शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

आमालाई प्रतीक थापाको फोन–‘१ करोड पैसा रिसिभ गर्नुभयो ?’

बुधबार, १० जेठ २०८०, १५ : ४४
बुधबार, १० जेठ २०८०

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पत्नी नैनाकला थापालाई पनि रकम बुझाएको जिकिर गरेका छन् । ठगी धन्दामा संलग्न मुख्य योजनाकार मध्येका केशव प्रसाद दुलालले नैनाकलालाई पुल्चोकस्थित मन्त्रीक्वार्टरमा पुगेर रकम बुझाएको बयान दिएका हुन् ।

सानु भण्डारीले क्वार्टरमा लगेर नैनाकलालाई रकम बुझाएको कुरा नक्सालस्थित निलगिरी थकाली भान्सा घरबाट छोरा प्रतीक थापाले फोन गरेर ‘भेरिफाई’ गरेको दुलालले बताएका छन् । उनका अनुसार थकालीबाट नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरेर सोधेका थिए–‘आमा १ करोड रुपैयाँ पाउनु भयो कि भएन ?’

नैनाकलाले पैसा ‘रिसिभ’ गरेको जानकारी दिएपछि प्रतिकले गिरोहका सदस्यहरूलाई भने–‘मेरी आमाले सानु भण्डारीसँगबाट रकम लिनुभयो ।’

शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा अहिले फरार छन् । गिरोहका सदस्यहरूले रकम बुझाएको दाबी गरे पनि प्रहरीले नेकपा एमालेकी सांसद नैनाकलाबारे अनुसन्धान नै गरेन । बुधवार सरकारी वकिल कार्यालय काठमाडौँले शरणार्थी प्रकरणको अभियोग पत्र अदालतमा दर्ता गराउँदै छ ।

तत्कालीन गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईले पटक–पटक करोडौँ रकम लिएको गिरोहका सदस्यहरूले बयानमा खुलाएका छन् । शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जना हिरासतमा छन् । प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

केशव प्रसाद दुलालको थप बयान :

सानु भण्डारीले डा. इन्द्रजीत राईसँग त्रिपुरेश्वरमा रहेको आँगन होटलमा भेटेर १ करोड ५० लाख नगदै रकम दिएको भनी मलाई भोलि पल्ट जानकारी गराउनु भएको । भोलिपल्ट डा. इन्द्रजीत राई, म र सानु भण्डारी भएको बेलामा डा. इन्द्रजीतले रकम मैले लिएको भनेका हुन् ।

प्रतिवादी सानु भण्डारीले पुनः डा. इन्द्रजीत राईलाई काठमाडौँको हिमालय होटलमा गई २ करोड रकम दिएको मलाई समेत जानकारी गराएका र डा. इन्द्रजित राईको कार्यकक्षमा म र सानु भण्डारी गएको अवस्थामा उक्त रकम पाएको भनी इन्द्रजीत राईले भनेका हुन् ।

सानु भण्डारीले नैनाकला थापालाई १ करोड नगदै मन्त्री क्वार्टरमै दिएको भनी मलाई भनेको तथा सानु भण्डारी र म निज नैनाकला थापाका छोरा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का प्रमुख स्वकीय सचिव प्रतीक थापा मगरलाई नक्साल स्थित निलगिरी थकाली भन्साघरको आँगनको उत्तर तर्फ होटलको १ तला माथि प्रतीक थापालाई भेटेपछि निज नैनाकला थापालाई प्रतीक थापा मगरले फोन गरी पैसा पाउनु भयो, भएन भनी सोध्दा पैसा पाएको कुरा प्रतीक थापालाई भने पछि मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनी जानकारी गराएका हुन् ।

सानु भण्डारीले इन्द्रजीत राईलाई १ करोड रकम दिई सकेको भनी मलाई जानकारी गराएका र हामी दुवै जनाले गृह मन्त्रालयमा रहेको निजकै कार्यकक्षमा कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझेको भनी मलाई समेत जानकारी गराएका हुन । प्रतिवादी सानु भण्डारीले तत्कालीन गृह सचिव प्रेम कुमार राईलाई गृह मन्त्रालयमा भेटी नगद १ करोड रकम दिएको भनी मलाई जानकार गराए पछि सानु भण्डारीसँग गृह मन्त्रालयमा गई डा. इन्द्रजीत राईसँग सचिव प्रेम कुमार राईले उक्त रकम पाएको कुरा जानकारी गराएका हुन् ।

सानु भण्डारीले तत्कालीन ऊर्जा मन्त्री टोप बहादुर रायमाझी र निजको छोरा सन्दीप रायमाझी समेतलाई पटक–पटक नगद र बैंक खातामा समेत पठाई दिएको भनी मलाई सानु भण्डारीले जनकारी गराएको र पछि टोपबहादुर रायमाझीको सातदोबाटोमा रहेको घरमा सानु भण्डारी र म समेत गई उहाँहरुसँग रकम पाए नपाएको सम्बन्धमा बुझ्दा हामीले रकम पाई सकेका छौँ भनी जानकारी गराएका हुन् । प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजीत राईलाई काम भएपछि दिनुपर्ने रकमका लागी घर जग्गा बैना गरेको झुटा कागज बनाएर राखेका छन् भनी जानकारी गराएको हुँदा मैले थाहा पाएको हुँ ।

जाहेरवाला गजेन्द्र बुढाथोकीसँग मेरो चिनजान छैन्, निजसँग चिनजान भएको हुँदा निजहरु बाट मैले कुनै रकम लिएको छैन् । जाहेरवाला गजेन्द्र बुढाथोकीसँग मेरो चिजान नभएको हँुदा निजले जाहेरी दरखास्त साथ पेश गरेको भनिएको विभिन्न व्यक्तिहरुको नाममा जारी भएको भुटानी शरणार्थीको परिचय पत्रहरु निजले के कहाँ बनाई के कसरी पेश गरेका हुन मलाई जानकारी भएन । सो कार्यमा मेरो कुनै संलग्नता छैन् । जाहेरवालाहरु खगेन्द्र थेवे, निजको श्रमिती र बैनी तथा जाहेरवाला भुवन सिंह लिम्बुले दाबी गरेको कुरा झुट्टा हो, जिनहरुको चिनजान र सम्पर्कमा रहेका आफन्तहरुसँग समेत मेरो कुनै चिनजान छैन, चिनजान नै नभएको मानिससँग रकम लिई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी समेत १० लाख लिएको छैन् । सो कुरामा कुनै सत्यता छैन् । जाहेरवाला डिल बहादुर कुसारीले दाबी गरेको कुरा भुट्टा हो, निज र निजको छोरा महेन्द्र कुसारीसँग मेरो चिनजान र सम्पर्क छैन् । निजहरुलाई मैले भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी कुनै कुराकानी समेत नगरेको र निजले दाबी गरेको २० लाख रकम मैले लिएको छैन । मेरो जाहेरवाला तथा निजले जाहेरीमा नाम उल्लेख गरेका राजेश अर्यालसँग समेत चिनजान नभएको हुँदा मैले निजबाट कुनै रकम लिएको छैन र निज राजेश अर्यालयको खातामा रकम पठाउन समेत लगाएको छैन ।

जाहेरवाला डम्बर बहादुर खत्रीसँग मेरो कुनै चिनजान छैन, भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी जाहेरवालाले दाबी गरेको १५ लाख ५० हजार मैले लिएको छैन् । जाहेरवाला सन्दीप वली र निजको दाई असिम वलीसँग मेरो कुनै चिनजान छैन, निज असिम वलीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ देखी २०७८ सालको पौष सम्म पटक पटक गरी २० लाख लिएको छैन । जाहेरवाला सुस्मा चन्द र निजको श्रीमान लोक बहादुर डिसी सँग मेरो कुनै चिनजान छैन  निज लोकबहादुर डि.सी. सँग भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको पौष सम्म पटक पटक गरी २० लाख लिएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप