बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
बिचौलिया बेचन

नक्कली  शरणार्थी प्रकरण : दुई करोडको चेक लिएपछि एकाएक सम्पर्कविहीन भए बेचन झा

बिहीबार, ११ जेठ २०८०, १५ : ४६
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा एक जना शङ्कास्पद झुलुक्क देखा पर्छन्, त्यसपछि एकाएक हराउँछन् । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर, नाम र काठमाडौँमा  बस्ने ठेगाना बाहेक अनुसन्धान अधिकृतहरूले उनको बारेमा अरु सुराक पाउन सकेका छैनन् ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा ठगेको आरोपमा टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसी प्रहरीको हिरासतमा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख २५ मा पक्राउ गरेको थियो । दाङ घर भएका ५१ वर्षीय रामशरणसँग बेचन झाले दुई करोडको चेक लिएका थिए । 

भुटानी शरणार्थी प्रकरणको योजनाकारमध्येका एक सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।

 गिरोहले भने अनुसार भुटानी शरणार्थी सम्बन्धी ‘निर्णय गराउन’ मन्त्रिपरिषदबाटै गराउने भन्दै बेचनले चेक लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रहरीसँगको बयानमा रामशरण केसीले भनेका छन्, ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषदबाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’ तर, झा त्यसपछि शरणार्थी प्रकरणको कुनै पनि घटनामा देखिएका छैनन् ।

बेचन झाको घर ठेगाना स्पष्ट नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । कार्कीले भने, ‘ठेगाना खुलेको छैन, बेचन झाको बारेमा थप अनुसन्धान गरेर पूरक प्रतिवेदन लैजान्छौँ ।’

मन्त्रिपरिषदबाटै बेचन झाले निर्णयहरू गराउन सक्छन्, त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुनेकुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट खुलेको छ । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् । चेक लिएसँगै उनी शरणार्थी प्रकरणको दृश्य बाहिरै छन् ।

रामशरण केसी रङसम्बन्धी काम गर्दागर्दै ‘अमेरिका सपना’ देखेर ठगीधन्दामा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २०७४ मा चिनजान भएका जनक कार्की र गोकुल थापामार्फत शरणार्थी नेता टेकनाथ रिजालसम्म रामशरण पुगेका हुन् ।

रामशरणले सानु भण्डारीलाई बैंक मार्फत १ करोड ३४ लाख, केशव दुलाल मार्फत पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई १ करोड ५० लाख र टेकनाथ रिजाललाई ११ लाख बुझाएको बयान दिएका छन् । गोकुल थापालाई ६० लाख दिएको बयानमा खुलाएको बुधवार अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार रामशरण दोस्रो लेयरका आरोपी हुन् ।

सरकारी वकिल कार्यालयले रामशरण विरुद्ध संगठित ठगी, किर्ते, राज्य विरुद्धको कसुर र एकै वारदातमा एकभन्दा बढी कसुर गरी ‘एकीकृत कसुर’ समेत गरेको पुष्ट भएको भन्दै कसुर ठहर हुन अभियोग मागदावी लिएको छ ।

रामशरण केसीले गरेको बयान अंश

सामान्य रङको काम गरेर बसेको अवस्थामा भाइ मार्फत चिनेको जनक कार्कीसँग भेटघाट भयो । निजमार्फत नै गोकुल थापासँग २०७४ सालमा चिजान भएको थियो । जनक कार्कीले म टेकनाथ रिजालको मुख्य सल्लाहकार हुँ हामीले नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काम गरिरहेका छौँ भनेपछि मैले ५२ लाख जम्मा गरेर गोकुल थापालाई भक्तपुरको बालकोटस्थित सिरुटारमा उनको घरमा लगेर ९ लाख ५० हजार दिएँ । महाराजगन्जको भाटभटेनी नजिकको बेकरी क्याफेमा नगद १२ लाख बुझाएको थिएँ । गौशाला स्थित पशुपति भिजन होटेलको पछाडि गएर १८ लाख ५० हजार र तीनकुनेमा लगेर उनै गोकुल थापालाई १२ लाख दिएको थिएँ । गोकुल थापाले १८ जनाको नागरिकताको कपी पनि लगेका छन् ।

झापामा गएर टेकनाथ रिजालको घरमा भेटेर कुरा गरेको छु । गोकुलले पछि मैले दिएको मध्ये ३२ लाख फिर्ता गरे । त्यसपछि फेरि दुई जनालाई निःशुल्क मिलाउँछौँ भनेर ४० लाख लगेका हुन् । उनको पत्नी रमाको नाममा चेक काटेर रकम दिएको र पहिले लिन बाँकी २० लाख सहित ६० लाख गोकुलकै हिसाबमा मिलान गरेको छु ।

गोकुल थापाले भने अनुसार टेकनाथ रिजाललाई चाबहिलको ए वान पार्टी प्यालेसमा भेटेको हुँ । रिजालले नै केशव प्रसाद दुलाल र भेषराज लम्सालसँग भेट गराई चिनजान गराएका हुन् । रिजालले ‘अब काम हुन्छ सबै काम उहाँहरुले गर्नुहुन्छ’ भन्नुभयो ।

२०७६ असार र साउनमा सानु भण्डारी लगायतले ३४ जनाको शरणार्थी परिचयपत्र बनाई दिएका थिए । सानु भण्डारी समेतलाई मैले कुल ३ करोड ४० लाख दिएको छु ।

२०७७ असोजमा सागर राईले मलाई फोन गरी जोरपाटी साँखु जाने बाटोमा रहेको रेस्टुरेन्टमा प्रतीक थापा, सागर राई, प्रेमराज पन्थी र केशव प्रसाद दुलालसँग भेटेको थिएँ । प्रतिकले भने अनुसार १ करोड ३४ लाख रुपैयाँ सानु भण्डारीको आईसीएफसी फाइनान्स र हिमालय बैंकमा जम्मा गरिदिएको थिएँ ।  मसँग भौचर छ । मेरो घर–जग्गा दृष्टि बन्धक राखेर १ करोड ५० लाख ऋण लिएको रकम लिन केशव प्रसाद दुलालले नक्साल स्थित निलगिरी थकालीमा बोलाएको हुँदा म र प्रेमराज पन्थी सँगै नगद लिएर गएका थियौँ । नयाँ सिल्भर रङको गाडीमा दुलाल आएका, प्रतीक खोइ भन्दा माथिल्लो तलाबाट हेरेर ल्याएको रकम दुलाललाई नै दिनु भनेका हुन् । प्रेमराज पन्थी र मैले त्यहाँ २ करोड ५० लाख बुझाएका थियौँ ।

टेकनाथ रिजाललाई भुटानी शरणार्थीको छुट दर्ता गरिपाऊँ भनेर हामी ५ जनाको निवेदनमा सहिछाप गर्न लगाएका थियौँ । रिजाललाई  ११ लाख रकम घरमै लगेर दिएको हुँ ।

काठमाडौँमा रवि भवन नजिक रहेको क्राउन होटेलको १४ तलामा लगेर २०७८ फागुनमा १३ जनाको बायो मेट्रिक गराइएको थियो । त्यति बेला टंक कुमार गुरुङ र सन्देश शर्माले बायोमेट्रिक गराएका हुन् । सानेपाको इन्टरनेशनल क्लबमा पनि बायो मेट्रिक गराउँथे । २०७९ भदौमा इटहरीको गोकुल रिपोर्टमा सागर राईले १४ जनाको बायोमेट्रिक गराएका हुन् । इटहरीबाट भेषराज लम्सालले टेकनाथ रिजालको बाकस झापा सम्म पठाएका थिए । बाकसमा धेरै जनाको परिचयपत्र थियो रिजालले भने अनुसार सबै परिचयपत्र उहाँको घर कम्पाउन्ड बाहिर मैले जलाएको हुँ ।

सानु भण्डारीको नाममा ललितपुर रहेको घर जग्गा र मेरो आमाको नाममा काठमाडौँ जिल्ला टोखा नगरपालिका–६ मैयाँ केसीको नाममा रहेको घर जग्गा समेत इन्द्रजितको छोरा नीरज राईले वकिल ल्याई थापाथली स्थित ब्लु वर्ड होटेलमा बसेर बैनाको कागज गरेका थिए ।  सानु र मेरो नामबाट बैना कागज गरेका थियौँ । सानुले आफ्नो नामको हिमालयन बैंकको ३ करोड नीरज राईको नाममा चेक काटेर दिएका थिए । शरणार्थीको कोटामा अमेरिका पठाउने कामका लागी नीरजले ग्यारेन्टी चाहिने भनेर बैना कागज र चेक लिएका हुन् । उहाँले स्रोत खुलाउनु पर्छ भनेर भनेको हुनाले हामीले बैना कागज बनाइदिएका थियौँ । 

बेचन झाबारे केसीको थप बयान अंश

मिति २०७८।०८।१३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ । उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् उनीलाई चेक काटी दिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैकमा रहेको खाताबाट बेचन झाको नाममा रु.२,००,००,०००।-(दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौँ स्थित बानेश्वर ह्रवाइट हाउस अगाडि बाटोमा मिति २०७८ मंसिर ८ गते राति २०:०० बजे तिर भेटी दिएको हुँ ।

उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थी लाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पबिता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो । बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरिका पठाउने कार्यको लागी मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरू गराउँछन् उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा सुकुमबासी पठाउन सजिलो हुन्छ सानु भण्डारीले भनेको उक्त रकम मैले चेक मार्फत दिएको हुँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप