शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४ बेरोजगार युवाको कथा ‘वेलकम टु हेम्जाकोट’ हो : निर्देशक पौडेल

बुधबार, १७ जेठ २०८०, १७ : ३३
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । कमेडी जनरामा निर्माण भएको फिल्म हो ‘वेलकम टु हेम्जाकोट’ । कतिपयले फिल्म कर्मसियल विषयमा भएको बताएका छन्,  भने कतिपय हेम्जाकोटको प्रचार गर्ने उद्देश्यले बनेको भन्छन् ।

फिल्मका निर्देशक सरोज पौडेलले भने फिल्मले ४ बेरोजगार युवाको कथा बन्ने बताए । ‘फिल्म पोखरा नजिकको थलो हेम्जाकोट ठाउँ वरपर छायाङ्कन गरिएको हो । त्यहाँको प्रचार त गर्छ नै’ निर्देशक पौडेलले भने ‘फिल्मले ४ बेरोजगार पात्रको सङ्घर्षको कथा पेश गर्छ । विषयवस्तु काल्पनिक होइन । हामीहरूकै वरिपरिको कथा हो, त्यही कथा फिल्ममा कमेडी तरिकाले प्रस्तुत गरिएको छ ।’

राजधानी आयोजित एक कार्यक्रममा निर्देशक पौडेलले फिल्म ४ पात्रमा जीवन सङ्घर्ष भएको बताए । ‘जो धेरै नपढेको र बेरोजगार छ, जोसँग उसका बाबुआमा आजित छन् । ढिलै भएपछि जिन्दगीले सुख ल्याउँछ भन्ने आशामा छ ऊ । केही सीप नलागेपछि विदेश जाँदा बाटोमा उसले धेरै हैरानी खेप्छ । त्यही सङ्घर्ष र कथा फिल्मे भन्छ’ निर्देशक पौडेलले कथा केही खोले । फिल्मले अन्तर्जातीय प्रेम कथावस्तु पनि उधिनेको उनले सुनाए ।

उनले फेरि भने, ‘हामीले असाध्यै ठुला गफ त च्ट्छौं । तर, जति नै ठुलो भाषण र गफ चुटे पनि गाउँमा अझै पनि जातीय समस्या छ । जातलाई लिएर प्रेममा लडाइँ हुन्छ । केही प्लट रुकुमको घटनालाई लिएर लेखिएको छ ।’ निर्देशक पौडेलले दर्शक तान्ने स्टार आफ्नो फिल्म नभए पनि कथावस्तु बलियो भएकोले दर्शकले रुचाउने धारणा राखे ।

फिल्मको शीर्ष भूमिकामा अभिनेता विनोद न्यौपाने छन् । यसअघि उनले १५ चलचित्रमा काम गरिसकेका छन् । तीमध्ये कमैमा उनले अर्थपूर्ण भूमिका पाएको धारणा राख्ने उनले फिल्म आफ्ना लागि महत्त्वपूर्ण र अर्थपूर्ण रहने बताए । ‘मैले मज्जाले एक्सप्लोर गरेर काम गरेको फिल्म हो यो । मैले फिल्ममा काम देखाएको छु । दर्शकका लागि पनि यो मनोरञ्जनात्मक छ’ न्यौपानेले भने । 

फिल्ममा बुद्धि तामाङ पनि छन् । प्रायः फिल्ममा कमेडियनको भूमिका निवार्ह गर्दै आएका उनले फिल्ममा भिन्न चरित्रमा देख्न पाउनेछन् । ‘मेरै वरपर फिल्म घुमेको छ’ तामाङले भने । अर्का कलाकार प्रेविल कँडेलले फिल्म राम्रो बनेको र सबैले हेर्न मिल्ने भएको दाबी गरे । 

डेब्यु अभिनेत्री अम्बिका तामाङले फिल्ममा आफूले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेको बताइन् । ‘जसले लोकसेवा परीक्षाको तयारी गरेको छ । यो पात्रसँग मेरा केही स्वभाव पनि मिल्छन् । बाँकी कुरा त फिल्ममा हेरेपछि थाहा हुनेछ’ उनले अगाडि भनिन् ‘गाउँमा गरेको सङ्घर्ष फिल्ममा मिल्छ ।’ क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म नेपाल बाहेक जापान, अस्टेलिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ ।

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा निर्देशक पौडेलकै लेखन छ । फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम फिल्म हो । 

फिल्मले काठमाडौँमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो ।  मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्ममा डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी रहेको फिल्म सुनील मानन्धरले नेपालभरका वितरण गर्दैछन् । फिल्म अगामी २६ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप