शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रभावकारी बनाउन सरकारले बनायो संयन्त्र

बुधबार, ०३ जेठ २०८०, २३ : ०५
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ । सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न निर्णयहरू गरेको हो ।

राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा बुधबार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरूको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरूको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ । आयोजनाहरूको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । आयोजनाहरूमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरूलाई पनि समाधान गर्ने गरी मन्त्रालयले निर्णय गरेको छ ।

बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिएका थिए । राष्ट्रिय गौरवका रूपमा सूचिकृत भएका आयोजनालाई अरू सामान्य आयोजनाका रूपमा लिन नहुने मन्त्री बस्नेतले बनाए । यी आयोजनाहरू अब तीव्र गतिमा अगाडि बढ्ने पनि उनले बताए । मन्त्रालयले सबै आयोजनाको पब्लिक अडिट गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकार, उपभोक्ता, आयोजना क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरू, निर्माण व्यवसायी, मिडिया, विज्ञहरू र आयोजनाका अधिकारीहरूसहितको सहभागितामा पब्लिक अडिट गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन् । जसमा महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप