शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

अन्ततः जेल पुगे केटी बनेर ठगी गर्ने विश्व शर्मा, पाँच पुरुषबाट ८३ लाख ८६ हजार ठगेको प्रहरीको निष्कर्ष

‘यौन क्रियाका लागि’ भन्दै गरिएको थियो अधिकांश ठगी
शुक्रबार, ०५ जेठ २०८०, १२ : ०५
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । फेसबुक प्रोफाइलमा राखिएको तस्बिरमै लोभिएर ‘फ्रेन्ड’ बन्दै लोभिएर ‘भर्चुअल’ माध्यमबाट कुराकानी गर्दै जाँदा लाजिम्पाटका एक व्यापारीले ६० लाख रुपैयाँ गुमाए । ती कथित राम्री युवतीको ‘लोभ’मा परेर यसरी पैसा गुमाउने उनीमात्र थिएनन् । अर्का एक जनाले १५ लाख, एक जनाले ७ लाख, एक जनाले एक लाख र एक जनाले १४ हजार गुमाएका छन् ।

भेटघाटको आशमा धमाधम रकम उपलब्ध गराएका उनीहरुले ती युवतीसँग कहिल्यै प्रत्यक्ष भेट गर्न पाएनन् । विभिन्न बहानामा भेटघाटलाई टार्दै गएपछि शंका लागेर प्रहरी समक्ष उजुरी गरेपछि पो थाहा भयो– फेसबुकमा राम्री युवतीको तस्बिर राखेर युवतीकै जस्तो आवाजमा बोल्ने व्यक्ति त एक युवक रहेछन् ।

प्रहरीका अनुसार यी सबै पीडितलाई फसाउने व्यक्तिसँग पीडितहरुको कहिल्यै भेट भएन । फेसबुकमा उनीहरुको भिडियो च्याट पनि भएन । यद्यपि फेसबुकको म्यासेन्जर र मोबाइलमा भने उनीहरुको कुराकानी भइरहन्थ्यो ।

सुन्दर तस्बिर र युवतीकै जस्तो स्वरमा यौनक्रियाका लागि लोभ्याएपछि उनीहरु ठगिएका थिए । माया–प्रेम अनि यौनको लालसा र अप्राकृतिक आर्थिक लाभको प्रलोभन दिएर उनीहरुसँग कृष्टि पौडेल नाम गरेको फेसबुक प्रोफाइलबाट कुराकानी हुन्थ्यो । तर यसरी ती पुरुषलाई लोभ्याएर कुराकानी गर्ने पात्र भने महिला नभएर एक २५ वर्षीय युवक थिए ।

हो, सामाजिक सञ्जाल फेसबुकमा आफ्नै सहपाठीको तस्बिर प्रयोग गरेर ५ जना व्यक्तिबाट ८३ लाख ८६ हजार ६६५ रुपैयाँ ठगी गर्ने युवक आभाष शर्मा भन्ने विश्व शर्मा यतिबेला पुर्पक्षका लागि थुनामा छन् । काठमाडौं जिल्ला अदालतले विश्वलाई गत वैशाख २६ गते पुर्पक्षका लागि थुनामा पठायो ।

यस्तो थियो घटना

गत वर्षको वैशाख महिनातिर लाजिम्पाटका खड्गी थरका एक व्यापारीको फेसबुकको ‘मे यु नो’ क्याटेगरीमा कृष्टि पौडेल नामको फेसबुक प्रोफाइल देखा पर्छ । सुन्दर देखिएकी ती युवतीको प्रोफाइल देखेपछि ती व्यापारीले उनलाई ‘फ्रेण्ड रिक्वेष्ट’ पठाए ।

एक दुई दिनपछि ‘फ्रेण्ड रिक्वेष्ट’ उताबाट स्वीकार भयो । अनि सुरुमा सामान्य कुराकानी भयो । युवतीले आफ्नो बारेमा सबै बताइन् । आफू पोखरा बस्ने र पोखरामै व्यापार व्यावसाय गरिरहेको उनको भनाइ थियो ।

सुरुको केही समयमा ‘प्रोफेसनल’ कुराकानी भयो । कृष्टिले आफ्नो मोबाइल नम्बर पनि दिइन् र व्यापारीले मोबाइलमै समेत कुराकानी गर्न थाले । उताबाट युवतीकै स्वर सुनेपछि ती व्यापारीलाई अब कुनै शंका रहेन ।

त्यसपछि बिस्तारै भेटघाट गर्ने र मायाप्रेमको पनि कुराकानी भयो । कुराकानीकै क्रममा कृष्टिले कहिले आमा बिरामी हुनुभएको, कहिले बैंकबाट घर बनाउँदा लिएको ऋण तिर्न नपाएको, कहिले व्यापारको पैसा नउठेको लगायतको कुरा गरिन् । साथमा व्यापारीलाई पोखरा आउन र सँगै होटलमा वा आफ्नै घरमा समेत बसेर रात बिताउने र फिजिकल हुनेसम्मको कुरा गर्न थालिन् ।

काठमाडौंमा ब्यस्त व्यापारी सजिलै पोखरा जान त पाउँदैनथे, यद्यपि युवतीको कुरामा विश्वस्त भएर युवतीलाई नै काठमाडौं बोलाउने योजना बनाए । युवती पनि काठमाडौं आउन तयार भइन् ।

Esewa Payment

विभिन्न प्रकारको लालसा र प्रेममा पारेपछि ती व्यापारीले पटकपटक गरी कुल ६० लाख रुपैयाँ ती युवतीलाई पठाए । तर युवती कहिल्यै पनि ‘फिजिकल हुन’ र भेटघाट हुन तयार भइनन् । युवतीप्रति शंका लागेर आफू ठगीमा परेको भन्दै उनले साइबर ब्यूरोमा उजुरी गरेपछि थाहा भयो– कृष्टि पौडेल कुनै युवती नभएर एक २५ वर्षीय युवक थिए र ती पुरुष आभाष भन्ने विश्व शर्मा थिए ।

विश्वको आवाज युवतीको जस्तै थियो । जसको फाइदा उठाउँदै विश्वले आफूसँग प्लस टु पढेकी सहपाठी सूचना शर्माको फोटो प्रयोग गर्दै कृष्टि पौडेलको नाममा फेसबुक चलाएर ठगी गर्ने गरेका थिए । विश्वले खड्गी थरका ती व्यापारीजस्तै अन्य ५ जनालाई पनि युवती बनेर ठगी गरेका थिए ।

फेसबुकमा आफ्नै सहपाठीको तस्बिर प्रयोग गर्ने र महिलाको जस्तै आवाज भएपछि उनलाई ठगी गर्न सजिलो भएको थियो । विश्वका अधिकांश ठगीका प्रकृति (मोडस ओपरेण्डी) एउटै प्रकृतिको रहेको पाइएको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले रातोपाटीलाई बताए । विश्वले अधिकांशलाई आफू युवती भएको र यौनक्रियाको लागि तयार भएको भन्दै यौनको लालासा देखाएर ठगी गर्ने गरेका थिए ।

Bishow-Sharma-01

विश्वले कृष्टि पौडेलको नाममा ठगी गर्न प्रयोग गरेको मोबाइल नम्बर ९८१३६४८२७५ को प्राविधिक विश्लेषणका आधारमा साइबर ब्यूरोको प्रहरीले पर्वत जिल्लाको देउपुरमा पुगेर विश्वलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

सुरुमा लाजिम्पाटका एक व्यापारीको जाहेरीका आधारमा सुरु भएको अनुसन्धानमा विश्व पक्राउ परेको समाचार रातोपाटीमा प्रकाशित भएपछि अन्य पाँच जना पीडितले विश्वविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए । आफ्नो तस्बिरको दुरुपयोग गरी बेइज्जती गरेको भन्दै सूचना शर्माले समेत ब्यूरोमा उजुरी गरेपछि यतिबेला विश्वविरुद्ध ६ जनाको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । र, अदालतको आदेशबाट विश्व यतिबेला पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

विश्वले खड्गी थरका पुरुषबाट करिब ६० लाख, भट्टराई थरका पुरुषबाट ७ लाख २४ हजार, लामिछाने थरका पुरुषबाट १५ लाख ३५ हजार, दनुवार थरका पुरुषबाट १ लाख ३९ हजार ५३० रुपैयाँ र नेपाल थरका पुरुषबाट १४ हजार ६ सय रुपैयाँ गरी कुल ८३ लाख ८६ हजार ६६५ रुपैयाँ ठगी गरेका थिए । सोही कसुरमा उनीविरुद्ध साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

एक वर्षमै ८३ लाख ठगी, ठगीको रकम मोजमस्तीमै सकेको बयान

विश्व शर्माले गत वर्षदेखि गरेको ठगीको रकम ८३ लाख ८६ हजार ६६५ रुपैयाँ छ । त्यो पनि उजुरी दिन आएका ५ जना व्यक्तिबाट । करिब एक वर्षको अवधिमै विश्वले आफू युवती हो भनेर पुरुषलाई मायाजालमा पारेर यति ठूलो रकम ठगी गरेका थिए । तर एक वर्षकै अवधिमा यति धेरै रकम ठगी गरिए पनि उनले त्यो रकम कहाँ लुकाएका छन् भन्ने प्रहरीले फेला पार्न सकेको छैन ।

प्रहरीसँगको बयानका क्रममा विश्वले ती सबै रकम खर्च भइसकेको बयान दिएका छन् । तर प्रहरी भने विश्वको बयानमा विश्वस्त छैन । विश्वले ठूलो रकम मोजमस्तीमै खर्च गर्ने गरेको भए पनि एक वर्षको अवधिमा उजुरी आएकामध्येका ८३ लाख ८६ हजार ६६५ रुपैयाँ सबै मोजमस्तीमै खर्च गरेर मासे होलान् भन्ने कुरामा प्रहरी विश्वस्त छैन । जिल्ला अदालत परिसरमा रातोपाटीको प्रश्नमा विश्वले सबै रकम खर्च भइसकेको भन्ने जवाफ दिए ।

ठगीको रकमले सुविधासम्पन्न रिसोर्टमा बस्थे विश्व

विश्व शर्मा ठगीको रकमबाट विभिन्न सुविधासम्पन्न होटल तथा रिसोर्टमा बस्ने गरेको पाइएको छ । साइबार ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीका अनुसार विश्वले ठगी गरेको रकममध्ये अधिकांश रकम सुन्दरीजलमा रहेको ‘काठमाडौं ट्राउट एण्ड वाइल्ड भ्यू रिसोर्ट’मा गएर मोजमस्तीमा खर्च गर्ने गरेका थिए ।

डिलक्स तथा सुपर डिलक्स रुम, स्वीमीङ पुल, बार लगायतका धेरै सुविधा रहेको उक्त रिसोर्टमा लामो समय बसेर उनले ठगी गरेको रकम सकाउने गरेका थिए । रिसोर्टकै वेटर लगायतका केही कर्मचारीलाई मोबाइल लगायतका गिफ्टसमेत दिएको पाइएको प्रहरीले बताएको छ ।

लामो समयसम्म रिसोर्टमा बस्ने गरेका विश्वले एकैपटकमा ४ लाख रुपैयाँसम्म बुझाएको पाइएको इन्सपेक्टर खड्गीले बताए । रिसोर्टमा बसेर रकम भुक्तानी गर्ने क्रममा विश्वले आफ्नो इसेवा अकाउण्टबाट रिसोर्टको इसेवा र फोन पेको अकाउण्टमा भुक्तानी गर्ने गरेका थिए ।

आफ्नै सहपाठीको तस्बिर प्रयोग गरेर ठगी गर्थे विश्व

पर्वतका विश्व शर्मा नर्सरीदेखि कक्षा ७ सम्म बोर्डिङ स्कुलमा होस्टलमा बसेर अध्ययन गरेका थिए । पोखरामा रहेर अध्ययन गरेका विश्व कक्षा ८ देखि भने भविष्यमा छात्रवृत्तिमा पढ्न पाइने भन्दै सरकारी विद्यालयमा भर्ना भएका थिए । पोखराकै बाराही उच्च माविमा अध्ययन गर्ने विश्व शर्मा र सोही विद्यालयमा अध्ययन गर्ने सूचना शर्माबीच विवाद भयो । विश्वले आपत्तिजनक शब्द र हर्कत गरेको भन्दै सूचनाले उक्त कुरा विद्यालयका शिक्षक लगायतलाई ‘कम्प्लेन’ गरिन् । लगत्तै विश्वले शिक्षकको हातबाट कुटाइ खाए ।

सूचनाकै कारण आफूले कुटाई खाएको भन्दै विश्वलाई सूचनामाथि रिस उठ्यो । त्यसपछि सूचनासँग बदला लिने सोच विश्वले बनाए । उनी कृष्टि पौडेलको नामको फेसबुक प्रोफाइल बनाए र सुचनाकै तस्बिर राखे । अनि कृष्टिकै नामबाट फेसबुक चलाएर विभिन्न पुरुषहरुसँग ‘फिजिकल हुने’ भन्दै रकम असुल गर्न थाले ।

ब्यूरोका एसएसपी भन्छन्– नचिनेको व्यक्तिसँग कुराकानी नगर्न आग्रह गर्छौँ

नेपाल प्रहरी अन्तर्गत साइबार ब्यूरोका प्रमुख एसएसपी नवीन्द अर्याल चिनजान नभएको व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी र आर्थिक कारोबार नगर्न आग्रह गर्छन् । अनेक प्रकारका ‘फिसिङ’ गरेर मानिसलाई ठगी गर्ने गरेको पाइएको भन्दै नचिनेका व्यक्तिहरुलाई फेसबुकमा साथी नबनाउन र कुराकानी वा आर्थिक कारोबार नगर्न उनको आग्रह छ ।

एसएसपी अर्याल भन्छन्, ‘कहिल्यै नचिनेको, नभेटेको व्यक्तिलाई ६० लाखसम्म पठाउनु भनेको ठूलो मूर्खता हो । फोनमा महिलाको आवाज सुन्नेबित्तिकै त्यति धेरै रकम पठाउने व्यक्ति त मूर्ख नै भइहाले, यद्यपि ठगी गर्नेलाई पनि हामीले कानुनको दायरामा ल्याइसकेका छौँ ।’

अहिले फेसबुक, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने, ह्वाट्सएप लगायतबाट फिसिङ गरी सेक्स ट्रयापमा पार्ने लगायतका अपराधहरु भइरहेको उनले बताए । ‘त्यसको नियन्त्रण गर्ने भनेको प्रयोगकर्ता आफैँ सजग भएर हो । त्यसकारण नचिनेको व्यक्तिसँग कुराकानी गर्नु, आर्थिक कारोबार गर्नु भनेको त्यो ट्रयाप पनि हुनसक्छ भनेर बुझ्नुप¥यो,’ उनले भने, ‘त्यसबाट सजग हुनुप¥यो । आफू ठगिएपछि उजुरी गर्न आउँदा आर्थिक, सामाजिक र मानसिकरुपमा बेहोरोको क्षतिको भर्पाई नहुन पनि सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप