सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चौपायालाई गौशाला छ, आहारा छैन

बुधबार, २० असार २०८०, ०७ : २०
बुधबार, २० असार २०८०

भजनी । कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ । 

भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छिन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन् । छ वर्षदेखि यही काममा लागेकी बोहराका अनुसार  चौपायालाई पर्याप्त आहारा नहुँदा समस्या भएको छ । “गौशालाको अवस्था दयनीय छ, खानलाई आहारा छैन ।”

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन् । गर्मीको समयमा मलमूत्र व्यवस्थापन गर्न सहज भए पनि बर्सातमा भने कठिन हुने गरेको उनी बताउछिन् । “चौपायाका लागि ट्रस्ट निर्माणको आवश्यकता छ, यसोगरे मलमूत्रको व्यवस्थापन गर्न सहज हुन्छ”, बोहराले भनिन् ।

सामुदायिक चौपायाको व्यवस्थापन गर्न समिति बनाइएको छ । त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ । मलमूत्र व्यवस्थापन गर्न र गोठाला गरी सात जना गौशालामा कार्यरत छन् । उनीहरुको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ । प्रतिव्यक्ति रु नौ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोका रुपमा एक वर्षदेखि काम गर्दै आएका छन् । चरनको भरमा बाँचेका चौपायालाई जङ्गलमा थेग्न मुस्किल हुने गरेको उनी बताउछन् ।

“खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो  हुन्छ”, चौधरी भन्छन्, “चौपाया खान नपाएर मर्ने अवस्था छ ।” उनले आफूहरु पाँचजना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताए । चौपायाको आहाराका लागि नगरपालिकाले रु दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका   छन् ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउछन्। उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गरे। “गौशालामा दुई सय ५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो”, उनले भने, “समितिसित पर्याप्त पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन् ।”

उसो त गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ । समितिले यसपटक गोबरबाट रु एक लाख २५ हजार आम्दानी गरेको छ । अझै केही गोबर बिक्री गर्न बाँकी छ । प्रतिट्र्याक्टरको रु पाँच हजारका दरले गोबर बिक्री हुन्छ । त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताए । व्यावसायिक रुपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाले सुरु गरेको गौशाला पछि उनीहरुले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको हो । नगरपालिकाले वर्षमा रु १५ लाखभन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ ।

भजनी नगरपालिकाको मात्रै होइन, कैलालीका अधिकांश स्थानीय तहमा गौशाला बनाइएका छन् । त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन । निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ, तर चौपाया व्यवस्थापनका नाममा भोकै प्यासै चौपाया दैनिक मरिरहेका छन् । चौपाया व्यवस्थापन राम्रोसित गर्न नसकिएको स्थानीय  रामप्रसाद शर्मा बताउछन् ।

उनले भने, “चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउँछ ।”
  
टीकापुर नगरपालिकामा भने स्थानीय युवाले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन् । व्यावसायिक रुपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाले चौपायाको आहाराका लागि घाँस खेती सुरु गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप