बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

हनुमान बनेपछि दारा सिंहले खान छोडिदिए मासु : सेटमा काजु खुवाउन दुई जना राखे, नायिका डराउँथे

बुधबार, २७ असार २०८०, १६ : १९
बुधबार, २७ असार २०८०

पहलवान, अभिनेता, निर्देशक तथा राजनीतिज्ञ दारा सिंहको आज ११ औँ पुण्य तिथि । उनी भारतका पहिलो अन्तर्राष्ट्रिय रेस्लर थिए, जसको नाममा धेरै ठुला कीर्तिमान छन् । ६ फिट २ इन्च उचाइ र १२७ केजीका दारा सिंहले ५०० प्रतिस्पर्धामा कहिल्यै हार देखेनन् भलै उनको अगाडि २०० केजी तौलका चर्चित पहलवान किङ कङ नै किन थिएनन् । किङ कङलाई उनले उठाए र रिङबाट बाहिर फ्याँके । यही उपलब्धिको कारण दारा सिंह विश्वभर प्रसिद्ध भए र रुस्तुम–ए–हिन्दको नाम पाए । रिङमा उनी जति उग्र र शक्तिशाली देखिन्थे, उनको वास्तविक चरित्र त्यति नै नरम र शीतल थियो ।

सुरुमा त अभिनेत्रीहरू उनीसँग काम गर्न पनि डराउँथे तर जब यी दारा सिंह हनुमान बने तब मानिसहरूले उनको पूजा समेत गर्न थाले । काजू र बदाम खुवाउनका लागि उनले सेटमा दुई जना मानिस राखेका थिए । २ लिटर दूध र आधा किलो मासु पनि उनको आहारमा समावेश थियो । तर, वर्षौँअघि आफ्नो सीपबारे थाहा नपाएका दारा सिंह कारखानामा मजदुरी गर्दथे ।

आज उनको पुण्यतिथिको अवसरमा दारा सिंह चौकीदारबाट कसरी अन्तर्राष्ट्रिय कुस्ती च्याम्पियन र त्यसपछि हिरो बने भन्नेबारे जानकारी लिऔँ । 

दारा सिंहको जन्म १९ नोभेम्बर १९२८ मा पन्जाबको धर्मुचक गाउँको सिख परिवारमा भएको थियो । उनको नाम दीदार सिंह रन्धवा राखिएको थियो । बाल्यकालदेखि नै अन्य बालबालिकाको तुलनामा उनको शरीर बलियो भएकोले उनको खानपान पनि अन्य बालबालिकाको तुलनामा बढी हुन्थ्यो । 

dara singh१४ मा विवाह, १७ मा बुबा बने

गाउँको परम्परा अनुसार अन्य बालबालिका जस्तै दारा सिंहको पनि १४ वर्षको उमेरमा सन् १९४२ मा बच्चु कौरसँग विवाह भयो । विवाहको तीन वर्षपछि १७ वर्षको उमेरमा दारा सिंह पिता बनेका थिए ।

परिवार बढ्दै गयो, त्यसैले कमाउने कुनै न कुनै माध्यम खोज्नुपर्ने भयो ।

किशोरावस्थामा दारा सिंहको उचाइ ६ फिट २ इन्च र तौल १२७ केजी थियो, यो व्यक्तित्वले किन कोही आकर्षित नहोलान् ? एक दिन उनको शरीरबाट प्रभावित भएर सिंगापुरको ड्रम बनाउने कारखानाले उनलाई काममा राख्यो । ड्रम फ्याक्ट्रीमा काम गर्दा उनले रेसलर हरनाम सिंहलाई भेटे । उनलाई दाराको शक्तिबारे अनुमान भइसकेको थियो । पहलवान हरनाम सिंहको सल्लाहमा दाराले उनीसँग तालिम लिएर कुस्ती खेल्न थाले । तालिम पूरा गरेपछि उनले विश्व च्याम्पियन बिल वरना, फिर्पो, जोन डिसिल्भा, रिकिडोजन, स्काई हाई ली जस्ता पहलवानहरूसँग कुस्ती खेले ।

२ लिटर दूध, आधा किलो मासु, घिउ र १०० बदाम आहारको हिस्सा 

आफ्नो बलियो शरीरलाई फिट राख्न दारा सिंहले दैनिक २ लिटर दूध पिउने गर्थे । यसबाहेक दैनिक आहारमा आधा किलो मासु, घिउ, ८–१० रोटी, १०० बदाम, काजू–किसमिस खाने गर्दथे । 

dara singh1हप्ताको एक दिन भोकै बस्ने गर्दथे

दारा सिंहको डाइट बलियो भए पनि उनी हरेक बिहान ब्रेकफास्ट गर्दैनन् । उनी बिहान  र बेलुकाको खाना मात्रै खाने गर्दथे । यस्तै, मेटाबोलिजम राम्रो बनाउनका लागि उनी हप्तामा एक दिन व्रत पनि बस्दथे । 

शरीर देखेपछि फिल्ममा काम पाउन थाले

विदेशमा कुस्ती खेल्दै आएका दारा सिंह भारतमा पनि चर्चित भइरहेका थिए । यही कारणले उनलाई हिन्दी फिल्ममा काम गर्ने अफर आउन थाल्यो । उनले १९५२ मा दिलीप कुमारको संगदिलबाट फिल्ममा डेब्यू गरेका थिए, यद्यपि उनलाई यो फिल्ममा स्टन्ट अभिनेताको भूमिका दिइएको थियो ।

dara singh2एक लाइन बोल्नका लागि रातभर जागा भएर अभ्यास गर्दथे

दारा सिंह एक विशिष्ट पन्जाबी व्यक्तित्व थिए । उनले पन्जाबी लवजमा हिन्दी पनि बोल्थे । फिल्ममा पहिलो पटक डाइलग दिएपछि उनको रातको निन्द्रा र शान्ति दुवै खोसियो ।

वास्तवमा दारा सिंहलाई दिइएको पहिलो संवाद थियो, ‘छोडिदिनुस्, यो के गर्दै हुनुहुन्छ ?’

निर्देशकले एक्सन भने र दाराले आफ्नो भारी स्वरमा भने, ‘छोडिदिनुस्, जे के गर्दै हुनुहुन्छ ।’

निर्देशकले चिच्याएर भने – कट ।

दारालाई पन्जाबी नभई हिन्दी बोल्नुपर्छ भनेर बुझाइयो । हरेक पटक एक्सन भनियो  र दाराको पन्जाबी संवाद पछि कट भनियो ।

dara singh3अन्ततः निर्देशक थाके र डबिङको लागि एक जना मानिस बोलाउनुपर्छ भने । त्यो दृश्य अर्को दिनको लागि छोडियो र अन्य दृश्यहरू खिचियो ।

प्याकअप भएपछि दारा सिंह सोचमा परे – मैले त राम्रोसँग नै भनिरहेको थिएँ, उनीहरुले किन बारम्बार दोहोराउन भनिरहेका थिए । यो प्रश्नको जवाफ खोज्दा खोज्दै उनको रात बित्यो । दारा चिन्तामा परेपछि उनले आफ्ना साथी अजित सिंह (रेसलर) लाई निद्राबाट उठाएर ‘मैले त राम्रै भनिरहेको थिएँ, निर्देशकले पहिलो सिनमा नै किन ओके भनेनन्’ भनेर सोधे । 

साथीले जवाफ दिए – दारा सुत । हामी पहलवान हौँ, हामीलाई डायलगले केही फरक पार्दैन ।’

भोलिपल्ट डबिङको क्रममा दाराले बुझे कि उनले जे होइन यो भन्नु पर्दथ्यो ।

दाराले धेरै पटक दोहोर्‍याए, ‘छोडिदिनुस् यो के गर्दै हुनुहुन्छ, छोडिदिनुस् यो के गर्दै हुनुहुन्छ ।’

जब हिन्दी बोल्छु भन्ने लाग्यो, तब दारा निकै उत्साहित भएर निर्देशककहाँ गएर भने, ‘अब म एकै चोटि गर्छु, तपाईं दृश्य सुरु गर्नुहोस् ।’

निर्देशक खुसी भए र केही समयपछि एक्सन भनेको आवाज आयो । 

दारा सिंहले डाइलग भने, ‘छोडिदेऊ, जे के गरिरहेको ?’

‘मैले सही समयमा हिन्दी किन बोल्दिनँ ?’ दारा आफैँले आशा मारे र यो लाइन डबिङ आर्टिस्टले बोले । यो किस्सा सीमा सोनीले बायोग्राफी दिदार आका दारा सिंहमा सेयर गरिएको छ ।

dara singh4हिरोइनलाई दारासँग फिल्म गर्न डर लाग्थ्यो

निर्देशक मोहम्मद हुसैन फिल्म फौलादमा दारा सिंहलाई मुख्य कलाकारको रूपमा लिन चाहन्थे । यसका लागि उनले दारालाई जसरी पनि मनाए तर कुरा नायिकामा अड्कियो । यो फिल्म जुन नायिकालाई प्रस्ताव गरे पनि या त उनीहरू दारासँग डराएर वा उनको अगाडि होचो देखिने डरले फिल्म अस्वीकार गर्दथे । थुप्रै नायिकाले फिल्म अस्वीकार गरेपछि यो भूमिका ५ फिट ६ इन्च उचाइ भएकी नायिका मुमताजसमक्ष गयो । मुमताज फिल्ममा आइसकेकी थिइन् तर उनले कहिल्यै मुख्य भूमिका पाएकी थिइनन् । उनले यो फिल्म पाएपछि उनले यसलाई स्वीकार मात्रै गरिनन् असाध्यै खुसी पनि भइन् । 

सन् १९६३ मा रिलिज भएको यो फिल्म सुपर हिट साबित भयो । यो जोडीलाई यति धेरै मन पराइएको थियो कि दुवै १६ फिल्ममा सँगै देखिए । आज पनि मुमताज आफ्नो सफल फिल्म यात्राको श्रेय दारा सिंहलाई दिन्छिन् । यो पनि भनिन्छ कि सँगै काम गर्दा दुवैले एक अर्कालाई मन पराउन थाले, तर यस बारे कुनै ठोस जानकारी छैन । यी दुईको परिवारबीच सम्बन्ध पनि गाँसियो, जब मुमताजकी बहिनीको विवाह दारा सिंहका भाइ एसएस रंधावासँग भयो ।

dara singh5काजू–बदाम खुवाउन राखेका थिए दुई व्यक्ति

फिल्मको सेटमा आफ्नो स्वास्थ्यबारे ध्यान राख्न दारा सिंहले दुई व्यक्ति राखेका थिए जसले उनी सँग–सँगै काजू–बदामको डिब्बा लिएर घुम्ने गर्दथे । हरेक १०–१५ मिनेटमा उनीहरू दाराको हातमा यो राखिदिन्थे र उनी हिँड्दा हिँड्दै यो खाने गर्दथे ।

नायक बनेपछि जीवनशैली बिग्रिएपछि अस्वीकार गरे थुप्रै फिल्म

केही सफल फिल्मपछि दारा सिंहलाई ठुला फिल्मको अफर आउन थाले, तर एक समय दारासँग यति धेरै फिल्म थिए कि उनले कसरत गर्ने समय पनि पाएनन् । त्यति बेला दारा फिल्मसँगै रेस्लिङ पनि खेल्थे । उनको ध्यान मोडिएको थियो । उनको सपना थियो विश्व विजेता बन्ने तर जब जीवनशैली नै बिग्रन थालेपछि दारा सिंहले सबै फिल्मको अफर अस्वीकार गरे र पुनः रेस्लिङतर्फ ध्यान दिए । 

dara singh6जब २०० केजीका किङ कङलाई १२७ केजी दारा सिंहले उठाए

सन् १९५५ मा दारा सिंहले ५०० जना व्यावसायिक रेसलरसँग लडे  । उनको अन्तिम प्रतिस्पर्धा विश्व च्याम्पियन किङ कङसँग भयो । धेरैलाई २०० केजीका किङ कङले १२७ केजीका दारा सिंहलाई पछार्छन् भन्ने लागेको थियो तर यसको ठिक विपरीत भयो । दाराले किङ कङलाई  आफ्नो दुवै हातले उचाले र रिङ बाहिर पछारे । यो खेल जितेपछि दारा सिंहले रुस्तम–ए–हिंदको उपाधि पाए । यसलाई कुस्तीको सबैभन्दा अविस्मरणीय क्षण भनिन्छ ।

मे २९, १९६८ मा जब दारा सिंहले लौ थेजलाई हराएर विश्व च्याम्पियनसिप जितेका थिए । अमेरिकी पहलवान लू थेज ३ पटक हेवीवेट च्याम्पियन थिए । हारेपछि उनले   दारा उत्कृष्ट भएकोले उनीसँग हार्दा आफूलाई कुनै आपत्ति नभएको बताएका थिए ।

विश्व च्याम्पियनसिपको सपना पूरा गरेपछि दारा सिंह फेरि फिल्ममा फर्किए । उनले सन् १९७० मा पन्जाबी फिल्म नानक दुनियाँ सब सुन्दर निर्देशन गरे र यसमा पनि महत्त्वपूर्ण भूमिका निभाए ।

dara singh7सञ्जीवनी पर्वत उचाल्नका लागि दारा सिंहभन्दा योग्य को हुन्थ्यो ?

८० को दशकमा जब रामानन्द सागरले रामायण टिभी शाे बनाउने सोच बनाए, तब सबैले शोमा हनुमानको भूमिकाका लागि दारा सिंहको नाम सुझाव दिए । दारा सिंहको कोमल स्वभाव र उनको कदका कारण नै उनलाई यसका लागि प्रस्ताव गरिएको थियो । दारा सिंहलाई हनुमान बनाउनुको अर्को एउटा कारण भने उनले पहिले नै पौराणिक फिल्म भीम सेन, भगवान् शिव र बजरङ्ग बलीको भूमिका निभाइसकेका थिए ।

अफर अस्वीकार गर्दै भनेका थिए, ‘सागर साहब, कुनै युवालाई लिनुहोस्, म ६० वर्षको भएँ’

रामानन्द सागरले दारा सिंहलाई फोन गरे र भने, ‘दारा म तिमीलाई हनुमान बनाउन चाहन्छु ।’ त्यसपछि दाराले जवाफ दिए, ‘सागर साहब, म अब ६० वर्ष पुगिसकेको छु, तपाईं कोही नौजवानलाई किन लिनुहुन्न ?’ रामानन्द सागरले पनि जिद्दी गरे दारालाई यसका लागि मनाए । तर समस्या त्यति बेला भयो जब धेरैजसो डाइलग संस्कृतमा राखियो । दारा सिंह हिन्दीमा त कमजोर थिए भने संस्कृत उनलाई धेरै गाह्रो भयो । यस्तोमा उनका सबै डायलगका लागि डबिङ आर्टिस्टलाई बोलाइयो । हनुमानको गेटअपमा आउन उनलाई दैनिक चार घण्टा मेकअप गर्नुपर्दथ्यो । 

सन् १९८६ मा रिलिज भएको टिभी सो रामायणमा हनुमान बन्दा दारा सिंहको चर्चा यति भयो कि उनी जहाँ जान्थे भगवान् भनेर आशीर्वाद लिने गर्दथे । 

dara singh8हनुमान बन्नका लागि बने शाकाहारी, निद्रामा बरबराउँथे डाइलग

 दारा सिंहले दैनिक आधा किलो मासु खान्थे तर हनुमानको भूमिका पाएपछि उनले मासु खाना छोडे । दाराले १९६१ मा सुरजित कौरसँग दोस्रो विवाह गरे, जसबाट उनका एक छोरा विन्दु दारा सिंह छन् । विन्दुले कोइमोई न्युज वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनका बुवाले मासु खान त्यागेको बताए । उनी हरेक बिहान एक घण्टा हनुमानको भूमिका अभ्यास गर्थे । सुटिङबाट फर्किएपछि पनि दारा सिंहले मेकअप हटाउँदैनथे । धेरै पटक उनी निद्रामा नै हनुमानका डाइलग बरबराउँथे । उनकी श्रीमतीले उनलाई उठाएर उनी सेटमा नभएर घरमा भएको सम्झाउने गर्थिन् ।

dara singh9मस्तिष्कमा समस्या भयो, डाक्टरले यस्तो भने

७ जुलाई सन् २०१२ मा दारा सिंहलाई हृदयाघात भयो  । उनलाई तुरुन्त कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गरियो । दुई दिनपछि रक्तसञ्चार कम हुँदा उनको मस्तिष्कमा समस्या आएको बताइएको । ११ जुलाई सन् २०१२ मा उनको समय धेरै बाँकी नरहेको भन्दै घर पठाए । अर्को दिन १२ जुलाई सन् २०१२ मा दारा सिंहले परिवारको माझमा मृत्युवरण गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप