शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
बैंक

बैंकको निक्षेप ३ खर्ब ७० अर्बले बढ्यो, लगानी सुस्त

सेयर धितो र अटो कर्जामा लगानी ठुलो अंकले घट्यो
आइतबार, २८ जेठ २०८०, १६ : १७
आइतबार, २८ जेठ २०८०

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) थुप्रिन थालेको छ । केही महिना अघिसम्म तरलतालाई नै देखाउँदै बैंकहरुले कर्जा रोकेका थिए । तर, यतिखेर निक्षेप ह्वात्तै बढ्न थालेपछि बैंकमा पैसा थुप्रिन पुगेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले निक्षेप बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड अर्थात् ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.३ प्रतिशतले बढेको हो । यो सँगै हाल बैंक तथा वित्तीय संस्थामा तीन खर्ब बढी तरलता थुप्रिन पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्म ५४ खर्ब ९३ अर्ब ४७ करोड रुपैयाँ बराबरको निक्षेप जम्मा हुँदै गर्दा सोही अवधिमा यता ४८ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ बराबरको मात्र कर्जा लगानी भएको छ ।

कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड (१३.४ प्रतिशत) ले बढेको थियो । तुलनात्मक रूपमा यो वर्ष झण्डै ३ खर्ब ९४ अर्ब ९७ करोड रुपैयाँ बराबरले निजी क्षेत्र तर्फको लगानी वृद्धि घटेको हो ।

यद्यपि, वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

यस्तै, २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत रहेको छ । 

त्यस्तै, व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरूको १.१ प्रतिशतले बढेको छ ।

२०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ । त्यस्तै, ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । 

२०७९ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा ९.१ प्रतिशतले, निर्माण क्षेत्र तर्फको कर्जा ९.८ प्रतिशतले  यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र तर्फको कर्जा १५.३ प्रतिशतले बढेको छ । 

त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्र तर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्र तर्फको कर्जा ३.५ प्रतिशतले र उपभोग्य क्षेत्र तर्फको कर्जा ५.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २१.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले बढेको छ । 

उता, अधिविकर्ष कर्जा ६६.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारण समेत), मार्जिन प्रकृतिको कर्जा ६.९ प्रतिशतले र हायर पर्चेज कर्जा १२.१ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप