शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अनुशासनको कारबाही

उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहालाई जनमतले चलायो कारबाहीको डण्डा

बिहीबार, ०४ साउन २०८०, ०८ : ५५
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ । 

कारबाहीमा पर्नेमा उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध लडेका शिवचन्द्र कुशवाह पनि रहेका छन् । कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । संसदीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार समेत रहेका कुशवाह उपनिर्वाचनकाे मुखमा जनमत पार्टी प्रवेश गरेका थिए । 

त्यस्तै सप्तरीका जनमत पार्टीका पुराना नेता गुलाब मण्डल मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ ।

कारबाहीमा परेका शङ्कर खड्का  जनमत पार्टीका स्थानीय कार्यकर्ता थिए । उनले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि पार्टीको सदस्यबाट निलम्बन गरिएको छ ।

सचिवालय सदस्य समेत रहेका भोपेन्द्र यादव (रुपन्देही)ले पार्टीको केन्द्रीय निर्देशन उल्लङ्घन गरेको र गर्न लगाएको तथा पार्टीभित्र गुटबन्दी गरेको भन्दै उनलाई केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरेको छ भने कपिलवस्तुका भगवान् दास यादवलाई पनि पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ । उनले पार्टीको बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनताको काम पटक पटक गरेको भन्दै उनलाई कारबाही गरिएको जनमतले जनाएको छ ।

अनुशासन समितिका प्रमुख दीपकुमार साहले पार्टीको विधान, नियम, नीति तथा निर्देश विपरीत जाने छुट कसैलाई नरहेको बताए ।

छानबिन समितिले दिएको प्रतिवेदन र गरेको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गरिएको उनले बताए । 

janamat

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप