शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आफन्तले टोकेपछि कुहिन थाल्यो खुट्टा, मासु खाने ब्याक्टेरियाले गरेको थियो हमला

बुधबार, ३१ जेठ २०८०, १४ : ४९
बुधबार, ३१ जेठ २०८०

एक व्यक्तिलाई उनका आफन्तले तिघ्रामा टोकिदिए । नतिजा यो भयो कि उनको खुट्टा कुहिन थाल्यो । खुट्टाको ठुलो हिस्सा काट्नु पर्‍यो । ज्यान पनि बालबाल बच्याे । कहानी हो अमेरिकाको फ्लोरिडाको । त्यहाँ ५२ वर्षीय डोनी एडम्स आफ्नो तिघ्रामा सिक्काको आकारमा लागेको घाउको उपचार गराउन अस्पताल पुगे । 

त्यहाँ उनले डाक्टरलाई घर झगडाका क्रममा उनका आफन्तले उनलाई तिघ्रामा टोकिदिएका थिए । डाक्टरले सुरुमा यसलाई साधारण सङ्क्रमण होला भनेर सोचे । टिटानसको सुई लगाए । एन्टिबायोटिक्स दिए र अस्पतालबाट फिर्ता पठाए । तर त्यसको केही दिनपछि उनको स्वास्थ्य खराब हुन थाल्यो ।

एडम्सले एक समाचार माध्यमसँगको कुराकानीमा भने, ‘ अस्पतालबाट आएको तीन दिनपछि मेरो खुट्टा धेरै सुन्निएको थियो । म हिँड्न सकिरहेको थिइनँ, खुट्टा तातो थियो र दुखाई व्यापक थियो ।’

डोनी पुनः एचसीए फ्लोरिडा हेल्थ केयर पुगे । उनको परीक्षण सुरु गरियो । उनको उपचारमा संलग्न डाक्टर फ्रिट्ज ब्रिङ्कले यसबारे पछि टाम्पा बे टाइम्ससँग कुराकानी गरे । उनले भने, ‘एडम्सको खुट्टामा मैले शल्यक्रिया गर्दा प्रयोग गर्ने एउटा उपकरणको टुप्पोले सानो प्वाल पर्दा खेरै पिप निस्किएको देखेँ । यो  नेक्रोटाइजिङ फासिसाइटिसको सङ्क्रमणको एउटा लक्षण थियो ।’

त्यसपछि उनको शल्यक्रिया गराउने तयारी गरियो । १९ फेब्रुअरी २०२३ मा शल्यक्रिया भयो । केही दिनपछि दोस्रो शल्यक्रिया भयो । मार्चको दोस्रो हप्तामा अस्पतालबाट डिस्चार्ज गरियो तर रोग निको भइरहेको थिएन । उनलाई मासु खाने ब्याक्टेरियाको सङ्क्रमण भएको थियो । यसलाई नेक्रोटाइजिङ फासिसाइटिस भनिन्छ । यो यस्तो ब्याक्टेरिया हो जसले पूरा शरीरलाई बिस्तारै खान सक्छ ।

मासु खाने ब्याक्टेरिया पानी, फोहोर वा र्‍यालमा पाउन सकिन्छ । साधरणतया यो ब्याक्टेरिया शरीरको कुनै पनि हिस्सामा काटिँदा, कन्याउँदा, पोल्दा, किराले टोक्दा वा खुला घाउमार्फत सम्पर्कमा आउन सक्छ । यसले मांसपेशी, नसा र रगतको नसालाई घेर्ने छालाको मुनीको तन्तुमा हमला गर्छ । यसलाई मार्ने गर्छ ।

त्यसपछि यो हाम्रो शरीरमा व्यापक रूपमा फैलने थाल्छ । त्यसैले सङ्क्रमण केही घण्टा वा दिनमा अत्यधिक बढ्ने गर्छ । डा. ब्रिंकका अनुसार मानिसको मुखमा सयौँ भिन्न–भिन्न खालका ब्याक्टेरिया हुन्छन् तर यो एक भयानक ब्याक्टेरिया हो । उनले भनेका छन्, ‘मानिसले टोकेर उपचार गराउन आएका धेरै बिरामी हामीले देखेका छौँ । तर यो एक खतरनाक ब्याक्टेरियल इन्फेक्सन थियो । साधरणतया महिनामा एक पटक वा दुई महिनामा एक पटक नेक्रोटाइजिङ फासिसाइटिसको सङ्क्रमण देखिन्छ ।’

ब्रिंकका अनुसार सङ्क्रमण फैलनबाट रोक्नका लागि उनीहरुले एडम्सको बायाँ तिघ्राको अगाडिको लगभग ६० प्रतिशत छाला हटाइएको छ । घाउलाई बन्द गर्नका लागि एउटा भ्याक्युम डिभाइस प्रयोग गरियो, त्यसपछि खुट्टा निको हुन लगभग तीन महिना लाग्यो ।

डा. ब्रिंकले भने, ‘तिघ्रामा घाउका दाग छन् । कहिले काहीँ दुख्छ । तर उनी निको भइसकेका छन् । अस्पतालबाट निस्किएपछि डोनीलाई हिँड्न थोरै समस्या भयो । तर उनी बिस्तारै निको भइरहेका छन् । सुरुमा उनलाई हिँड्नका लागि वाकर चाहिएको थियो । तर अब उनी कुनै दुखाई बिना नै हिँडिरहेका छन् ।’

घटनामा संलग्न पक्षहरू असाध्यै दुःखी भएको पनि उनी बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप