शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस मन्त्रिपरिषद्

मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित

मङ्गलबार, ०९ जेठ २०८०, ११ : ५३
मङ्गलबार, ०९ जेठ २०८०

जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ ।  सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमत पार्टी आक्रोशित बनेको छ ।  

जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका दलका नेता महेशप्रसाद यादवले विना सहमति मन्त्रालय खोसिएपछि यसबारे पार्टीभित्र छलफल भइरहेको बताए । उनले हालसम्म आधिकारिक जानकारी नभए पनि जनमत पार्टीले सम्हाल्दै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फेरिएको सुनिएको बताए । 

उनले प्रदेश प्रमुखको कार्यालयमा आजै १ बजे हुने नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने वा नहुने भन्नेबारे पार्टीमा छलफल गरेर निर्णयमा पुगिने बताए ।  

सरकारमा अहिले जनमत पार्टीका वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन् । तर उनको जिम्मेवारी खोसेर नेकपा एकीकृत समाजवादी  दलका नेता गोविन्द बहादुर न्यौपानेलाई दिने सहमति भएको मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।  उनका अनुसार कृषि मन्त्रालयका जिम्मेवारीमा रहेका जनमतका कुशवाहालाई विना विभागीय मन्त्रीको रूपमा नियुक्त गर्ने तयारी छ ।  

प्रदेश सरकारबाट एमाले बाहिरिएपछि करिब दुई महिना पछि हुन लागेको मन्त्रिपरिषद् विस्तारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री सहभागी हुन लागेका हुन् ।  यस्तै लोसपाले भने मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीको नाम टुंगो लगाएको छैन । 

कांग्रेसबाट मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्री र नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप