शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

अमेरिकाबाट आएका बाहिरिया हुन् : उपेन्द्र यादव
बुधबार, १३ वैशाख २०८०, ०९ : ११
बुधबार, १३ वैशाख २०८०

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरेका छन् । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जीत हासिल गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताएका हुन् । उनले जनमत पार्टीका उम्मेदवारले दोस्रो लोकप्रिय मत प्राप्त गरे पनि त्यो जनमत पार्टी एक्लैको मत नभएको पनि दाबी गरे ।

उनले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा पनि आक्रोश व्यक्त गरे । उनले भने, ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ ? नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’

उनले आफूलाई जिताउनका लागि मत दिने तथा बाराका जनता सबैलाई बधाई र धन्यवाद दिए । उनले बाराको विकासको यात्रा सुरु भएको जिकिर गरे । उनले भने, ‘मेरो बुद्धि विवेकले भ्याएसम्म उपेक्षितलाई अधिकार दिलाउन लाग्नेछु । पछौटेपनमा रहेको जिल्लालाई विकास र समृद्धिको यात्रामा लैजान्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप