‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन
झापा । जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् ।
गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो ।
जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले बताए । उनका अनुसार सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नं–१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ ।
केरा खेतीमा आत्मनिर्भर बनाउन थालिएको अभियानमा सहयोग पुर्याउने उद्देश्यले गौरादह नगरपालिकामा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन थालिएको बिरुवा उत्पादक संस्था फाइकस बायोटेक प्रालिका सञ्चालक दुर्लभ कार्कीले बताए । हालसम्म सरकारबाट कुनै सहयोग नलिएको उनले बताए । संस्थाले काठमाडौँको बूढानीलकण्ड नगरपालिका–२ र गौरादहमा उक्त प्रविधिको प्रयोग गरी केराका बिरुवा उत्पादन गरिरहेको उनले जानकारी दिए ।
सञ्चालक कार्कीले विसं २०७२ मा बूढानीलकण्ठमा ल्याब सुरु गरेको बताउँदै झापामा विसं २०७६ देखि सुरु गरेको बताए । उनले तत्कालीन राष्ट्रिय आलु विकास कार्यक्रमको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानी ल्याब सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार ल्याबका लागि रु दुई करोड लगानी गरिएको छ ।
“ल्याबबाट वार्षिक ८० हजार केराको बिरुवा र एक लाख आलुको बिरुवा उत्पादन हुने गरेको छ”, सञ्चालक कार्कीले भने, “टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्दा एकै पटक सामूहिक उत्पादन गर्न सकिने र कीटाणुरहित बिरुवा उत्पादन हुन्छ ।” यस प्रविधिबाट उत्पादन गरिने बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म राख्नुपर्ने उनले बताए । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै दुई महिनासम्म बिरुवा हुर्काएपछि मात्र रोप्न योग्य हुने उनको भनाइ छ ।
कार्कीले भने, “झन्झटिलो भए पनि यस्तो बिरुवाबाट उत्पादन गरिएको केराको बोटमा फल राम्रो लाग्छ र किसानले राम्रो आम्दानी गर्न सक्छन् । भारतबाट सस्तो मूल्यमा आयातित बिरुवाका कारण कहिलेकाहीँ बजारीकरणमा समस्या छ ।” उनका अनुसार ल्याबमा हाल १० जना स्थानीयले रोजगारी पाएका छन् ।
यहाँ उत्पादित केराको बिरुवा जिल्लामै खपत हुँदै आएको कार्कीले बताए । भारतबाट आउने सस्तो मूल्यको बिरुवाका कारण कहिलेकाहीँ विक्रीमा भने समस्या हुने गरेको छ ।
नर्सरीबाट जी नाइन, विलियम हाइव्रेड जातको बिरुवा प्रतिगोटा रु ३५ र मालबोक केराको बिरुवा प्रतिगोटा रु ६५ ले बिक्री गर्दै आएको कार्कीले जानकारी दिए । किसानले चैतदेखि भदौसम्म बिरुवा रोप्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण