शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जब मिथुनले गर्नुपरेको थियो बी ग्रेड फिल्ममा काम, वर्षौँपछि छोराले खुलाए कारण

बुधबार, ३१ जेठ २०८०, १६ : ३०
बुधबार, ३१ जेठ २०८०

८० को दशकमा एक समय यस्तो थियो जब हिन्दी सिनेमाका दिग्गज मिथुन चक्रवर्तीका फिल्म ठुलो पर्दामा खासै चाल्दैनथे । त्यसपछि निर्देशक बब्बर सुभाषले ‘डिस्को डान्सर’ फिल्म ल्याए । यो फिल्मपछि मिथुनको भाग्यको तारा चम्कियो र उनी लोकप्रिय स्टार बने । तर यी स्टारकाे जीवनमा एक समय यस्तो आयो जब उनले बी ग्रेड फिल्ममा पनि काम गर्नु परेको थियो । अब वर्षौँपछि उनका छोरा मिमोहले बुबाले यस्तो निर्णय लिनुको कारण खुलाएका छन् ।

फिल्म उद्योगका चर्चित अभिनेता मिथुन चक्रवर्तीले आफ्नो करियरको कठिन दिनमा पनि हार मानेनन् । मिथुनका लागि करियर सुरु गर्न पनि सजिलो थिएन । करियरको सुरुवातमा  कालो वर्णका कारण उनले धेरै अस्वीकारहरूको सामना गर्नुपर्‍यो । तर करियरको सुरुमा कठिन परिस्थितिको सामना गर्ने उनी पहिलो कलाकार भने होइनन् । उनी तीमध्ये एक कलाकार हुन् जसले चर्चा पाउनुभन्दा अघि धेरै चुनौतीको सामना गरे । 

मिथुनलाई अभिनय पेसामा यतिसम्म गाह्रो भएको थियो कि एक पटक उनी बी ग्रेड फिल्ममा समेत काम गर्न बाध्य भएका थिए । यसका लागि उनले आलोचनासमेत झेल्नुपर्याे । अब उनका छोरा मिमोहले पिताले यो निर्णय लिनुको कारणबारे खुलासा गरेका छन् ।

मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा बुवाको सङ्घर्षका दिन देख्न नपरेकोमा आफू भाग्यमानी भएकाे बताएका छन् । ठुला स्टार भइसक्दा पनि उनका पिताले बी ग्रेड फिल्ममा किन काम गर्नुपरेको थियो भनेर उनले कुरा उठाएका छन् । मिमोहका अनुसार उनका पिताले परिवारको लालन पालनका लागि यस्ताे गरेकाे बताए । उनले भने, ‘बुवाले धेरै कुराको खर्च व्यवहोर्नु पर्दथ्यो । मेरो बुवा एक दिनमा चार सिफ्टमा काम गर्नुहुन्थ्यो । कति पटक त धेरै काम गरेका कारण डिप्रेसनमा नै जानुहुन्थ्यो ।’

फिल्म फ्लप हुँदा यस्तो थियो अभिनेताको हाल

हालै दिएको आफ्नो एक अन्तरवार्तामा मिथुनका छोरा मिमोहले भने, ‘मेरी आमा, बुवाको राम्रो र खराब दिनको साक्षी हुनुहुन्छ । फिल्म फ्लप हुँदा बुवा असाध्यै निराश हुने गर्नुहुन्थ्यो । आफ्नो हरेक चुनौतीलाई पूरा गर्नका लागि कडा मेहनत गर्दा पनि फिल्म फ्लप हुँदा बुवा नराम्रोसँग टुट्नुहुन्थ्यो । ’

उनी थप्छन्, ‘बुवाले एक दिनमा चार वटा सिफ्टमा काम गर्नुपर्दथ्यो । बुवाले नै भ्यानिटी भ्यानको कन्सेप्ट लिएर आउनुभएको थियो ।’

जब स्टारडम घट्दै थियो

मिमोहले यो कुरा सन् २००० को आसपास भएको बताए  । त्यतिबेला मिथुनको स्टारडम कमजोर हुँदै गइरहेको थियो । मिथुनले बी ग्रेड फिल्ममा काम गर्दासम्म उनले फिल्म उद्योगमा आफ्नो स्टारडम बाँचिसकेका थिए । मिमोहका अनुसार उनलाई यी फिल्ममा  अफर आउँदा परिवारको बारेमा मात्र सोचेर काम गरेका थिए ।

मिथुनले सन् १९७६ मा फिल्म मृग्याबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनले आफ्नो करियरमा अहिलेसम्म सयौँ फिल्म गरिसकेका छन् तर कुनै समय उनले क्लासिक डान्स अफ लभजस्ता बी ग्रेड फिल्ममा काम गर्नुपरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप