सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आइसिटी अवार्ड २०२३’ को अनलाइन आवेदन खुला, १३ विधामा अवार्ड

सोमबार, ०१ साउन २०८०, ११ : ४७
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । आठौँ संस्करणको आइसिटी अवार्डका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’ का लागि सोमबारदेखि आवेदन खुला भएको हो ।  यस वर्ष थप एक विधा सहित १३ विधाहरूमा नोमिनेसन खुला गरिएको आयोजकको छ । 

प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गत वर्षदेखि दक्षिण एसियाली देशहरूका स्टार्टअपहरूलाई लक्षित गरेर साउथ एसिया आइसिटी अवार्ड पनि सञ्चालनमा रहेको छ । 

यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यी बाहेक यस वर्ष स्टार्टअप तथा इनोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एन्ड इनोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन् । व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरूमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुला गरिएको छ । 

संस्थागत विधाहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड(पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड(प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन् ।

 यसै गरी साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनमा पनि नोमिनेसन खुला गरिएको छ । यी विधाहरूमा अफिसियल वेबसाइट www.ictaward.org. मार्फत अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको छ । 

आइसिटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरूमध्ये सबैभन्दा वृहत्, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरू सञ्चालन हुनेछन् । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरूमा उत्कृष्ट १० प्रतिस्पर्धीको टेलिभिजन शो पनि प्रसारण हुनेछ । सातै प्रदेशमा गएर आयोजकले स्थानीय स्टार्टअपहरू खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरूलाई काठमाडौँमा बुटक्याम्प र मेन्टरिङ सेसनहरू पनि सञ्चालन गर्नेछ । यसै गरी एक महिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौँमा प्रि-इभेन्टको रूपमा स्टार्टअप एन्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष लम्सालले बताए । 

अवार्ड छनौट प्रक्रियाको क्रममा, सर्वोत्कृष्ट छनौटको लागि जुरी समितिले सम्बन्धित संस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययन समेत गर्नेछ । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरू सहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरु रहेका छन् । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका देशहरूबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रक्रिया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्पर्धी ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप