बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेको राजीनामा बटमलाइन डिसमिस : ‘यही त प्रचण्ड, अब गर्नुहुन्छ के ?’

सोमबार, २५ असार २०८०, २२ : ००
सोमबार, २५ असार २०८०

काठमाडौँ । कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन शीर्ष नेताबीचको संवादपछि झन्डै एक सातादेखि अवरुद्ध संसद् खुलेको छ ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने र एमालेले संसद् चल्न दिने सहमति भएअनुसार सोमबार अपराह्नबाट संसद् खुलेको हो । 

नेतात्रयबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधिसभामा झन्डै ५० मिनेट आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिए । उनले प्रतिपक्षले प्रश्न उठाएपछि आफू पहिला नै जवाफ दिन तयार भए पनि प्रतिपक्षले संसद् अवरुद्ध गरेर राजीनामा माग्दै सदन अवरुद्ध गरेकोमा गुनासो गरे ।  

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले यसअघि प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा नै बटम लाइन बनाएको थियो । तर अन्तिममा एमालेले स्पष्टीकरणमै चित्त बुझाउन पुगेपछि प्रचण्ड र एमाले दुवैका लागि स्पष्टीकरण फेससेभिङ्ग बन्न पुगेको छ । जसका कारण संसद्को अवरोध पनि खुल्न पुगेको छ ।

सोमबारको बैठकको सुरुमा एमालेका सांसद गोकुल बाँस्कोटा, दोस्रोमा रास्वपाका सांसद तथा सभापति रवि लामिछाने र राप्रपाका सांसद तथा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सभामुखले बोल्न समय दिए । बाँस्कोटा, लामिछाने र लिङ्देन तीनै जनाले  प्रचण्डको आलोचना गरेका थिए । सांसद बाँस्कोटाले प्रचण्डले तिरंगा उचाल्ने हो कि चन्द्र सूर्य झन्डा उचाल्ने हो स्पष्ट पार्नुपर्ने बताए । लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक भएको भन्दै त्यसको स्पष्ट जवाफ दिनुपर्ने बताएका थिए भने लिङ्देनले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । उनीहरू पछि संसदमा सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिको प्रष्टीकरणका साथै तीनै जना सांसदको जवाफ पनि दिए । 

‘मैले सुरुदेखि नै स्पष्टीकरण पार्नका लागि पर्खेर बसेको थिएँ । तर मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनेर किन भनियो मैले बुझ्न सकेको छैन । के यही हो संसदीय अभ्यास ?’, प्रचण्डले सम्बोधनको सुरुवात गर्दै भने । 

भावुक शैलीमा सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नी जेठी छोरी ज्ञानु बिरामी भएर उपचारका लागि दिल्ली लगेका बेला प्रितम सिंह र आफूबीच भएको भावनात्मक संवाद पुस्तक विमोचनका क्रममा स्मरण गर्न पुगेको प्रष्टीकरण दिए । त्यस क्रममा उनले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीले राजीनामा मागेको भन्दै प्रतिपक्षले राजीनामा माग्दैमा किन राजीनामा दिने ? भनेर प्रतिप्रश्न गरे । 

‘किन तीन दिनसम्म संसद् अवरोध गरियो ? मैले बुझ्न सकिनँ । के प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै दिनुपर्ने हो ? यही हो परम्परा र विधि ? के प्रतिपक्षीले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीलाई सदन समक्ष स्पष्टीकरणको मौका पनि दिन पनि नहुने हो ? यो मेरो प्रश्न मात्रै हो’, आक्रोश मिश्रित शैलीमा प्रचण्डले प्रतिप्रश्न गरे ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले असार १८ गतेको उक्त अभिव्यक्ति आफूले प्रधानमन्त्रीको हैसियतमा नदिएको पनि बताए । उनले त्यतिबेला आफू भावुक भएर बोलेको र त्यही नै प्रचण्डको विशेषता भएको पनि बताए । 

‘यहाँहरु सबैलाई थाहा छ म अलिकति भावनात्मक त छु नै । म अलिकति सेन्टिमेन्टल त छु नै । यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’, प्रचण्डले आफ्नो विशेषता झल्काउँदै भने, ‘थोरै भावनामा म आएँ ।’ 

उनले त्यो भावनाको कुरा भन्नुपर्ने जरुरी नभए पनि मनमा आएपछि भनेको सुनाए ।

प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा गल्ती स्वीकारेकाले सदनमा दिएको जवाफलाई पनि स्वीकार गरेको जनाएको छ । 

एमालेका प्रमुख सचेतक पदम गिरीले सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता गरेकाले स्वीकार गरेर अघि बढ्ने बताए ।

‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौँ’, गिरीले भने, ‘उहाँको गहिराइबाट त जवाफ आएको छैन । तर उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ । योसँगै एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर यसअघि बनाएको राजीनामाको बटम लाइन डिसमिस बनेको छ ।

‘प्रधानमन्त्रीले बोलेपछि अब राजीनामा डिसमिस बनेको छ । पहिला नै राजीनामा भन्नुहुन्थेन कि छोड्नुहुन्थेन’, एमालेका एक सांसदले रातोपाटीसँग भने, ‘हतारमा राजीनामा माग्ने काम नै गलत थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप