शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

बैठकमा गुटको प्रतिरक्षा गर्ने मनोविज्ञान देखियो : प्रदीप पौडेल

‘कार्ययोजना कार्यान्वयन भएन भने सभापतिमात्र होइन, महामन्त्री पनि दोषी हुनुहुन्छ’
बुधबार, १० साउन २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा गुटको प्रतिरक्षा गर्ने मनोविज्ञान देखिएको बताएका छन् । बैठकको ‘लाइभ’ गर्ने कुरा राम्रो सुरुवात भए पनि केन्द्रीय सदस्यको धारणा गुटगत मनोविज्ञानबाट आएको उनको भनाइ छ ।

नेता पौडेलले २०८२ सालमा हुने १५ औं महाधिवेशनका लागि आजबाटै पार्टी सदस्यताको समस्या हल गर्दै जानुपर्ने बताए । यस्तै उनले भुटानी शरणार्थी प्रकरणमा पुपक्र्षमा रहेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई बैठकले निलम्बन गर्नुपर्ने बताए । प्रस्तुत छ, कांग्रेसको केन्द्रीय समिति बैठकमै केन्द्रित रहेर केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारणको विषय चर्चामा छ । पार्टी रुपान्तरण गर्छु भन्ने युवाबाट नभइ तपाईहरुले ‘यथास्थितिवादी’ भन्ने गरेका पार्टी सभापति शेरबहादुर देउवाबाट त्यो प्रस्ताव आयो । सभापतिलाई अलि बढी गाली गर्नुहुन्थ्यो । प्रत्यक्ष प्रसारण गर्दा तपाईहरुलाई गाह्रो भयो भन्ने छ नि ?

होइन । त्यो गलत हो । नेपालमा आफ्नो बैठक लाइभ गर्ने राजनीतिक दलका रुपमा कांग्रेस पहिलो भएको छ । नेपाली कांग्रेस गोप्य बैठक गर्ने पार्टी होइन । पार्टी समापतिविरुद्ध बोल्न डराउने भन्ने हाम्रो पार्टीमा विगतमा पनि थिएन । लाइभ गरेजस्तो सबै खुला पनि भएन । अब लाइभ भएपछि सबै कुरा पारदर्शी ढंगबाट आम नागरिकले देख्न, सुन्न पाउने गरी नेपाली कांग्रेसको बैठक सञ्चालन भयो । अहिले त्यही ढङ्गले अगाडि बढ्नुपर्छ ।

हामीले लाइभको कुरा नगरे पनि त्यही ढङ्गको पारदर्शिताको कुरा गर्दै आएका थियौँ । सभापतिका बारेमा केही भन्न पाइएन भन्ने कुरा हाम्रो सन्दर्भमा कहिल्यै लागू नै हुँदैन । लाइभ हुनुभन्दा अगाडि पनि सभापतिलाई सच्याउनका लागि मर्यादित हिसाबले भनिरहेकै कुरा हो । अहिले बैठकमा पनि हामीलाई लागेको कुरा नभनेको अवस्था छैन ।

यो बैठक लाइभ गर्ने प्रस्ताव कसरी अगाडि आयो ?

लाइभ गरे पनि बैठकको सबै कुरा बाहिर आइहाल्छ । त्यो भन्दा लाइभ नै गरौँ भनेर सभापतिले भन्नु भएको हो । सार्वजनिक रुपमा भन्नुपर्दा बैठकको लाइभ गर्ने कुरा गर्व गर्न लायक नै छ । नेपालमा अहिलेसम्म आफ्नो बैठक लाइभ कसैले गरेका थिए र ?

बैठक लाइभ गर्दाको दुष्परिणामबारे केही सोच्नु भएको छ ?

पार्टीको आन्तरिक जीवनमा यसले पार्ने प्रभाव हेर्न बाँकी छ । कतिपय रणनीतिक कुरा हुन सक्छन् । त्यसमा खुला ढङ्गले छलफल गर्न गाह्रो हुन्छ । तर पनि हामीलाई यो ढङ्गले अभ्यास गर्दा त्यस्तो लागेको हो । अभ्यास नै खुला ढङ्गले गर्न थाल्यौँ भने गाह्रो हुँदैन होला ।

कतिपयले छ्याङ्गै हुनु राम्रो हो तर नाङ्गै हुनु त राम्रो होइन, बैठक लाइभ गर्ने कुराले कांग्रेसलाई नाङ्गै बनाउने भयो भन्छन् नि ?

यहाँ आफ्नो पार्टीको नेताले गलत गरे पनि बोल्नुहुन्न । अरुको कुरा मात्र गर्नुपर्छ । प्रतिस्पर्धा अरुसँग भएकाले त्यसलाई तल झारेपछि आफू बल्ल माथि जान सकिन्छ भन्ने भाष्य हाम्रो राजनीतिमा विगतदेखि विकसित गरिँदै आयो । यो खासगरी बन्द समाजमा हुन्छ । लोकतन्त्रको वकालत नगर्ने राजनीतिक दलमा हुन्छ । हामीले त समाजलाई खुला बनाउन खोजेको हो ।

pradip paudel 1

हाम्रो पार्टी आफैँ सच्चिएन, आफैँले राम्रो काम गरेन, आफैँभित्रका बेथिति अन्त्य भएन भने अरुले अन्त्य गर्नुपर्छ भनेर भन्न मिल्छ त ? बैठकको लाइभ गर्ने कुरा राम्रो सुरुवात हो ।

एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा निर्वाचन र विकसित राजनीतिबारे समीक्षा गर्नुपर्नेमा सभापति भर्सेस महामन्त्रीमा छलफल केन्द्रित भएको देखियो नि ?

बैठक एजेण्डामा केन्द्रित भयो वा भएन भन्दा पनि हामीकहाँ गुट छ । एजेण्डा भन्दा पनि गुटको नेतृत्वले गरेको काम ठिक हो भन्ने छ । गुटको प्रतिरक्षा गर्ने मनोविज्ञान बढी पाइन्छ ।

तपाईहरु दाजु–भाउजू (सभापति देउवा दम्पत्ती)लाई गाली गर्ने र सभापति पक्षकाले प्रतिवाद गर्ने काम भयो हैन त ?

हामीले दाजु–भाउजूलाई गाली गरेको छैन । व्यक्तिगत रुपमा म त्यस्तो कुरामा विश्वास पनि गर्दिनँ । बैठक लाइभ हुँदै गयो भने गुटको प्रतिरक्षा गर्ने मनोविज्ञान रहँदैन । बैठकमा विषयमा बोल्नुपर्ने रहेछ, ठोस विषयमा बोल्नुपर्ने रहेछ, आम मान्छेले हामीलाई हेरिरहेका छन्, मिडियाले हामीलाई हेरिरहेको छ, यहाँ बोलेको कुराले मेरो पोस्चर बन्छ, मैले गरेको कुरामा पछि जवाफदेही बन्नुपर्छ भन्ने हुन्छ ।

बालकृष्ण खाणलाई फसाइएको भन्ने एक पक्षले बैठकमा कुरा राख्दा अर्को पक्षले निलम्बन गर्नुपर्छ पनि भनेको सुनियो । कांग्रेस बैठकले के निर्णय गर्ला ?

बालकृष्ण खाणलाई फसाइयो भनेर त कसैले भनेन । खाणको प्रतिरक्षा गर्नुभएन । पक्राउ गर्ने कुरा ठिक हो भन्नुभयो भनेर कुरा आयो होला । त्यसरी ध्रुवीकरण भएको स्थिति थियो । हामीले केहीले यो नैतिक प्रश्न होइन, कानुनी प्रश्न हो भन्यौँ । त्यसमा कानुनले जे भन्छ, त्यो कुरा गर्नुपर्छ ।

राज्यको पदमा भएको मान्छे निलम्बित हुँदा पार्टीको पदमा भएको मान्छे निलम्बित नहुँदा हामीले नै कानुनलाई नमानेको हो कि जस्तो देखिन सक्छ भनेर हामीमध्ये केहीले यो कोणबाट कुरा गर्‍यौँ । केहीले हाम्रो पार्टीको साथी हो । कहिले काहीँ अप्ठ्यारोमा पर्न सक्छ । त्यो ढङ्गबाट बुझ्नुपर्छ भन्ने कुरा त्यहाँ आयो । सारमा यो भावनात्मक कुरा होइन । कानुनी विषय हो । पार्टीको छवि बनाउने विषय हो । यस्तै कुराले हाम्रो पार्टीको छविमाथि दाग लागेको हो ।

व्यक्तिगत रुपमा बालकृष्ण खाण निर्दोष भइदिए हुन्थ्यो भन्ने मलाई पनि लाग्छ । तर, त्यसको नाममा पार्टीमाथि प्रश्न उठ्ने स्थिति बन्न दिनुहुँदैन । व्यक्तिले गल्ती गर्न सक्छ, पार्टी त्यसको भागेदार हुन सक्दैन ।

पार्टीलाई गल्ती गरेको भनेर सन्देश दिन मिल्दैन । यस्ता केसमा पर्नु भएकाहरुले पार्टीको छवि सुधार्नका लागि आफैँले पार्टीसँगको सम्बन्ध केस नटुङ्गिएसम्म त्याग्नुपर्छ । त्यो भएन भने पार्टीले नै छोडाउनुपर्छ भन्ने मलाई पनि लाग्छ ।

बालकृष्ण खाणलाई कांग्रेसले निलम्बन गर्छ त ?

जार्नुपर्छ भन्ने हाम्रो कुरा हो । त्यो कुरा बहुमत सदस्यबाट आएन । यो कुरा म स्वीकार गर्छु । निर्णय के हुन्छ, म अहिले भन्न सक्दिनँ ।

अदालतमा भएको विषयमा हामीले किन हात हाल्ने भन्ने कुरा छ । जे गर्छ कोर्टले गर्छ भन्ने कुरा पनि छ । तर फौजदारी कसुरमा अनुसन्धान भइरहेकाले हामीले निलम्बन गर्नुपर्छ र न्यायिक छानविनलाई सहयोग पुर्‍याउनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

बालकृष्ण खाणलाई निलम्बन गर्न सकियो । उनी दोषी ठहरिए भने भोलि शेरबहादुर देउवाको क्याम्प नै कमजोर हुन्छ । अनि पार्टी कब्जा गर्न सकिन्छ भन्ने पनि होला नि हैन ?

कसैको क्याम्प कमजोर हुने, बलियो हुनेसँग यो जोडिएको छैन । यो कुनै बनाइएको मिथ्या कुरा हो र ? यो त एउटा घटनाक्रम हो । त्यो यहाँसम्म आएको छ । यसले हाम्रो पार्टीमाथि केही प्रश्न उठाएको छ । आम नागरिकले यसबारे हाम्रो पार्टीले केही गरोस् भन्ने चाहन्छ ।

आज निलम्बन गर्दैमा भोलि अदालतमा निर्दोष साबित हुनुभयो भने अहिलेको पदमा पुनर्वहाली हुनुहुन्छ । हामीले निलम्बन गर्र्दैमा अदालतीय प्रक्रियामा असर पर्छ भन्ने कुरा होइन । हाम्रो पार्टीले भ्रष्टाचारजन्य कुनै पनि विषयमा शून्य सहनशीलताको नीति लिएको छ । आफ्नै साथी भए पनि छाड्दैन भन्ने सन्देश दिनुपर्छ । हामी द्विविधामा पर्नु हुँदैन ।

बालकृष्ण खाणमाथिको अनुसन्धानमा हामी असहमत छौँ भने सरकारमा बस्नु भएन । एकथरी मान्छे सरकारमा गएर मन्त्री हुने र त्यही सरकारको प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध मैले जेहाद छेडेको छु भन्नुभएको छ । त्यही सरकारमा बस्ने मान्छेले आफैँले गरेको काम ठिक हो भनेर भन्न नसक्ने द्विविधाग्रस्त कुरा हुन्छ । आम नागरिकले सबै कुरा हेरिरहेको छ । हामीले लुकाउनुपर्ने कुरा केही छैन ।

निर्वाचनको समीक्षा के गर्नु भयो त ?

यो केही ढिलो भइसकेको छ । तर नेता गोपालमान श्रेष्ठले प्रतिवेदन पेस गर्नुभएको थियो । त्यसमा केही साथीहरुले गठबन्धन गरेर पनि पार्टीलाई पहिलो बनाउनु भयो । त्यसकारण सभापतिलाई सफलताका निम्ति बधाई र धन्यवाद भन्नु भयो । केही झिनो मत गठबन्धनको प्रक्रियाले अझ कमजोर बनायो । यो गठबन्धन अब अन्त्य गरिनुपर्छ भन्ने कुरा पनि आयो ।

त्यस्तो तल झरेको पार्टीलाई पहिलो पार्टी बनाउने सभापतिलाई धन्यवाद पनि दिन नसक्ने ? धन्यवाद दिन किन कञ्जुस्याइँ गर्नुहुन्छ ?

यो कुरा यही चुनावसँग मात्र जोडिएको छैन । यो चुनावमा हामी पहिलो भयौँ । गठबन्धनले परिणाम राम्रो ल्यायो । हामीले भोट त हसियाँ हतौडामा पनि त हाल्न सिकायौँ । हामीले कसैसँग गठबन्धन गर्न बाँकी राखेनौँ । अर्को पटक गठबन्धन भएन भने हामी के भन्छौँ त ? गठबन्धन गर्ने कुराले हामीलाई दीर्घकालीन रुपमा असर गरेको छ ।

महामन्त्री गगन थापाले ०८२ सालमा १५ औं महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ । त्यो सम्भव छ ?

हामीले कुनै हालतमा ०८२ मा महाधिवेशन गर्नुपर्छ । ०८२ अधिवेशनको समय हो । हामीले चाहँदा ४ वर्षमा अधिवेशन गर्न सक्छौँ । त्यसका लागि यो बीचमा सदस्यताको काम गर्नुपर्‍यो ।

०८२ सालसम्म वडादेखि केन्द्रसम्मको अधिवेशनको तयारी पूरा गर्नुपर्छ । त्यसका लागि महामन्त्री र केन्द्रीय समितिको पनि भूमिका हुन्छ । हामीले सदस्यताको विषय टुङ्ग्याएर महासमितिमा लग्यौँ भने ०८२ मा महाधिवेशन गर्न सकिन्छ । स्थानीय तहको निर्वाचन अगाडि अधिवेशन सम्पन्न गरिसकेको हुनुपर्छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको नेतृत्व नयाँ नेतृत्व गर्दा परिणाम राम्रो आउँछ ।

गगन थापालाई सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनिहाल्नुपर्ने हतारो किन लागिरहेको छ ?

यो हतारो, छिटो, पर्खिने भन्ने कुरा होइन । यो प्रक्रियाले निर्धारण गर्ने कुरा हो । सबैको महत्त्वाकांक्षा छ । हुन सबै खोजिरहेको स्थिति हो । को हुने भन्ने कुरा प्रक्रियाले कसलाई बनाउँछ भन्ने कुरा हो ।

मलाई के लाग्छ भने– उहाँले आँट गर्नुभयो । यसलाई सकारात्मक रुपमा लिन्छु । मलाई पनि हुन मन थियो । मैले परिस्थिति निर्माण गर्न सकिनँ । प्रतिस्पर्धामा पालो आउँछ भन्ने कुरा होइन । आफूलाई प्रस्तुत गर्ने हो । अस्ति संसदीय दलमा उहाँले प्रतिस्पर्धा गर्नुभयो । त्यो एकदम स्वाभाविक थियो । त्यसले कांग्रेसको पछिल्लो पुस्ता प्रतिस्पर्धी भएर आयो भन्ने देखायो । संसदीय दलमा कांग्रेसमा मात्र चुनाव भयो । अरु कुनै दलमा भएको छ ? कांग्रेस विधिबाट सबै कुरा अबलम्बन गर्ने पार्टी हो ।

भदौमा पार्टीका निकायलाई पूर्णता दिने कुरा पनि छ । त्यो नभएपछि के हुन्छ ? पार्टीको विधानको कुरा त भएको छैन भने महामन्त्रीको अल्टिमेटम पूरा हुन्छ ?

यो भन्दा अगाडि पनि दुई–तीन पटक भएन । हामीले धेरै विषयमा छलफल गरेका छौँ । अब यसले सभापतिलाई दबाब दिन्छ । कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेन भने स्वतः बदर हुने स्थिति हुन्छ । बदर गराउने गरी हामी अगाडि बढ्छौँ ।

महामन्त्रीले पदाधिकारीसँग सल्लाह गरेर कार्यतालिका पेस गर्नु भएको छ । अब त्यो पास हुन्छ । केन्द्रीय कार्यसमितिले पास गरेको कार्ययोजना कार्यान्वयन भएन भने सभापतिमात्र होइन, महामन्त्री पनि दोषी हुनुहुन्छ । पदाधिकारी पनि दोषी हुन्छ ।

विधान अनुसार कुनै काम भएको छैन । महामन्त्रीको कार्यतालिका कसरी कार्यान्वयन हुन्छ ? पत्याउने आधार के छ ?

उहाँहरुले आफ्नो भूमिका नगरेका कारणले आलोचना भएको होइन । सभापतिको काम समयमा गराउने कुरामा उहाँहरुले दबाब दिन नसकेका कारण आलोचना भएको हो । विभाग बनाउने, केन्द्रीय समितिलाई पूर्णता दिने, भ्रातृ संस्था गठन र विस्तारको अधिकार सभापतिलाई छ ।

दोषको प्रतिशत ज्यादा सभापतिकै हो । तर महामन्त्रीले पनि कुनै जिम्मेवारी लिनुनपर्ने अवस्था होइन । अहिले बैठकले सभापतिलाई समयमा काम गरिएन भने धेरै ठूलो दबाबमा परिने रहेछ भनेर बोध गराएको छ ।

यो बैठक सकिएपछि नेपाली कांग्रेसको आन्तरिक जीवनमा केही परिवर्तन हुने सम्भावना छ ?

सदस्यता दिने होइन लिने अवस्था बनाऔँ । पार्टीलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाऔँ भनेर मैले प्रस्ताव गरेको थिएँ । यसलाई महासमितिमा लिएर गयो भने कांग्रेस परिवर्तनको बाटो हिँडिरहेको सन्देश जान सक्थ्यो । संविधान संशोधनको विषय पनि छ ।

समानुपातिक र समावेशी प्रतिनिधित्व प्रत्यक्ष निर्वाचनबाटै सुनिश्चित गरी संसदको संख्या प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशमा पनि घटाउनुपर्छ । मन्त्रीको पनि संघ र प्रदेशमा संख्या घटाउनुपर्छ । यो सबै विषयलाई केन्द्रीय समिति बैठकले स्वामित्व लिन सकेको भए कांग्रेस एकदमै परिवर्तन भएर आउँदै छ भन्ने सन्देश जान सक्थ्यो ।

सरकारको आलोपालोको कुरा छ । प्रचण्डपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहोला । तर गगन थापाले प्रधानमन्त्री म हुनुपर्छ भनिराख्नु भएको छ । त्यो सम्भावना छ ?

अहिलेसम्म संसदीय दलको नेता हाम्रो सभापति श्रद्धेय शेरबहादुर देउवा नै हुनुहुन्छ । सरकार आजभोलि नै परिवर्तन भयो, कांग्रेसले नेतृत्व गर्ने अवसर पायो भने प्रधानमन्त्री हुने शेरबहादुर देउवाज्यू नै हो ।

यसको अवधि लामो भयो र बीचमा संसदीय दलको नेता फेरिन सक्यो, गगनजी आउनुभयो भने प्रधानमन्त्री उहाँ हुनुहुन्छ । प्रधानमन्त्री को हुने भन्ने कुरा हाम्रो पार्टीले निर्दिष्ट गरेको छ ।

संसदीय दलको नेता नफेरिएको अवस्थामा शेरबहादुर देउवाज्यू नै प्रधानमन्त्री हुने हो । अब गगनजीले भन्नु भएको छ– म पहिले पनि लडेको हुँ । फेरि पनि अरुलाई लडाउने प्रयत्न गर्छु ।

अरु कोही लड्न तयार हुनु भएन भने म आफैँ लड्छु भन्नु भएको छ । यो हाम्रो आन्तरिक कुरा भयो । गठबन्धनमा प्रचण्ड सरकारलाई विश्वासको मत दिँदा जे सहमति भएको छ, कांग्रेस त्यसमा इमानदार छ । तर, हामी सरकार चलाउनका निम्ति, सरकारमा बस्नका निम्ति बस्ने होइन । सरकार सरकार जस्तो पनि देखिनुपर्छ ।

गठबन्धनमा तपाईहरुले पार्टनर परिवर्तन गर्न सक्नुहुन्छ ?

सरकार चित्तबुझ्दो भएन भने परिवर्तनका कुरा आउन सक्छ । अहिले हाम्रो पार्टी प्रस्ट हुनुपर्‍यो । हामीले गर्न खोजेको के हो ? यो सरकारले के गरेन ? हाम्रो पाटो गरेन कि अरुको पाटोबाट गरेन ?

केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलले मझदारको कुरा गर्‍यो भन्ने आयो । सभापतिलाई पनि नचिढ्याउने र महामन्त्रीलाई पनि नचिढ्याउने खालको भयो भन्ने छ नि ?

मैले प्रस्टै बोलेको छु । व्यक्ति चिढिने वा रिझिनेसँग मलाई मतलब छैन । मैले आफ्नो विषय राख्ने हो । को रिझियो, को बेखुसी भयो भन्ने म जान्दिनँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया