शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपनिर्वाचनले गरायो जसपा–लोसपा मिलन, सहकार्यको भविष्यबारे के भन्छन् नेताहरु ?

सोमबार, ११ वैशाख २०८०, ०७ : ०७
सोमबार, ११ वैशाख २०८०

काठमाडौं । बारा–२ मा भएको उपनिर्वाचनले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई एक ठाउँमा ल्याएको छ । जसपामा भएको विवादका कारण महन्थ ठाकुर र उपेन्द्र यादवबीच पानी बाराबारको अवस्था थियो ।

विवाद बढेपछि महन्थ ठाकुर पक्षले जसपाबाट अलग भएर लोसपा गठन गरेको थियो । महन्थ ठाकुरले छुट्टै पार्टी गठन गरेपछि पनि यी दुई नेताबीच सम्बन्ध राम्रो बन्न सकिरहेको थिएन । वैशाखमा स्थानीय तहको चुनाव भयो । मंसिरमा प्रतिनिधिसभा र स्थानीय तहको चुनाव भयो तर यी दुई दलबीच कुनै सहकार्य नै भएन । यहाँसम्म कि दुबै दलको बीचमा कुराकानीसमेत भएन ।

बरु स्थानीय तहमा लोसपाले एमालेसँग गठबन्धन ग¥यो । जसपाले कांग्रेस र माओवादीसँग गठबन्धन ग¥यो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लोसपाले कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन ग¥यो भने जसपाले एमालेसँग गठबन्धन ग¥यो तर जसपा र लोसपाबीच गठबन्धन हुन सकेन ।

उपनिर्वाचनले भने दुवै दललाई एक ठाउँमा ल्याएको छ । बारा–२ को उपनिर्वाचनमा लोसपाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन सम्पूर्ण शक्ति लगायो । पार्टीबाट लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनललाई कमाण्डर बनाएर खटायो । अन्य नेता तथा कार्यकर्ताले पनि चुनाव प्रचारमा सक्रियता देखाए ।

जसपाका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादव भन्छन्, ‘यो उपनिर्वाचनमा जसपा र लोसपा मिल्नुको विकल्प छैन भन्ने प्रस्ट देखाएको छ, आगामी दिनमा पनि यी दुई दल आपसमा मिलेर मधेसको मुद्दाका लागि एक हुनुपर्छ ।’

दुई दलमा एकता नभए पनि सहकार्य र गठबन्धन हुनु आवश्यक रहेको उनको भनाइ छ । मधेसले प्राप्त गरेका उपलब्धि समाप्त गर्ने शक्तिहरु आइसकेको भन्दै उनले त्यसलाई भगाउन पनि लोसपा र जसपा एक ठाउँमा आउनुपर्ने धारणा राखे ।

लोसपाले उपराष्ट्रपतिको चुनावमा पनि जसपालाई साथ दिएको थियो । सुरुमा जनमत पार्टीले उठाएको उम्मेदवार ममता झालाई मतदान गर्ने भनेर लोसपाले गठबन्धन नै बनाएको थियो । ममता झाको समर्थक र प्रस्तावक समेत लोसपा बनेको थियो तर मतदान गर्ने दिन आउँदासम्म लोसपाले जसपाको उम्मेदवार रामसहाय यादवलाई समर्थन गरेर मतदान गरेको थियो ।

लोसपा र जसपाबीच चिसिएको सम्बन्ध त्यसपछि विस्तारै सहज हुँदै गयो । दुवै पार्टी एउटै सरकारमा सहभागी पनि भए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री बनाउन दुवै दल एक साथ लागेका छन् ।

यतिमात्र होइन, जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा चुनावी माहोल बनाउन लोसपाका नेताहरुले सक्रियता पनि देखाए । लोसपाका कार्यकारिणी सदस्य केशव झालले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको पक्षमा आफूहरु स्वाभाविक रुपमा लागेको बताए । एउटै गठबन्धनमा भएपछि गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर लाग्नु आफूहरुको दायित्व भएको उनको भनाइ छ ।

उनले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादव लोसपाको पनि उम्मेदवार हुनुहुन्छ, उहाँलाई जिताएर ल्याउने हाम्रो कर्तव्य पनि हो । विगतमा के भयो, के भएन, त्यसको पछि समीक्षा गरौंला तर अहिले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन भूमिका निर्वाह गर्नु हाम्रो दायित्व थियो ।’

मधेसमा जसपा र लोसपा मिल्नुपर्छ भनेर यो उपनिर्वाचनबाट सन्देश दिएको बताउँदै उनले जसपा र लोसपा अलगअलग भएका कारण मधेसमा सीके राउतहरुको जन्म भएको बताए । मधेसको अधिकार, पहिचान तथा संघीयता जोगाउनका लागि दुवै दल मिल्नुपर्ने उनको भनाइ छ । यी दुई नमिलोस् भनि विभिन्न शक्ति केन्द्र पनि सक्रिय भएको भन्दै उनले सचेततापूर्वक यी दुई दल सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप