शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संसदमा प्रेम सुवालले सोधे–पूर्वप्रधानमन्त्रीले पत्नी जोगाउन प्रहरीलाई दिनमा ५ पटक फोन गरेको हो ?

सोमबार, ०१ जेठ २०८०, १६ : ०२
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाई बेचबिखन गरिएको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणमाथि भोलिसम्म अनुसन्धान सक्नुपर्ने दबाब प्रहरीमाथि रहेको भन्ने कुरा आएकोले आरोपीहरु छुट्ने खतरा बढाएको बताएका छन् । 

उनले महान्यायाधिवक्ताको कार्यालयले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेहरुविरुद्धको मुद्दा प्रहरीले दर्ता नै नगरेकोले यो प्रकरणमा पनि त्यस्तै हुने हो कि भन्ने आशंका बढाएको बताए । 

प्रहरीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा नेपालीलाई भुटानी शरणार्थी बनाइएको प्रतिवेदन फेला पारेको हो कि हैन ? यदि यो सत्य भए तत्कालीन प्रधानमन्त्रीहरुपनि जिम्मेवार हुनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । 

सांसद सुवालले भने, ‘एकजना पूर्व प्रधानमन्त्रीले प्रहरी अधिकृतहरुलाई दिनमा ५ पटक फोन गरेर आफ्नो पत्नीको नाम कुनैपनि अवस्थामा नलिन दबाब दिइरहनुभएको सत्य हो कि होइन ? र अर्का पूर्व प्रधानमन्त्रीका स्वकीय सचिव यो प्रकरणमा जोडिएको सत्य हो कि हैन ? उनीहरुको बारे यथार्थ बाहिर ल्याउन जरुरी छ यसले भ्रष्टाचार रोक्नका लागि सहयोग गर्दछ ।’

उनले राणा शासकहरुले नेपालीलाई गोर्खा भर्तीमा पठाइदिएबापत बेलायतबाट करोडौं पाउण्ड प्राप्त गरेको र भारतको सिमला, गोवा लगायतका ठाउँहरुमा घरजग्गा जोडेको हुनाले त्यसलाई जफत गरेर नेपालले फिर्ता ल्याउनुपर्ने  बताए । साथै भारतलाई दिइएको अरुण ४ पनि फिर्ता लिन उने प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।  

यस्तै सांसद सुवालले भक्तपुर वडा नम्बर ३ का नागरिकको सुर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीस्थित आफ्नै १८ आना जग्गामा फर्निचर उत्पादन गर्दै आएका विजेन चौगुठीको घर र टहरामा वैशाख ३१ गते आगलागी हुँदा २ करोडको क्षति भएको जानकारी गराए । 

आगोलागीबाट टहरा, घर, कार लगायतको क्षति भएको बताउँदै आगोलागीबारे छानबिन गर्न माग गरे । साथै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप