सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमतका सचिव यादवलाई पार्टीले कारबाही गरेपछि कार्यकर्ता आक्रोशित

शुक्रबार, ०५ साउन २०८०, १८ : ०२
शुक्रबार, ०५ साउन २०८०

बुटवल । जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवलाई कारबाही गरेपछि कार्यकर्ता र समर्थकहरू आक्रोशित भएका छन् । 

पार्टीले यादवलाई कारबाही गरेपछि कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् । गुटबन्दी गरेको भन्दै केन्द्रीय सचिवालयको बैठकले यादवलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो । 

यादवले लुम्बिनी प्रदेशमा संगठन बलियो बनाउन सिके गुप्तालाई साथ दिएपछि पछिल्लो समयमा गुटबन्दी गरेको  केन्द्रीय अनुशासन समितिका प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यादवलाई निलम्बन गर्ने निर्णय भएलगत्तै पार्टीको केन्द्रीय नेतृत्वसँगै पश्चिम मधेस रुष्ट बनेको छ । 

रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियाका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा विरोध गरेका हुन् ।  बर्दिया घर भएका जनमत पार्टीका केन्द्रीय सदस्य मान्साराम यादवले कारबाही गर्नु गलत भएको बताए । उनले सामाजिक सञ्जालमा लेख्दै अनुशासनको नाममा व्यक्तिगत स्वतन्त्रता हनन गर्न नपाइने बताए । 

शिक्षक जनमत संघका केन्द्रीय सदस्य रामदेव यादवले भूपेन्द्र पार्टीमा संगठन बनाउन सक्ने, लामो समयदेखि काम गरेको भएपनि केन्द्रले किन कारबाही ग¥यो भन्ने आफूहरू अलमलमा परेको रातोपाटीलाई बताए । 

उनले भने, भूपेन्द्रको केन्द्रीय अध्यक्षसँग पनि राम्रो सम्बन्ध थियो संगठन पनि राम्रो बनाउने काम भएको थियो । किन कारबाही गरे म आफै अचम्म छु ।  मंसिरमा भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ प्रतिनिधिसभामा उठेका यादव लोसपाका सर्वेन्द्र नाथ सुक्लासँग पराजित भएका थिए । 

स्वतन्त्र मधेस गठबन्धनदेखि जनमत पार्टीसम्मको एघार वर्षको यात्रामा यादवले डा. सिके राउतलाई सधैँ साथ र सहयोग गर्दै आएका थिए । यादवले पार्टीले आयोजना गरेका विभिन्न आन्दोलनहरूमा दर्जनौँ पटक जेल जिवन बिताए पनि कारबाहीबारे आफ्नो कुनै प्रतिक्रिया नरहेको रातोपाटीलाई बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप