शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

खाणलाई निलम्बनबारे कांग्रेसमा मतभेद, गगनको मध्यमार्गी प्रस्ताव

शुक्रबार, २९ वैशाख २०८०, २० : ४८
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने–नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ ।

बुधबार र बिहीबार दुई दिन बसेको पदाधिकारी बैठकमा खाणलाई निलम्बन गर्ने–नगर्नेबारे विवाद देखिएको हो । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाण पक्राउबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा सहभागी स्रोतका अनुसार त्यसपछि महामन्त्री गगन थापाले खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने मत राखे । राजनीतिक नैतिकताको विषय भएकाले खाणलाई निलम्बन गर्नुको विकल्प नभएको थापाको जोड थियो । जसमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङको समर्थन रह्यो ।

सह–महामन्त्री महेन्द्र यादव भने खाणको बचाउमा उत्रिएका थिए । बैठकमा सभापति देउवाले पदाधिकारीहरुको कुरा सुनिरहे, आफ्नो धारणा भने राखेनन् ।

सभापति देउवाले पार्टीका थप नेताहरुको राय लिन चाहे । त्यसका लागि बिहीबार पूर्वपदाधिकारीसहितको बैठक बोलाइयो ।

बैठकमा सहभागी ती पदाधिकारीका अनुसार पहिलो दिनको बैठकमा खाणलाई निलम्बन गर्ने कुरामा सभापति देउवा सहमत देखिन्थे । तर देउवाले अहिलेसम्म खाणलाई निलम्बन गरौं या नगरौं भन्नेबारे केही भनेका छैनन् ।

ती पदाधिकारीले भने, ‘दुई दिनको बैठकमा फरकफरक मत रह्यो । सभापतिले राय सुन्न बोलाएको बैठकमा एकमत हुन सकेन । सभापति निलम्बन पक्षमा छन् भने बैठक राखुन् । निलम्बनको प्रस्ताव गरुन् । निलम्बन हुन्छ । अब निर्णय लिन कार्यसम्पादन समिति बैठक बोलाउनुपर्छ ।’

आजसम्म कुनै प्रतिक्रिया नदिएका देउवाले बैठक नबोलाए उनी खाण जोगाउने पक्षमा रहेको बुझिने ती पदाधिकारीको दाबी छ । उपसभापति खड्का पनि खाणलाई निलम्बन गर्ने विषयमा पार्टीको हितलाई ध्यानमा राखेर जानुपर्ने पक्षमा देखिन्छन् । ‘पार्टीलाई के गर्दा राम्रो हुन्छ, सल्लाह गरौं, छलफल गरौं भन्ने कुरा उपसभापति खड्काले राख्नु भएको छ,’ उनले भने ।

महामन्त्रीद्वय थापा र शर्माले भने तत्काल केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्न जोड दिएका छन् । बैठक बोलाउने सम्बन्धमा सभापति देउवालाई ‘कन्भिन्स’ गराउन आज पनि दुई जना महामन्त्रीबीच छलफल भएको थियो ।

देउवाको धारणा माग

महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सभापति देउवालाई खाणको निलम्बनबारे राय राख्न आग्रह गरेका थिए । ‘हामीले हाम्रो राय राखिरहेका छौं । पार्टीको राय बैठकले राख्ला । तर सभापतिको राय के हो त ? सभापतिको धारणा के हो त ? पब्लिक यो सुन्न चाहन्छ,’ देउवालाई महामन्त्री थापाको आग्रह थियो । देउवाले आफ्नो कुरा राखिरहेको जवाफ दिए । खाणको सम्बन्धमा दुई दिनको बैठकमा आएका रायले पार्टीभित्र मतभेद रहेकोमा देउवा प्रस्ट भएका छन् ।

दुई दिनकै बैठकमा अनुपस्थित नेता शेखर कोइराला पनि खाणलाई तत्काल निलम्बन गर्नुपर्ने पक्षमा छन् । तर, सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापति विजय गच्छदार अदालतको फैसलापछि मात्र खाणबारे निर्णयमा पुग्नुपर्ने पक्षमा छन् ।

सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, जीवन परियार, बद्री पाण्डे लगायतले पक्ष–विपक्ष लिएका छैनन् । यस्तै नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौलाको पनि ठोस कुरा नआएको एक पदाधिकारीले बताए ।

मध्यमार्गी प्रस्ताव

पार्टीभित्र मतभेद देखिएपछि खाणलाई पार्टीको जिम्मेवारीबाट अलग भएको स्वघोषणा गर्न महामन्त्री थापाको प्रस्ताव छ ।

‘मैले केही पनि गल्ती गरेको छैन भनिराख्नु भएको छ । गल्ती गर्नु भएको छैन भने निष्पक्ष अनुसन्धानबाट उन्मुक्ति पाइहाल्नु हुन्छ,’ थापाले बैठकमा भनेका थिए, ‘आफूलाई अलग राख्नुस् । होइन भने अहिले पार्टीले निलम्बन गर्नुको विकल्प छैन ।’

थापाको प्रस्तावमा अर्का महामन्त्री शर्मा र उपसभापति गुरुङको पूर्ण समर्थन छ । थापाको प्रस्तावमा प्रवक्ता प्रकाशशरण महतको पनि मत मिलेको देखिन्छ । महतले भने, ‘उहाँले आफै राजीनामा दिए सबैभन्दा उपयुक्त हुन्थ्यो । तर यो कुरा हामीले भन्ने भन्दा पनि उहाँ आफैले बुझिदिए हुन्थ्यो ।’

पूर्व अभ्यासले समस्या

कांग्रेसमा भ्रष्टचारका आरोपित नेताहरुलाई पार्टीबाट निलम्बन गर्ने पूर्व अभ्यास छैन । विगतमा भ्रष्टाचारमा मुछिएका नेताहरु खुमबहादुर खड्का, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य टेकबहादुर गुरुङ लगायतलाई कांग्रेसले पार्टीबाट निलम्बन गरेको पाइँदैन ।

विशेष अदालतले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा दोषी ठहर गरे पनि कांग्रेसले गुरुङलाई पार्टीबाट निलम्बन गरेको छैन । पार्टीको केन्द्रीय सदस्य समेत रहेका गुरुङको सांसद पद भने अहिले निलम्बनमा छ ।

कांग्रेसका केही नेताले विगतको अभ्यास देखाउँदै खाणलाई पनि निलम्बन गर्न नहुने मत राखिरहेका छन् । एमालेले भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेपछि खाणलाई पनि निलम्बन गर्न कांग्रेसमाथि दबाब छ । तर कांग्रेसले भने फरार नभएर खाणले प्रहरी अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको छ ।

एमाले नेता रायमाझी फरार भए पनि खाण घरबाटै पक्राउ परेको विषयलाई पनि ध्यान दिनुपर्ने कांग्रेस सहमहामन्त्री परियारको तर्क छ । ‘बुटवलबाट काठमाडौँ आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ । उहाँ भाग्न पनि सक्नुहुन्थ्यो,’ उनले भने, ‘तर उहाँले त्यसो नगरेर अनुसन्धानमा सहयोग गर्नु भएको छ । हामीले यो कुरालाई पनि ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप