मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओलीमाथिको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : विष्णु पौडेल

शुक्रबार, १५ वैशाख २०८०, १५ : ३७
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद विष्णु पौडेलले एमाले अध्यक्ष केपी ओलीमाथि झापामा भएको आक्रमणको विरोध जनाएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सरकारले सुरक्षा दिन नसकेकोप्रति आपत्ति जनाए ।  उनले अध्यक्ष ओलीमाथिको आक्रमणमा सरकार मौन समर्थक बनेको आरोप लगाउँदै सो आक्रमणमा सरकारका कतिपय पात्रको पनि सहभागिता रहेको दाबी गरे । उनले सो घटनाबारे गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै प्रधानमन्त्री संसद्मा आएर जवाफ दिनुपर्ने बताए  ।  

सो आक्रमणमा एमाले कार्यकर्ताका साथै सुरक्षाकर्मीहरू पनि घाइते भएको पाैडेलले जानकारी गराए । सरकारले उनीहरूको उपचारमा पनि ध्यान नदिएको आरोप लगाउँदै उनले घाइते सुरक्षाकर्मीलाई काठमाडौँ ल्याएर उपचार गर्न आग्रह गरे । 

सांसद पौडेलले भने– ‘हाम्रो पार्टी अध्यक्ष केपी ओली चढेको गाडीमाथि आक्रमण गरियो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ चढेको गाडीमाथि आक्रमण गरियो । एमाले कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरियो । त्यति मात्रै हैन सभामुख महोदय, हिजो इलामको पशुपतिनगरबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर उहाँहरूमाथि आक्रमण गर्ने, तार लगायतका अन्य खालका उपकरण प्रयोग गरेर उहाँहरूमाथि आक्रमण गर्ने कोसिस गरियो ।’

पाँचथर र तेह्रथुममा पनि आक्रमणको तयारी भइरहेको बताउँदै पाैडेलले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरे ।  उनले भने–‘सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको छ । एक ढंगले भन्दा सरकारले लाचारी प्रकट गरिरहेको छ, कायरता प्रदर्शन गरिरहेको छ । सरकारको यो अकर्मण्यताको, यो लाचारीपनको, यो कायरताको घोर निन्दा गर्न चाहन्छु, खेद व्यक्त गर्न चाहन्छु ।’  

पौडेलले आक्रमणमा सत्ता गठबन्धनका कार्यकर्ता समेत संलग्न रहेको भन्दै संविधानले दिएको अधिकार खोस्न खाेजेको हो भन्दै प्रश्न गरे । गृहमन्त्रीले दिएको जानकारीले नपुगेको भन्दै उनले प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप