बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
ट्राभल मार्ट

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट,के पर्यटक बढ्लान् त ?

शुक्रबार, २९ वैशाख २०८०, १७ : ५६
शुक्रबार, २९ वैशाख २०८०

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाल–भारत र तेस्रो मुलुकका गरी करिब एक दर्जन मुलुकका पर्यटन व्यवसायी तथा विज्ञहरूको सहभागितामा तीन दिनको अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट जारी छ ।  

यसअघि पनि भएको यो मार्टले लुम्बिनी पर्यटक भित्राउन कति मद्दत ग¥यो र अहिले निकै प्रचारप्रसार  साथ  गरिएको मार्टले कति प्रभावकारी होला भन्ने  जिज्ञासा लुम्बिनीसँग सरोकार राख्नेहरूको छ ।

सन् २०१९ मा पनि यस्तै खाले मार्ट सञ्चालन गर्दा लुम्बिनीको प्रचार भयो । तर पर्यटक आउने बेलाका कोरोना  कारणले प्रभावित भएको  ठहर लुम्बिनी विकास कोषको रह्यो । त्यो बेला १७वटा देशमा ट्राभल एजेन्सीको सहभागिता रहेको थियो भने अहिले थप ७ गरी २४ वटा देशका ट्राभल एजेन्सीको सहभागी छन् ।

बुद्ध स्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने र मुलुकमा पर्यटक भित्र्याउन टेवा पु¥याउने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको आयोजकको दाबी छ । 

3

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले निजी क्षेत्रले गरेको कार्यक्रम भए पनि बुद्ध सर्किटमा हुने पर्यटकलाई लुम्बिनी घुम्न आउन सहज  हुने रातोपाटीलाई बताए । उनले भने, यो एक बिजनेस हो । नेपालमा पर्यटक ल्याउने र नेपालबाट उता पनि पर्यटक घुमाउन लैजाने गरी हुने समझदारीले लुम्बिनीमा पर्यटक संख्या वृद्धि हुन्छ नै तर ठ्याक्कै अङ्क भन्न सकिन्न ।

बुद्ध जन्मस्थल लुम्बिनीमा यो दोस्रो संस्करणको ‘बुद्धिस्ट इन्टरनेट ट्राभल मार्ट’ अर्थात् ‘बीआईटीएम’ हो । यसमार्फत् ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको प्रवर्द्धन गर्ने कार्यक्रमको लक्ष्य रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले बताए ।

त्यसबाट लुम्बिनीको धार्मिक, आध्यात्मिक, पुरातात्त्विक र ऐतिहासिक महत्त्वको प्रचारसँगै खास गरी  भारतबाट आउने पर्यटकहरू यहाँ आउने अपेक्षा  रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) को छ । उनले अहिले सिधै पर्यटकहरू नआउने भएपछि यस्ता अन्तर्राष्ट्रियता ट्राभल मार्टबाट ल्याउन सम्भव हुने बताए । 

4

यो मार्टले लुम्बिनी प्रचारमा थप मद्दत पुग्नेछ । संसारका कयौँ बौद्धमार्गी भिक्षु–भिक्षुणी, आध्यात्मिक गुरु, शान्तिप्रेमी लुम्बिनी आउन चाहने स्थल भएको उनले बताए । उनका अनुसार लुम्बिनी आउने हरेक मानिस आनन्दित भएर फर्कने गरेका छन्।

भारतको बोधगयाका पर्यटन व्यवसायी डा. कौलेश कुमारले लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई जोडेर प्रचारप्रसार र विकास गर्नुपर्नेमा जोड दिए।

यो मार्टवाट रुपन्देहीका होटलहरुमा  प्रत्यक्ष लाभ लिन सक्ने होटेल तथा रेस्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए । उनले समूहमा लुम्बिनी आउने पर्यटकबाट यहाँका होटेल व्यावसायीहरुले लाभलिने बताए  । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप