शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रचण्डको दिल्ली दौड : अजित डोभालबाट भेटवार्ता सुरु, बिहीबार दुई पक्षीय सम्झौता

बुधबार, १७ जेठ २०८०, २३ : ५४
बुधबार, १७ जेठ २०८०

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चार दिने राजकीय भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ताबाट सुरु गरेका छन् । प्रधानमन्त्री बनेको ५ महिनापछि भारत भ्रमणमा निस्किएका प्रचण्डलाई बुधबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी बसेको सरदार पटेलमार्गस्थित होटल मौर्यमै डोभाल भेटका लागि पुगेका थिए । डोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् । उनीसँगको भेटवार्तामा विदेश सचिव विनयमोहन क्वात्रा पनि सँगसँगै थिए । 

यसअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा स्वागत गरिएको थियो । प्रचण्डलाई राज्यमन्त्री तहबाट स्वागत भएको भन्दै नेपालमा कतिपयले आलोचना समेत गरेका छन् । 


 
स्वागतका लागि दिल्लीका सडकमा पोस्टर
प्रधानमन्त्री प्रचण्डको स्वागतमा उनी हिँड्ने रुटमा प्रचण्डको व्यानर र होडिंग बोर्डहरु राखिएका छन् । बाह्रखम्बा रोड, इन्डिया गेट, हैदराबाद हाउन, विमानस्थल र मुख्यमुख्य ठाउँमा ब्यानर र होर्डिङ बोर्ड राखिएको हो । त्यस्ता बोर्ड प्रधानमन्त्री प्रचण्डका सिंगल र मोदीसँग रहेका समेत बनाइएको छ । 

दूतावासका कार्यक्रममा सहभागी
यसैबीच बुधवार साँझ प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भए ।  सो क्रममा प्रचण्डले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताए । प्रचण्डले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल र भारतबीच भौगोलिक र सांस्कृतिक सामीप्यले सदियौँदेखि जनस्तरमा रहेको हाम्रो सम्बन्ध सधैँ मित्रवत र घनिष्ठ रहँदै आएको छ । समय समयमा हुने उच्चस्तरीय आदानप्रदानले समय सापेक्ष रूपमा सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउँछ ।’

प्रधानमन्त्री प्रचण्डले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग आफ्नो वार्ता हुने कार्यक्रम तय भएको र सो क्रममा केही सम्झौताहरूमा हस्ताक्षर हुने जानकारी दिए । उनले आपसी विश्वासको अभिवृद्धि तथा सद्भावना अभिबृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रीत रहने बताए । 

के छ बिहीवारको कार्यक्रम ?
प्रधानमन्त्री प्रचण्ड बिहीवार बिहान साढे दश बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट जाने  कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  जहाँ उनले महात्मा गान्धीप्रति पुक्ष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । 

लगत्तै सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।  प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ । 

प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।   शुक्रबार भने प्रधानमन्त्री मध्यप्रदेश जानेछन् भने शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप