आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’को फोन कुर्दै ओली

सोमबार, २५ असार २०८०, १२ : ४१
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टेलिफोन प्रतिक्षामा बसेका छन् । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि प्रचण्डको फोन आउने प्रतिक्षामा ओली बसेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले गरेको अवरुद्ध सदन खुलाउन आइतबार सिंहदरबारमा भएको सहमति भाँडिएपछि पुन संवादका लागि प्रधानमन्त्रीबाट पहल हुने अपेक्षासहित ओली त्यसको प्रतिक्षामा बसेका हुन् । 

‘हामी प्रधानमन्त्रीको टेलिफोन कुरिरहेका छौ । किनभने सदन खुलाउन सरकारले बढी पहल गर्ने हो’, एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले रातोपाटीसँग भने, ‘अहिलेसम्म प्रधानमन्त्रीको घण्टी बजेको छैन, तर घण्टी बज्छ भन्ने प्रतिक्षामै छौ ।’  आइतबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासमेतलाई राखेर ओलीसँग सदनको अवरोध हटाउनेबारे छलफल र सहमति गरेका थिए । तर अध्यक्ष ओलीले सहमति गरेको आधा घण्टापछि सहमति भाँडिएको भन्दै प्रधानमन्त्रीलाई फोन गरेका थिए ।

उनले प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोही सन्दर्भमा गरेको ट्वीटको विषयलाई लिएर आपत्ति जनाउँदै माफी माग्नुपर्ने अडान राखेका थिए । त्यसपछि आइतबार दिउँसो ३ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक आज सोमबार ३ बजेलाई सारिएको थियो । ओली प्रचण्डको फोन आउने प्रतिक्षामा रहे पनि गरेको सहमति कार्यान्वयन नगर्ने ओलीलाई प्रधानमन्त्री फोन गर्ने पक्षमा नरहेको बुझिएको छ । 

‘गरेको सहमति आधा घण्टा टिक्दैन भने फेरि फोन गर्न वा संवादको पहल गर्न जरुरी नै छैन’, प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्य भन्छन्, ‘ओलीसँगको भेटवार्ता वा संवादका लागि अहिले कुनै योजना छैन ।’ नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले ओलीसँगको वार्ता र संवादबारे आफूसमक्ष कुनै जानकारी नआएको बताए ।  ‘हिजोको सहमति भाँडिएपछि थप अपडेट हामीसँग आइसकेको छैन’, प्रमुख सचेतक पाण्डेको भनाइ छ । 

के भएको थियो आइतबारको छलफलमा ? 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अध्यक्ष ओली, प्रचण्ड र देउवाबीच करिब २ घण्टा कुराकानी भएको थियो । छलफलमा बस्दा तीनै नेता हाँसी खुसी देखिन्थे । अन्य दिन भन्दा नेताहरूको अनुहार हाँसी खुसी देखिएपछि पक्कै सहमति हुन्छ भन्ने अपेक्षा नेता कार्यकर्ताहरूले गरेका थिए । संवादका क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रधानमन्त्रीको राजीनामा मागिसकेकाले अब त्यो अडानबाट पछि फर्कन नसक्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले राजीनामाको कल्पना समेत नगर्न भनेपछि नेताहरूबीच दुबै तर्फबाट फेस सेभिङ हुने गरी निकास खोज्न सकिनेबारे कुराकानी भएको थियो ।

सोही क्रममा एमालेले सदनको अवरोध हटाउने र प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने सहमति भएको थियो । तीन शीर्ष नेताका बीचमा भएको कुराकानीमा धेरैजसो समय ओली र प्रचण्डबीच नै सवाल जवाफ भए पनि देउवा भने मौन प्राय रहेका थिए । ‘निकास खोज्नुपर्छ, निकास....’ देउवाले यतिमात्र भनेका थिए । त्यसपछि नेताहरूबिच संसदीय समितिका सभापति चयनमा भएको ढिलाइ, विभिन्न विधेयकहरू अघि नबढ्दा भएका समस्या, मिटरव्याजविरुद्धको कानुन बनाउने विषय लगायतमा सहमतिबाटै अघि बढ्नुपर्नेमा नेताहरूबिच संवाद भएर उठेका थिए । तर सिंहदरबारबाट अध्यक्ष ओली बानेश्वर पुगे लगत्तै प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तिप्रति आपत्ति जनाएर सहमति तोडेको माओवादी र कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप