रातोपाटी ब्रिफिङ : प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस, अनुमोदित भए ६ राजदूत
काठमाडौँ । आज मिति २०८० साल साउन महिनाको १८ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।
माओवादी केन्द्रीय समिति बैठक
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि प्रश्नको वर्षा भएको छ ।
बैठकको दोस्रो दिन बिहीबार बोल्ने कतिपय केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप समेत लगाए । जसका कारण माओवादी केन्द्रमा गुटगत क्रियाकलाप बढ्दै गएकोमा नेताहरूले चिन्ता समेत व्यक्त गरे । साथै केही नेताले पार्टीमा जर्नेल र युवराज युवराज्ञी प्रवृत्ति बढेको भन्दै कटाक्ष गरेका छन् ।
प्रधानन्यायाधीश सिफारिस
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा अगाडि सारिएको हो ।
रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
विद्यालय शिक्षा ऐनको मस्यौदा
मो समयपछि शिक्षा ऐन ल्याउन सरकार तत्पर देखिएको छ । २०२८ सालकै ऐनको भरमा चलिरहेको शिक्षा संरचना अबको केही समयपछि नयाँ ऐन अनुसार जानेछ । त्यसका लागि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदालाई सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको थियो ।
केही दिनभित्र सरकारले उक्त मस्यौदा संसद्मा पेस गर्नेछ । शिक्षा मन्त्रालयले उक्त ऐनको मस्यौदा निकै गोप्य तरिकाले बनाएको थियो । यद्यपि अनौपचारिक माध्यमबाट मस्यौदा सार्वजनिक भइसकेको छ ।
राजदूतको संसदीय सुनुवाइ
संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सहकारी पीडित र सरकारबीच सहमति
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो ।
राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद् अवरोध गरेको हो ।
सेयर बजार
आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ । आज कारोबार समयमा बढेर परिसूचक २१ सय अंकभन्दा माथि पुगेपनि अन्तिममा करेक्सन भएर ३ अंकको मात्रै वृद्धि देखिएको हो ।
यो पनि.....
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मधेश प्रदेशका स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्यमा झारेका छन् । पदभार ग्रहण गरेदेखि नै निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानमा लागेका मन्त्री मोदीले मधेश प्रदेशका सबै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमुक्त बनाएका हुन् ।
मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।
राजधानीको सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव १० दिनपछि फेला परेको छ । बालक १३ वर्षीय साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण