बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

बालबालिकालाई दिइने नियमित खोप : ८० प्रतिशत जान्छ खेर

सोमबार, २९ जेठ २०८०, ०८ : ५६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । नेपालमा बालबालिकालाई दिइने नियमित खोप ८० प्रतिशतसम्म खेर गएको पाइएको छ ।  विश्वव्यापी मान्यताअनुसार १३ वटा नियमित खोपमध्ये सबैभन्दा धेरै बीसीजी, दादुरा खोप ५० प्रतिशत खेर जान्छ । यद्यपि नेपालमा भने बीसीजी खोप ७९.३ प्रतिशतसम्म खेर गएको देखिन्छ । 

अन्य नियमित खोपहरू पनि १५ प्रतिशतसम्म खेर गएको परिवार कल्याण महाशाखाले जनाएको छ । विश्वव्यापी मान्यताअनुसार नियमित अन्य खोप १० प्रतिशत मात्रै खेर जान्छ । नेपालमा वर्षेनी १८ हजार मात्रा बीसीजी खोप शिशुहरूलाई दिँदा ३ लाख ६० हजार मात्रा खोप खेर जान्छ । तर, त्यसलाई खेर गएको मान्न नहुने खोप शाखाका अधिकृत भरत भण्डारीको जिकिर छ । 

बीसीजी खोप सेसनमा एक पटकमा जम्मा ४ देखि ६ जना हुन्छन् । त्यहाँ २० प्रतिशत खोप प्रयोग हुने, बाँकी ८० प्रतिशत खेर जाने उनले बताए । खोप खोलेको ६ घण्टाभित्र प्रयोग गरिसक्नुपर्छ । खोलिएको खोप जति सबै सँगै लगाउने नहुँदा खेर जाने उनको भनाई छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत बालबालिका तथा खोप शाखाका पूर्व प्रमुख डा. झलक गौतमका अनुसार एकजना बालबालिकालाई पनि खोपबाट वञ्चित पाइँदैन । 

कुनै खोप लगाउन एउटा मात्रै बच्चा आएपनि स्वास्थ्यकर्मीले खोप दिनुपर्ने ऐनमा उल्लेख छ । सोहीअनुसार एकजना खोप लगाउन आएपनि एक भाइल खोलेर एक मात्रा खोप दिँदा धेरै खेर जाने उनको भनाई छ ।

सरकारले खोप दातृनिकायबाट अनुदान र विभागबाट खरिद गरी वार्षिक ४० लाख डोज खोप खरिद गर्छ । जसमा करिब ३४ लाख खोप खेर जाने गर्छ ।  

यस्तै, महालेखाको प्रतिवेदनले पनि खोप उपयोग गर्दा खोप तालिका निर्धारण गरी खोप लगाउने र प्राप्त भएका खोपहरू खेर नजाने गरी व्यवस्थापन गर्नुपर्ने औँल्याएको छ । 

किन जान्छ खोप खेर ? 

अधिकृत भण्डारीका अनुसार खोप दुई थरीको हुन्छ । एउटा खोप खोलेको एक घण्टा भित्रै प्रयोग गर्नुपर्छ भने अर्को थरी खोप ६ घण्टा भित्र प्रयोग गर्नुपर्छ । यस्तै, केही खोपहरू खोल्ने बित्तिकै प्रयोग नगरे पछि प्रयोग गर्नै मिल्दैन ।

आज खोप खोलेर ६ घण्टासम्म प्रयोग गर्न मिल्ने अन्य खोप केन्द्रमा तत्काल पठाइने उनले बताए ।

नेपालको भौगोलिक बनावट उच्च हिमाली, पहाडी क्षेत्रमा भएकाले एक ठाउँमा खोप प्रयोग गरी अन्य खोप रहेको अवस्थामा तत्काल खोप पुर्‍याउन समय लाग्ने हुँदा खोप खेर गइरहेको उनको भनाइ छ ।

नेपालमा करिब १८ हजार खोप केन्द्रबाट प्रत्येक वर्ष ५ लाख बालबालिकाले १३ थरी नियमित खोप लगाउने गर्छन् । मासिक रूपमा नियमित खोप लगाउने बालबालिका करिब ४१ हजार ६ सयजना हुन्छन् ।

बीसीजी खोप बच्चा जन्मिने बित्तिकै लगाइन्छ । जुन खोप एक भाइलमा २० मात्रा हुन्छ । जसमा एक सेसनका लागि एक भाइल खोप खोल्नुपर्छ । एक भाइल खोप लगाउने तत्काल त्यति धेरै शिशु हुँदैनन् । 

बीसीजी खोपको भाइल खोलेको १ घण्टामा लगाइसक्नु पर्ने हुँदा बढी खेर गएको उनको भनाइ छ । 

खोप खेर जान नदिन के गर्ने ?

संघ, प्रदेश र स्थानीय गरी ३ तहको सरकार आए पनि खोप खेर जाने दर झन् बढ्दै गएको जानकारहरू बताउँछन् । 

‘साविक गाविसमा एक भाइल खोप खोलिएमा तीन वटा गाविससम्म पुर्‍याउन सकिन्थ्यो,’ उनले भने, ‘अहिले प्रत्येक वडालाई एक भाइल खोप दिइन्छ,   जसले गर्दा खेर जाने दर झन् बढेको छ ।’  

खोप खेर जान नदिनका लागि एक भाइलमा १० डोज जाने भाइल ल्याउनुपर्ने हुन्छ । हाल अनुदान र खरिदमार्फत् ल्याइएका बालबालिकाको नियमित खोप एक भाइलमा २० डोज छ । 

तर, जति सानो भाइल ल्यायो, त्यति महँगो पर्छ । सस्तो पर्ने भएकाले एक भाइलमा २० मात्रा जाने ल्याउने गरिएको खोप शाखाले जनाएको छ । 

खोप खेर जाने दर झन् बढ्दै

नेपालमा अब एक दुई वर्षमा खोप खेर जाने थप १५ देखि २० प्रतिशत बढ्ने आकलन गरिएको छ । 

विगतमा ४ हजारवटा स्वास्थ्य चौकी हुँदा १६ हजार खोप केन्द्र थिए । हाल ८,२०० वटा स्वास्थ्य संस्था भएका छन् । अव ती सबै स्वास्थ्य संस्थाले नियमित खोप चलाउने हुँदा खोप खेर जाने दर बढ्न सक्ने खोप शाखाका भण्डारीको भनाइ छ ।

यस्तै, खोप सुरक्षा, खोप केन्द्र धेरै हुँदा, भौगोलिकताका कारण खोप खेर जाने दर बढ्ने पूर्व प्रमुख गौतम पनि बताउँछन् । 

सरकारले खोप खेर जाने दर कम गर्न नीति बताउन आवश्यक रहेको खोप शाखाका अधिकृत भण्डारीको भनाई छ । प्रष्ट नीति बनाएर स्थानीयसँग समन्वय गरी योजना बनाउनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप