेर धेरैले भने । सप्तरीबाट बारा–२ मा आउने भनेर उपेन्द्र यादवको घोषणा भइसकेपछि मलाई जताततैबाट फोन र दबाब सुरु भयो ।

तपाई चुनाव उठ्नुपर्छ, तपाईलाई चुनाव हामी जिताउँछौं, उपेन्द्रलाई जसरी पनि हराउँछौं तर, पार्टीबाट उठ्नु, स्वतन्त्र उम्मेदवारी नदिनु भनेपछि मैले जनमत पार्टी रोजेको हुँ । उहाँको टिकटबाट मैले उम्मेदवारी दिएको छु । मैले यो पटक चुनाव जित्छु, चुनाव जित्ने सुनिश्चित भइसकेको छ ।

मैले चुनाव जितिसकेपछि शिक्षा, स्वास्थ्य रोजगारी, किसानका समस्याहरु, नेपाल–भारत सीमा क्षेत्रका समस्याहरु संसदमा उजागर गर्ने हो । समस्याको नीतिगत हल भनेको संसदबाट हुने हो । जनताको भावनाको आवाज मैले संसदमा उठाउने हो । विकासको कामहरु जहाँ भएको छैन, त्यहाँ नयाँ ढंगले मैले गर्ने हो ।

बारा–२ का जनतामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमाथि पहुँच बढाउन कस्तो योजना बनाउनु भएको छ ?

हाम्रो पार्टीका अध्यक्ष सीके राउत यही क्षेत्रमा बसेर, जनताको घरघरमा पुगेर जनताका हरेक समस्याहरुमा लाग्नु भएको छ । हाम्रो पार्टीको योजना यो क्षेत्रमा काठमाडौंको वीर र शिक्षण अस्पताल जस्तो एउटा ठुलो अस्पताल खोल्ने हो । यो क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्यमा बढीभन्दा बढी लगानी गर्ने, किसानका समस्या समाधान गर्ने भन्ने नै हो ।

यो क्षेत्रमा अहिलेसम्म विकास भएको देखिँदैन । यसभन्दा अघि यो क्षेत्रमा बाहिरियाहरु आउने, पैसा र मदिराको बलमा जनतालाई भ्रममा पारेर चुनाव जितेर जाने र त्यसपछि हराउने परम्परा देखिन्छ । यो क्षेत्रको विकास नहुनुको मुख्य कारण यही हो । यी सबै समाधानका लागि आफ्नै क्षेत्रको धर्तीपुत्रलाई जिताउनु पर्छ । 

यो उपनिर्वाचनमा गठबन्धनको तर्फबाट ५ दलको साझा उम्मेदवारसँग तपाईको प्रतिस्पर्धा हुँदैछ, तपाई एक्लै निर्वाचनमा होमिनुभएको छ नि, चुनाव जित्ने आधार के छ ?

यो निर्वाचनमा गठबन्धन नेताहरुका बीच हो, जनताकोे गठबन्धन होइन । मेरो गठबन्धन जनतासँग छ । हाम्रो पार्टीको संगठन बलियो नभए पनि जनतासँग गठबन्धन छ, जनताले मत दिन्छन् । निर्णायक शक्ति त जनता हो ।

जनताले ममाथि विश्वास र भरोसा गरेका छन् । म जनताको भावनाको सम्मान गर्न चुनाव लडेको छु । मंसिरको चुनावमा पनि कांग्रेससँग गठबन्धन थियो तर लागु भएन । केही पार्टीबाट स्वतन्त्र, बागी उम्मेदवार लडेर आफ्नो मत  उहाँहरुले लिनुभयो । गएको निर्वाचनमा मैले पाएको मत भनेको मेरो व्यक्तित्वको मत हो । सबै राजनीतिक पार्टीभित्र मलाई मन पराउने नेता कार्यकर्ता तथा जनसमुदाय पनि छन् । त्यसै कारण यो चुनाव म जित्छु । ठुलो आधार भनेको सबै उम्मेदवार बाहिरका छन्, जनताको भावना जे जस्तो भए पनि आफ्नै क्षेत्रका उम्मेदवार जिताउने भन्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप