आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय नेताहरू सिंहदरबारमा रमाउँदा माओवादीको मधेस अभियान असफल

शनिबार, १६ वैशाख २०८०, २१ : ३३
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशका लागि सुरु गरेको एक महिने संगठन सुदृढीकरण अभियान असफल भएको छ । फागुनको अन्तिम साता माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको बैठकले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय थियो । अभियानको क्रममा मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू स्थानीय तहमा गएर संगठन निर्माण तथा जनताको जनचासोको विषयमा छलफल गर्ने भनिएको थियो । 

माओवादीका नेता रामकुमार शर्माका अनुसार ३६ स्थानीय तह अन्तर्गतका एक हजार २७१ वडासम्मको बैठक सम्पन्न गर्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, आम नागरिकका जनचासोको विषयमा छलफल गर्ने निर्णय भएको थियो । तर निर्णय भएको तीन महिना हुन लाग्दा पनि मधेसका कुनै पनि नेता अभियानमा सहभागी भएका छैनन् ।

माओवादी केन्द्रका सचिव एवं मधेस प्रदेशका इन्चार्ज गणेश साहले दुई चार ठाउँमा कार्यक्रम भएको सुनिएको तर अधिकांश ठाउँमा नेताहरू नगएको बताए । उनले भने, ‘अभियान असफल भएकै मान्नुपर्छ, नेताहरू सिंहदरबारको वरिपरि घुमिरहेका छन् । राजनीतिक नियुक्ति तथा योजनाका लागि प्रधानमन्त्री तथा मन्त्रीको च्याम्बरमा कुदिरहनुभएको छ तर आफ्नो जिल्ला तथा स्थानीय तहमा काम गर्न लागि जानुभएको छैन ।’

कसैलाई सरुवा गराएमा, योजना हात पारेमा, नियुक्त गराएमा मात्र संगठन निर्माण हुन्छ भन्ने बुझेका नेताहरूले संगठन निर्माणमा ध्यान नदिएको गुनासो साहले गरे । मधेसका माओवादीले नयाँ ढङ्गबाट संगठनका लागि काम नगरे हालत अझै खराब हुने उनले चेतावनी दिए । 

महँगी, भ्रष्टाचार, मिटर ब्याजी, लघुवित्त, सहकारीलगायतका चर्को ब्याज, चुरे संरक्षणलगायतका विषयमा जागरण, अन्तरक्रिया, छलफल बहस एवम् दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरेर संगठन निर्माण गर्ने पार्टीले निर्णय गरेको थियो । नयाँ सदस्यता वितरण गर्नुको साथै लिइसकेको सदस्यलाई नवीकरण गर्ने कार्यसमेत गर्ने योजना तय गरिएको थियो । नेताहरू जनताको बीचमा रहने, त्यहीँ खाने, त्यही बसेर अभियान सञ्चालन गर्न पार्टीले निर्णय भएको थियो । 

सो अभियान केन्द्रीय प्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने बताइएको थियो । तर, पार्टीको निर्णयबमोजिम कोही पनि नेता काठमाडौँभन्दा बाहिर नगएको गुनासो आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप