सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको बैठक : सरकारको समर्थनलाई निरन्तरता दिने निर्णय

बिहीबार, १८ साउन २०८०, २२ : ३३
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । जनमत पार्टीले संघ र प्रदेश सरकारलाई निरन्तरता दिने भएको छ ।  बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले पार्टीलाई सरकारमा सहभागी गराउन ढिलाई गरेको समेत सो बैठकको निष्कर्ष छ । त्यसैले पार्टीभित्र सरकारलाई दिइएको समर्थन फिर्ता लिन आवाज उठिरहेका बेला अध्यक्ष राउतले वर्तमान सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । 

बैठकमा अध्यक्ष राउतले भने, ‘संगठन निर्माणका लागि सरकार महत्वपूर्ण कुरा हो, त्यसमा सहभागी भएर जनताको काम गर्दै संगठन निर्माणसँग जोडिनुपर्ने भएकाले हरेक सरकारमा जनमतको सहभागिता रहनेछ ।’

सो पार्टीका एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष राउतले बैठकमा संघमा मन्त्रालयको बारेमा छलफल भइरहेको बताउँदै त्यसको पनि चाँडै टुगों लाग्ने बताए । 

बैठकले पार्टी संगठनलाई ५ गुणा ठूलो बनाउने लक्ष्यका साथ मिसन ८४ लाई अगाडि बढाउने निर्णय गरेको जनमत पार्टीले जनाएको छ ।  पछिल्लो निर्वाचनबाट निर्णायक ठाउँमा पुग्न नसक्दा ठूला पार्टीहरू एकताबद्ध भइ जनमत पार्टीमाथि आक्रमण गरेको दावी समेत उनले गरे । बैठकले आफ्नो पार्टीलाई अरु पार्टीहरुले सरकार बाहिर र भित्र निषेध गर्दै जनताका लागि काम गर्न नदिएको निष्कर्ष समेत निकालेको छ । 

ती सबै बाधा अड्चनलाई चिर्दै आफ्नै बलमा अगाडि बढ्ने र २०८४ को निर्वाचनबाटै त्यसको जवाब दिने समेत प्रतिबद्धता सो बैठकले गरेको जनमत पार्टीले जनाएको छ । केन्द्रीय समितिको बैठकमा प्रत्येक जिल्लाबाट एक–एक जनाले आआफ्नो धारणा राखेका थिए ।

बैठकमा २४ जिल्लाका केन्द्रीय सदस्यहरु सहभागी थिए । प्रत्येक जिल्लाका केन्द्रीय सदस्यले आफूमध्येबाट एक जना नेता चयन गर्न बैठकमा बोल्न लगाएका थिए । मिसन ८४ लाई कसरी अगाडि बढाउने नेताहरुले सुझाव दिएका थिए । 
२० लाख सदस्यता बनाउनका लागि जिल्ला समितिले प्रत्येक पालिकामा एक–एक जना पर्यवेक्षक चयन गर्ने निर्णय गरेको छ । सोही पर्यवेक्षकले पार्टीका अन्य सदस्यहरुको सहयोगमा वडा वडामा गएर सदस्यता वितरण गर्नेदेखि लिएर सदस्यता नविकरणसम्मका कार्य गर्नेछ । र त्यसको रिपोर्ट जिल्ला पार्टी समितिलाई गर्ने निर्णय बैठकले गरेको बताइएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप