आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो निर्वाचन क्षेत्रलाई प्रदेशकै नमुना क्षेत्र बनाउँछु : मन्त्री श्रेष्ठ

आइतबार, २१ जेठ २०८०, १८ : २३
आइतबार, २१ जेठ २०८०

सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका छन् ।

मन्त्री श्रेष्ठले आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका बेला आफ्नो निर्वाचन क्षेत्र सिन्धुली २९२० लाई बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका हुन् । 

उनले आफ्नो निर्वाचन क्षेत्र बागमती प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार ६६ औं नम्बरमै रहेको भन्दै यस क्षेत्रलाई विकासको दृष्टिले पहिलो नम्बरमा ल्याउने बताए । 

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई धान पकेट क्षेत्र घोषणा गर्ने बताए । त्यस्तै घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरी कृषि क्रान्ति ल्याउने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तिर्थबहादुर लामालाई लिएर  सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने बज्रमारा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका थिए । सो सिँचाइ आयोजनाले दसौं हजार बिगाहा उर्वर भूमि सिँचाइ गर्नसक्ने बताइएको छ ।

उनले सिन्धुली, काभ्रे र मकवानपुर जिल्लाको सिमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पुर्याउन सकिने उल्लेख गरे । यस आयोजनाको डिपिआर समेत तयार भइसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप