मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

कैलालीको गोदावरीको २ दृश्य : सुकुमवासीको टहरामा डोजर, कांग्रेसलाई वनभित्र कार्यालय बनाउन छुट !

बिहीबार, २१ वैशाख २०८०, १७ : ०१
बिहीबार, २१ वैशाख २०८०

धनगढी । डिभिजन वन कार्यालय कैलालीले वैशाख १८ गते गोदावरी नगरपालिकाको अत्तरियास्थित चौकीडाँडामा रहेका ५ सय भन्दा बढी घर टहरामा डोजर चलायो । वन अतिक्रमण गरी संरचना बनाएको भन्दै सुकुमबासी तथा भूमिहीनका टहरामा डोजर चलाइएको हो । 

त्यसको भोलिपल्ट वैशाख १९ गते भने अत्तरिया क्षेत्रकै एक सामुदायिक वनभित्र नेपाली कांग्रेसको पार्टी कार्यालय भवन बनाउन शिलान्यास गरियो । 

गोदावरी १ स्थित सुरक्षा महिला सामुदायिक वनभित्र नेपाली कांग्रेसले बिपी स्मृति भवन बनाउन सुरु गरेको हो । कांग्रेसले क्षेत्र नम्बर ४ को क्षेत्रीय पार्टी कार्यालय भवन बनाउन शिलान्यास गरेको हो ।

भवनको शिलान्यास कांग्रेस प्रदेश सभापति तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले गरेका हुन् ।

सो अवसरमा गोदावरी नगरपालिकाका मेयरलगायतका जनप्रतिनिधि र वनकी अध्यक्ष लक्ष्मी भण्डारी समेतको सहभागिता थियो । भवन शिलान्यासको तस्बिर सार्वजनिक भएपछि सो कार्यको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

यसबारेमा नेकपा एमालेले पनि विरोध जनाएको छ । एमाले गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले जनप्रतिनिधीहरुबाट नै वन मिचेर पार्टी कार्यालय बनाउने कुरा गलत भएको बताए । उनले सुकुमवासीको घरमा डोजर लगाउने अनि वनमा भने पार्टी कार्यालय बनाउने कुरा जायज नभएको बताए । उनले वन कार्यालयले पार्टी कार्यालयको संरचना बनाउन दिन नहुने बताए ।

यसैबीच डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख भीम ढकालले वनमा निर्माण भइरहेको संरचना रोक्न निर्देशन दिइसकेको बताएका छन् । 

सुकुमवासीको पालमुनि बास

यता वन कार्यालय टहरा भत्काए पछि सुकुमवासीहरु पुनः त्यही स्थानमा पाल टाँगेर बस्न थालेका छन् । गोदावरी नगरपालिका– ३ चौकीडाँडाको राजमार्ग किनारामा सुकुमबासी र वादी समुदाय बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप