मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

कांग्रेस–एमाले समीकरण बन्ने ‘त्रास’ले एकीकृत समाजवादी र जसपा ‘बजेटमा ब्याक’ !

मङ्गलबार, १२ असार २०८०, १८ : ५१
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आएका सत्तारुढ तीन दल अन्ततः नाटकीय रूपमा थामथुम भएका छन् । गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गरेको बजेटका बारेमा सत्तारुढ गठबन्धनभित्र मुख्यगरी तीन दलले असन्तुष्टि राख्दै आएका थिए ।

बजेट संशोधन नभए पारित हुन नदिने चेतावनी दिँदै आएका जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र जनमत पार्टी अन्तिम समयमा आएर ‘ब्याक’ भएका हुन् । संसद्भित्र र बाहिरसमेत बजेटको चर्को आलोचना गरेका उनीहरू यतिबेला भने ‘गठबन्धनभित्र मिल्नुको विकल्प नरहेको’ बताउन थालेका छन् ।

विनियोजित बजेटमाथिको छलफलपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सकेर असार १३ गते बुधबार संसद्बाट बजेट पारित गर्ने सरकारको तयारी छ । बजेट पारित गर्ने सरकारको तयारीसँगै नेकपा एकीकृत समाजवादी र जसपा दुवैले आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ‘ह्विप’ नै लगाउने तयारी थालेका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीले बुधबार बिहान संसद् बैठक बस्नुअघि संसदीय दलको बैठक बोलाएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद समेत रहेका नेता मेटमणि चौधरीले बजेटको पक्षमा अनिवार्य मतदान गर्न दलको बैठक बोलाएको जानकारी दिए । ‘बजेट पारित नगरी सुखै छैन । अहिलेको अवस्थामा कतिपय असन्तुष्टि रहँदारहँदै पनि अघि बढ्नुको विकल्प छैन,’ सांसद चौधरीको भनाइ छ ।

एकीकृत समाजवादी मात्रै होइन, जसपाले पार्टी बैठकबाटै बजेट संशोधन नगर्दासम्म पास हुन नदिने निर्णय गरेको थियो । तर जसपा पनि अन्तिम समयमा बजेटप्रति ‘यु–टर्न’ भएको छ । सांसद प्रदीप यादवले जसपाले बजेटको पक्षमा मतदान गर्ने बताए ।

‘जसपाले बजेटको पक्षमा मतदान गर्छ । तर यसको आधिकारिक निर्णय भने बुधबार बस्ने दलको बैठकले गर्छ’, यादवको भनाइ छ ।

बजेटप्रति सत्तारुढ दलबाटै चर्को विरोध र असन्तुष्टि पैदा भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नै अप्ठ्यारोमा पर्ने अड्कलबाजी भइरहेको थियो । बजेटप्रति सत्तारुढ दलले गरेको विरोध र त्यही बेला भएको कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर यात्रालाई जोडेर प्रमुख प्रतिपक्ष दल एमालेका नेताहरूले प्रचण्ड नेतृत्वको सरकार कुनै पनि बेला ढल्न सक्ने अभिव्यक्ति दिएका थिए ।

देउवाको सिंगापुर यात्रालाई कतिपयले राजनीतिक समीकरण फेरबदलको कसरतका रूपमा बुझे पनि देउवा स्वदेश फर्केसँगै सत्तारुढ दलहरुबीच बजेटको विमति थाँती राख्दै पास गर्ने सहमति जुटेको हो । देउवा स्वदेश फर्किएपछि शनिबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा बजेट पास गरेर अघि बढ्ने सहमति भएको नेताहरूको भनाइ छ ।

‘शनिबार बालुवाटारामा भएको शीर्ष नेताको छलफलमा बजेट पास नगर्ने हो भने सरकार ढल्ने र त्यसको फाइदा एमालेले उठाउन सक्ने विश्लेषण भयो’, माधव नेपाल निकट एक नेताले बालुवाटार छलफललाई उद्धृत गर्दै रातोपाटीसँग भने, ‘यदि त्यस्तो अवस्था आउन नदिने हो भने सत्तारुढ दलले एक मतले बजेट पास गर्नुको विकल्प छैन भन्नेमा सबै सहमत हुनुभयो ।’

ती नेताका अनुसार शनिबार प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी र जसपाका नेतासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । ‘त्यो कुराकानीमा बजेट फेल हुँदा हुने सम्भावित क्षतिका बारेमा प्रधानमन्त्रीले उहाँहरूलाई कुरा बुझाउनु भएको थियो’, उनले भने, ‘बजेटकै कारण सरकार ढल्ने हो भने त्यसपछि एमाले र कांग्रेस मिल्ने र सरकार बनाउने ठुलो खतराबारे प्रधानमन्त्रीले सम्झाउनुभयो । त्यस्तो अवस्थामा माओवादी, जसपा र समाजवादी सबैको हैसियत नामेट नहोला भन्न सकिँदैन ।’

सोही छलफल अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेट संशोधन नभई पास हुने प्रतिक्रिया दिएका थिए । संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले असार १३ गते कुनै पनि संशोधनबिना बजेट पास हुने भन्दै आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको र त्यो आजको वास्तविकता भएको बताएका थिए ।

‘बजेट पास हुन्छ, त्यसमा दुई मत नै छैन । थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो’, मन्त्री महतले संसद् भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नमा भनेका थिए, ‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ ।’

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर आइतबार रौतहट पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि अहिलेको अवस्थामा मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै बजेटप्रति ‘यु–टर्न’ भएको संकेत गरेका थिए ।

‘अब मिलेर जानु बाहेक विकल्प छैन, सत्ता गठबन्धन मिलेर जानु पर्छ भन्ने हामी सबैको उद्देश्य पनि हो । फुटेको खण्डमा देश र जनतामाथि घात हुन्छ,’ अध्यक्ष नेपालको भनाइ थियो ।

शुक्रबार बेलुका नै अर्थमन्त्री डा. महत नेता नेपालको निवास कोटेश्वर पुगेर बजेट पारितका लागि नेपालसँग मद्दत मागेका थिए । जबकि उनै अध्यक्ष नेपालले जेठ २८ गते आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट नसच्चिए सरकार दुर्घटनामा पर्ने चेतावनीसम्म दिएका थिए ।

‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन’, अध्यक्ष नेपालले भनेका थिए । उनले केही नेताका जिल्लामा धेरै रकम विनियोजन गरेको भन्दै आफूलाई समेत रिस नमरेको बताएका थिए । ‘मलाई रिस मरेको छैन र यही पाराले जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि भन्ने डर छ’, नेता नेपालले भनेका थिए ।

त्यसअघि अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेरै बजेट सच्चाउन पटकपटक आग्रह गर्दै आएका थिए । नेपालको आग्रहपछि प्रचण्डले अर्थमन्त्रीलाई बोलाएर मिलाउन सक्नेजति मिलाउन सुझाव पनि दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप