बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा बैठक : लम्पी स्किनदेखि सुन काण्डसम्मको चर्चा

बुधबार, १० साउन २०८०, १९ : १२
बुधबार, १० साउन २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाले ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई दफावार छलफल गर्न सामाजिक विकास समितिमा पठाएको छ ।  

बुधवार बसेको दोस्रो अधिवेशनको २१ औँ बैठकले सर्वसम्मत रूपमा दफावार छलफल गर्न सामाजिक विकास समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको हो।

बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले “स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्तीले  निर्णयार्थ प्रस्तुत गरेका थिए। 

बैठकमा  प्रदेशसभा सदस्य विष्णु पन्थीले  बजेटमा थुप्रै  बतासे योजना रहेको भन्दै ती योजना हटाएर महत्त्वपूर्ण योजनामा बजेट दिन माग गरे। 

प्रदेशसभा सदस्य जमुना ढकालले दाङमा एक वृद्ध महिला बलात्कार भएको घटनामा प्रदेश सरकारको  ध्यानाकर्षण  गराइन् । उनले  स्वास्थ्य बीमाको सम्झौता अस्पतालले लागू नगरेको बताइन् । 

अर्का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगरले निजामती कर्मचारी विधेयक व्यापक छलफल गरेर निर्णयमा पुग्नुपर्ने आवश्यक रहेको औंल्याए । उनले किसानले मल समयमा नपाएको गुनासो आएको भन्दै सहकारीमार्फत् वितरण  गर्दा पारदर्शी हुनुपर्ने बताए । 

प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले सुन तस्करीको घटनाले सिङ्गो नेपालीको शिर  निहुरिएको बताउँदै उक्त  घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताए । 

त्यस्तै, प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले प्रदेशको समृद्धिका लागि सन्तुलित विकासको अवधारणाअनुसार कार्यक्रम ल्याउन सुझाव दिए । 

अर्का प्रदेशसभा सदस्य जानकी न्यौपानेले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा महिला विद्यालय सञ्चालन गर्न माग गरिन् । 

सांसद निमा गिरीले बाढी पहिरोले प्युठान लगायतका जिल्लामा क्षति पुर्‍याउँदा  प्रदेश सरकार टुलुटुलु हरेर बस्न नमिल्ने तथा घरबारविहीनलाई उचित व्यवस्थापन गर्नुपर्ने बताइन्   । 

त्यस्तै, प्रदेशसभा सदस्य इन्द्रकुमारी गहतराजले जातीय विभेदका घटनामा सरकार गम्भीर हुनुपर्ने र दोषीउपर कारबाहीको माग गरिन् ।

प्रदेशसभा सांसद गिरीधारी लाल न्यौपानेले पशुमा लाग्ने रोग लम्पी स्किन रोग भयावह हुँदा पनि किसानको दुःखमा सरकारको साथ नभएको  बताए । प्रदेश सरकारले पशुको मृत्यु र उपचार आदिको बारेमा सत्यतथ्य संसद्मा जानकारी  गराउन  माग गरे । 

प्रदेश सभाको बैठक बिहीबार दिउँसो  ३ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप