बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
तथ्याङ्कमा आईपीएलको १६औँ संस्करण

आईपीएल : ब्याटिङमा गिल चम्किए, सबैभन्दा बढी क्याच लिने रुतुराज

मङ्गलबार, १६ जेठ २०८०, १२ : ४२
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको १६औँ संस्करण सकिएको छ । प्रतियोगिताको उपाधि कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति सम्पन्न रोमाञ्चक फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराएको थियो । 

सर्वाधिक रन  

आईपीएलको १६औँ संस्करणमा गुजरातका शुभमन गिल सबैभन्दा बढी रन बनाउने खेलाडीको रूपमा दरिए । २३ वर्षीय शुभमनले प्रतियोगिता अवधिभर १७ खेल खेल्दै कूल आठ सय ९० रन बनाए । उनले प्रत्येक खेलमा ५९.३३ को औसतले रन बनाएका थिए ।

प्रतियोगिता अवधिभर शुभमनले तीन शतक र चारवटा अर्धशतक प्रहार गरेका थिए । प्रतियोगिताको एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने एक सय २९ रन हो । एउटा खेलमा भने उनी शून्य रनमा आउट भएका थिए । प्रतियोगिता अवधिभर उनले ३३ छक्का र ८५ वटा चौका हिकार्ए । उनी दुई खेलमा अविजित रहे । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा रोयल च्यालेन्जर्स बैंगलोरका फाफ डु प्लेसिस दोस्रो स्थानमा रहे । ३८ वर्षीय दक्षिण अफ्रिकी खेलाडी डु प्लेसिसले प्रतियोगिता अवधिभर ५६.१५ को औसतले कूल सात सय ३० रन बनाएका थिए । 

प्रतियोगिताको एउटै खेलमा उनको उच्च स्कोर ८४ रन रह्यो । प्रतियोगितामा उनले आठवटा अर्धशतक पनि बनाएका थिए । उनले प्रतियोगिता अवधिभर ३६ छक्का र ६० चौका हिर्काएका थिए । प्रतियोगितामा १४ खेल खेलेका डु प्लेसिस एक खेलमा अविजित रहेका थिए ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चेन्नईका डेभोन कनवे तेस्रो स्थानमा रहे । उनले प्रतियोगिता अवधिभरमा ५१.६९ को औसतले कूल ६ सय ७२ रन बनाए । १६ खेल खेलेका कनवेले ६ वटा अर्धशतक पनि प्रहार गरे । उनले एउटै खेलमा बनाएको उच्च स्कोर अविजित ९२ रन हो । प्रतियोगिता अवधिभर उनले १८ छक्का र ७७ चौका पनि हिर्काए । 

एउटै खेलमा सर्वाधिक रन  

एउटै खेलमा सबैभन्दा उच्च रन बनाउने कीर्तिमान पनि शुभमन गिलकै नाममा रह्यो । उनले मे २६ तारिखमा अहमदाबादमा भएको मुम्बई इन्डियन्सविरुद्घको खेलमा एक सय २९ रन बनाएका थिए । एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा राजस्थान रोयल्सका बायाँ हाते ब्याट्सम्यान यशस्वी जैसवाल दोस्रो स्थानमा रहे । उनले अप्रिल ३० तारिखमा भएको मुम्बईविरुद्धको खेलमा एक सय २४ रन बनाएका थिए । एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा पनि शुभमन गिल नै रहे । उनले मे २१ तारिखमा भएको बैंगलोरविरुद्घको खेलमा अविजित एक सय चार रन बनाएका थिए ।

सर्वाधिक शतक  

सर्वाधिक शतक बनाउने खेलाडीको सूचिमा पनि शुभमन गिल पहिलो स्थानमा रहे । उनले प्रतियोगिता अवधिभर तीन शतक बनाए । दोस्रो स्थानमा रहेका बैंगलोरका विराट कोहलीले २ वटा शतक प्रहार गरे । तेस्रो स्थानमा रहेका सनराइजर्स हैदराबादका ह्यारी ब्रुक, हैदराबादकै हेनरिच क्लासेन, नाइट राइडर्सका वेंकटेस ऐयर, राजस्थान रोयल्स्का यशस्वी जैसवाल, किङ्स—११ पञ्जाबका प्रभसिमरन सिंह, मुम्बई इन्डियन्सका क्यामरुन ग्रिन र मुम्बईका सूर्यकुमार यादवले एक÷एक शतक बनाएका थिए ।

faf

सर्वाधिक अर्धशतक  

सर्वाधिक अर्धशतक बनाउने खेलाडीको सूचिमा बैंगलोरका फाफ डु प्लेसिस पहिलो स्थानमा रहे । उनले प्रतियोगितामा आठवटा अर्धशतक बनाए । दोस्रो स्थानमा रहेका बैंगलोरका विराट कोहलीले ६ वटा अर्धशतक बनाए । तेस्रो स्थानमा रहेका गुजरातका शुभमन गिलले चारवटा अर्धशतक बनाए ।

सर्वाधिक छक्का  

सर्वाधिक छक्का हिर्काउने खेलाडीको सूचिमा बैंगलोरका फाफ डु प्लेसिस पहिलो स्थानमा रहे । उनले प्रतियोगिता अवधिभर ३६ वटा छक्का प्रहार गरे । दोस्रो स्थानमा रहेका चेन्नईका शिवम दुबेले ३५ वटा छक्का प्रहार गरे । तेस्रो स्थानमा रहेका गुजरातका शुभमन गिलले ३३ वटा छक्का हिर्काएका थिए ।

rashid khan

एकै पालीमा सर्वाधिक छक्का  

एउटै पालीमा सर्वाधिक छक्का हिर्काउने कीर्तिमान गुजरातका रसिद खानको नाममा रह्यो । उनले मुम्बईविरुद्धको खेलमा ७९ रन बनाउँदा १० छक्का हिर्काएका थिए । दोस्रो स्थानमा रहेका गुजरातका शुभमन गिलले मुम्बईविरुद्धको खेलमा १ सय २९ रन बनाउँदा १० छक्का प्रहार गरेका थिए । तेस्रो स्थानमा रहेका चेन्नईका रुतुराज गायकवाड, कोलकाताका वेंकटेश ऐयर र पञ्जाबका लियाम लिभिङस्टोनले नौ/नौवटा छक्का प्रहार गरेका थिए ।

एकै पालीमा बाउन्ड्रीबाट सर्वाधिक रन  

एउटै पालीमा सबैभन्दा बढी छक्का र चौका हिर्काउने खेलाडी यशस्वी जैसवाल हुन् । राजस्थानका जैसवालले मुम्बईविरुद्धको खेलमा आठ छक्का र १६ चौका हिकाएका थिए । उनले छक्का र चौकाबाट १ सय १२ रन बनाएका थिए । दोस्रो स्थानमा रहेका शुभमन गिलले मुम्बईविरुद्धको खेलमा १० छक्का र सात चौका हिर्काएका थिए । उक्त खेलमा उनले छक्का र चौकाबाट ८८ रन बनाएका थिए । सूर्यकुमार यादवले गुजरातविरुद्घको खेलमा ६ छक्का र ११ चौका हिर्काए । उनले उक्त खेलमा छक्का र चौकाबाट ८० रन बनाएका थिए ।

सर्वाधिक विकेट  

प्रतियोगिता अवधिभर सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा गुजरातका मोहम्मद सामी पहिलो स्थानमा रहे । उनले प्रतियोगितामा १७ खेल खेल्दै कूल २८ विकेट लिए । दोस्रो स्थानमा रहेका गुजरातका मोहित शर्माले १४ खेल खेल्दै २७ विकेट लिए । तेस्रो स्थानमा रहेका गुजरातकै रसिद खानले १७ खेल खेल्दै २७ विकेट लिए । 

एकै पालीमा उत्कृष्ट बलिङ  

एउटै पालीमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने बलर मुम्बईका आकाश माधवल हुन् । उनले लखनउविरुद्धको खेलमा ३.३ ओभरमा केवल पाँच रन खर्चिएर पाँच विकेट लिएका थिए । दोस्रो स्थानमा रहेका गुजरातका मोहित शर्माले मुम्बईविरुद्धको खेलमा २.२ ओभर बलिङ गर्दै केवल १० रन खर्चिएर पाँच विकेट लिए । तेस्रो स्थानमा रहेका चेन्नईका मार्क उडले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा चार ओभर बलिङ गर्दै केवल १४ रन खर्चिएर पाँच विकेट लिए ।

thequint_2023-05_aa2e6f0e-ec16-4b75-bd7c-980155c3ad00_Ghazi34962

टोलीको उच्च स्कोर  

कुनै पनि टोलीले एउटै खेलमा बनाएको सर्वाधिक कूल स्कोर भने लखनउको नाममा रह्यो । लखनउले पञ्जाबविरुद्धको खेलमा पाँच विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । दोस्रो स्थानमा रहेको चेन्नईले कोलकाताविरुद्धको खेलमा चार विकेट गुमाएर दुई सय ३५ रन बनाएको थियो । तेस्रो स्थानमा रहेको गुजरातले मुम्बईविरुद्धको खेलमा तीन विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

सर्वाधिक अतिरिक्त रन  

एउटै पालीमा सर्वाधिक अतिरिक्त रन दिने खराब कीर्तिमान भने राजस्थानको नाममा रह्यो । राजस्थानले मुम्बईविरुद्धको खेलमा २५ रन अतिरिक्त रूपमा दिएको थियो । दोस्रो स्थानमा रहेको कोलकाताले बैंगलोरविरुद्घको खेलमा अतिरिक्त रूपमा २३ रन दिएको थियो । तेस्रो स्थानमा रहेको गुजरातले बैंगलोरविरुद्घको खेलमा १९ रन र हैदराबादले मुम्बईविरुद्धको खेलमा १९ रन अतिरिक्त रूपमा दिएका थिए । 

सर्वाधिक क्याच  

सबैभन्दा बढी क्याच लिने खेलाडी चेन्नईका रुतुराज गायकवाड हुन् । उनले प्रतियोगिता अवधिभरमा १७ वटा क्याच लिएका थिए । दोस्रो स्थानमा रहेका बैंगलोरका विराट कोहलीले १३ वटा क्याच लिएका थिए । तेस्रो स्थानमा रहेका हैदराबादका आइडेन मारक्रम, राजस्थानका सिमरोन हेटमायर र गुजरातका डेभिड मिल्लरले ११÷११ वटा क्याच लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप