सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता प्रकरणमा संसदको विशेष अधिकार हनन् गर्ने प्रधानमन्त्रीमाथि कारबाही गर्नुपर्छ : योगेश भट्टराई

सोमबार, २२ जेठ २०८०, ११ : ४४
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेर गैर संवैधानिक काम गरेको आरोप लगाएका छन् ।   सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकता जस्तो विषयमा धेरै खेलवाड नगर्न आग्रह गरे । प्रधानमन्त्रीसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे । उनले हिजो बिहे गरेर आएकी विदेशी महिलालाई १५ वर्ष नभई नागरिकता दिनुहुँदैन भन्ने माओवादीले एमालेले ७ वर्ष हुनुपर्छ भन्दा त्यसलाई लत्याउने काम भएको बताए । 

उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्चले रोकेकोमा धन्यवाद ब्यक्त गरे ।  सांसद भट्टराईले गैरआवासीय ब्यक्तिलाई दिने नागरिकताको विषयमा आपत्ति नभएपनि महिलालाई नागरिकता दिने विषयमा रहेको प्रावधान आपत्तिजनक रहेको दावी गरे । 

भट्टराईले भने– ‘नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस । सम्मानीय प्रधानमन्त्री यहाँ हुनुहुन्छ, उहाँलाई म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूले आफूसँग नभएको अधिकार विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ? त्यो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने,

संविधान मिच्न दुरुत्साहन गर्ने, यो संसदको नियमावलीमा छ सभामुख महोदय, संसदको विशेष अधिकार हनन् भयो भने विशेष अधिकार हनन् समिति बनाएर संसदको विशेष अधिकार हनन् गर्नेमाथि पनि कारबाही हुन सक्छ । यो हामीले बनाएको नियमावली हो सभामुख महोदय । यसकारण यसमा प्रधानमन्त्रीजीको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले संविधानमा भएको व्यवस्थाविपरित सरकारले दिउसै ढाँट्ने काम गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप