शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गेटा आँखा अस्पतालको निःशुल्क शिविरमार्फत १८८ जनाको ज्योति फर्कियो

आइतबार, २८ जेठ २०८०, १४ : ०६
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ । 

तीन वटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने हेतुले सङ्घले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दैै आइरहेको छ ।  

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।  त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाउँपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले बताए ।

त्यसैगरी जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

तीन वटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।

अस्पतालका चीफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरूको टोलीले शिविरहरूमा सेवा प्रदान गरेका थिए ।

आर्थिक तथा पहुँचको अभावका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीहरूले आफ्नै घर आँगमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

नेपाल नेत्रज्योति संघ अन्तरगत संचालित गेटा आँखा अस्पतालले सुदूरपश्चिमा थप ३ वटा सेकेन्डरी लेभलका आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर तथा १७ वटा आँखा उपचार केन्द्रहरु मार्फत यस क्षेत्रका नागरिकहरुलाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप