आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री लिम्बूद्वारा एशियाड अभ्यासको निरीक्षण

बिहीबार, ११ साउन २०८०, १८ : ३५
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । १९ औं एशियाली खेलकुदको आयोजना मिति नजिकिँदै गर्दा नेपालले आफ्नो खेलाडीको तयारीलाई तीव्रता दिइरहेको छ ।  

चीनको हाङझाउ सहरमा हुने १९औं एशियाली खेलकुद सुरु हुन अब ५८ दिन मात्र बाँकी छ । करिब दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्ना खेलाडीलाई विदेश र स्वदेशमा प्रशिक्षण गराउँदै आइरहेको छ । 

यसपटक नेपालले सहभागी गराउने २९ खेलमध्ये बक्सिङ, तेक्वान्दो र कराँतेलाई पदक सम्भावनामा रहेको भन्दै पहिलो प्राथमिकतामा राखेर तयारी थालेको छ । साथै खेलकुदका कार्यकारी निकायले पनि खेलाडीको प्रशिक्षण र तयारीबारे निरीक्षणमा पनि तीव्रता दिइरहेका छन् ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एशियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गरेका छन् । हाल पौडी, बक्सिङ, तेक्वान्दो, कुस्ती, टेबलटेनिस, गल्फ, क्यानोइङ र फेन्सिङ गरी ९ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । स्वदेशमा प्रशिक्षण गरिरहेका खेलाडीको तयारी बारे खेलकुदका कार्यकारी निकायले निरीक्षण गर्दै आएका हुन् ।  

बिहीबार मन्त्री लिम्बू र राखेप सदस्यसचिव घिसिङले विभिन्न स्थानमा अभ्यास गरिरहेका एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गरेका थिए । चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ । 

सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसँग सम्बन्धित विविध पक्षबारे जानकारी लिएका थिए । असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप