बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरण सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव

बुधबार, १० साउन २०८०, २० : २१
बुधबार, १० साउन २०८०

काठमाडौँ । कर्मचारी सरुवा सम्बन्धमा सफ्टवेयर प्रयोगको अवस्था र सरुवा प्रणालीमा सुधारका लागि कार्यदलले सुझाव पेश गरेको छ । कर्मचारी सरुवा व्यवस्थित गर्न गठित कार्यदलले बुधबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीलाई प्रतिवेदन बुझाएको हो । 

कर्मचारीकाे सुरुवा व्यवस्थित गर्न सामान्य प्रशासन मन्त्रालयले सहसचिव बलराम रिज्याल संयोजक, सहसचिव हेमराज तामाङ, उपसचिवत्रय मेहन्द्र प्रसाद साँखी, खिलराज राई र कमानसिंह थापामगर सदस्य रहेको कार्यदल गठन भएको थियो । 

कार्यदलले बुझाएको प्रतिवेदनमा कर्मचारी सरुवा सम्बन्धमा उठेका समस्या र चुनौतीका बारेमा सुझाव दिइएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । लोप्चनका अनुसार कार्यदलले कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेरमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव दिएको छ । 

यस्तै कर्मचारी व्यवस्थापन प्रणाली ९पिएमएस० विकास गर्ने र सो प्रणालीलाई निजामती किताब खानाको वैयक्तिक सूचना प्रणाली (पिआइएस) सँग आबद्ध गर्न पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । बिदा स्वीकृति, सरुवा निवेदन, सरुवा सहमति, पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख वैदेशिक अध्ययन, तालिम, निलम्बनसमेतका विवरणको व्यवस्थापन गर्न कार्यदलले सुझाएको छ ।

यस्तै प्रतिवेदनमा सफ्टवेयरमा संगठन संरचना र दरबन्दीको अद्यावधिक विवरण, टिप्पणी व्यवस्थापन (उठान, पेस र सदर) लगायत अभिलेख तथा स्वतः अद्यावधिक हुने व्यवस्था गर्नुपर्ने, लोकसेवा आयोगको भर्ना प्रणालीको तथ्यांकसँग यो प्रणालीलाई आबद्ध गरी कर्मचारीको माग आकृति फारामदेखि सिफारिससम्मको विवरण स्वतः लिने व्यवस्था, अतिरिक्त समूह र फाजिलमा रहेको कर्मचारीको विवरणलगायत विषय समेट्नुपर्ने उल्लेख छ । ‘विद्यमान अवस्थाको विश्लेषण गरी सरुवालाई व्यवस्थित गर्न उल्लिखित सिफारिस एवं कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरको प्रयोग गरी प्रणालीमा आधारित बनाउनु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । 

कार्यदलले बुझाएको प्रतिवेदन तत्काल लागू गर्नेगरी मन्त्रालयमा गृहकार्य अगाडि बढाएको बताइएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप