बालुवाटार भेटवार्ता : प्रचण्ड, ओली र देउवाबीचको छलफलमा अन्य नेता पनि थपिए
काठमाडौँ । संसद सञ्चलान, बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलपछि ती दलका अन्य नेतालाई समेत बालुवाटार बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भइरहेका बेला कांग्रेस, एमाले र माओवादीका अन्य नेताहरुलाई बोलाइएको हो ।
तीन नेताको छलफल चलिरहेका बेला कांग्रेसका उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादीका हितराज पाण्डेलाई बालुवाटार बोलाएपछि उनीहरुसमेत छलफलमा सहभागी छन् ।
नेताहरुबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाई समिति गठनबारे छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए । नेताहरुको भेटवार्तामा संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर तीन ठूला दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ दलकै हाई प्रोफाइल नेताहरु समेत मुछिएका बेला नेताहरुको तारान्तारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण