मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्तनपान

स्तनपान गराउने दर घट्यो : जन्मिनेबित्तिकै ५५ प्रतिशत शिशुले खान पाउँछन् आमाको दूध

पूर्ण स्तनपान गराउँदा बच्चा र आमा दुवैलाई फाइदा
बिहीबार, १८ साउन २०८०, १४ : ४८
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । नेपालमा साढे दुई दशकमा पूर्ण स्तनपान गराउने दर कम हुँदै गएको छ । बच्चा जन्मिएदेखि ६ महिनासम्म लगातार स्तनपान गराउनुलाई ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ भनिन्छ । यसरी ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ गराउने दर घटेर ५६ प्रतिशतमा सीमित भएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार सन् १९९६ मा ७५ प्रतिशत महिलाले पूर्ण स्तनपान गराउँथे तर, अहिले यो घटेर ५६ प्रतिशत पुगेको छ ।

सर्वेक्षण अनुसार सन् २००१ मा ६८ प्रतिशतले स्तनपान गराएकोमा सन् २००६ मा घटेर ५३ प्रतिशतमा सीमित भएको थियो । यस्तै, सन् २०११ मा गरिएको सर्वेक्षणमा भने यो दर बढेर ७० प्रतिशत पुगेको थियो ।

परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले स्तनपान गराउने दर पछिल्लो समय घट्नुका थुप्रै कारण रहेको बताए । जसमध्ये बट्टाको दूध राम्रो भन्ने गलत बुझाइ पनि एक भएको उनको भनाइ छ ।

समाजमा बट्टाको दूधको गलत प्रचारप्रसारको प्रभावमा परी महिलाहरूले स्तनपान गराउन छाडेको उनी बताउँछन् । बट्टाको दूध खुवाउँदा झाडापखाला, कुपोषण लगायतका समस्या देखा पर्ने र बच्चालाई मृत्युको मुखमा समेत पुर्‍याउन सक्ने थापाले बताए ।

उनले भने, ‘कम अध्ययन गरेका महिलाले पूर्णमात्रामा आफ्ना शिशुलाई स्तनपान गराएका छन् । तर, शिक्षित महिलाहरूले स्तनपान नगराएर बट्टाको दूध खुवाउने गरेका छन् ।’

थापाले शिक्षित महिलाहरू कामकाजी हुने भएकाले पनि स्तनपान गराउने दर कम भएको बताए ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले आमाको दूध बराबर अरु कुनै कुरा नहुने बताए । यदि आमाको दूध कम आएमा पोषिलो खानेकुरा खानेगर्दा बच्चालाई पुग्नेजति दूध आउने उनको भनाइ छ ।

उनी भन्छन्, ‘बच्चा जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूधमात्रै खुवाउनुपर्छ । त्यसपछि मात्रै अन्य खानेकुरा खुवाउनुपर्छ । अन्य खानेकुरासँगै दुई वर्षसम्म स्तनपान गराउनै पर्छ ।’

बच्चालाई आमाको दूध खुवाउँदा हुने फाइदाबारे जनचेतनामार्फत जानकारी गराउन नसक्दा पनि समस्या भएको चापागाईं बताउँछन् ।

जन्मिनेबित्तिकै ५५ प्रतिशत शिशुले खान पाउँछन् आमाको दूध

नेपालमा ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ मात्रै होइन, जन्मिने बित्तिकै अर्थात् जन्मिएको एक घण्टाभित्र आमाको दूध खाने दरमा पनि कमी आएको छ ।

५५ प्रतिशत शिशुले मात्र जन्मिएको एक घण्टाभित्र आमाको दूध खान पाउने गरेको तथ्य सन् २०२२ मा गरिएको सर्वेक्षणले देखाएको छ ।

नेपालमा बच्चा जन्मिने बित्तिकै वा एक घण्टाभित्र आमाको दूध खान नपाउनुको कारणमध्ये परम्परागत मान्यता पनि एक रहेको बालरोग विशेषज्ञ डा. चापागाईंले बताए ।

कतिपयमा बच्चा जन्मिने बित्तिकै आमाको दूधको साटो मह, घिउ, दूध, खुदो खुवाउने चलन रहेको उनको भनाइ छ । यस्तै, सुत्केरीको पहिलो दूध देवीदेवतालाई चढाएरमात्रै बच्चालाई खुवाउने चलन रहेकाले पनि बच्चाहरूका लागि महत्त्वपूर्ण अनि पोषिलो मानिएको दूधबाट वञ्चित भएको डा. चापागाईं बताउँछन् ।

कतिपयले शल्यक्रियामार्फत बच्चा जन्माउने गर्दा शल्यक्रियापछि बच्चालाई छुट्टै राखेर बट्टाको दूध खुवाउने चलन बढेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘अप्रेसन लगत्तै आमा र बच्चालाई छुट्टै राखिन्छ, जसले गर्दा बच्चाका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने पहिलो खोप अर्थात् आमाको दूधबाट वञ्चित गरिन्छ ।’

जन्मिएको एक घण्टाभित्र स्तनपान नगराएमा बच्चामा शारीरिक र मानसिक रूपमा ठुलो घाटा हुने उनको जिकिर छ । उनी भन्छन्, ‘आमाको दूध बच्चाको आवश्यकताको आधारमा भगवान्ले बनाइदिने भएकाले यस पकाउन, कुनै भाँडामा राखेर खुवाउन हुँदैन । दूध पकाउँदा वा कुनै भाँडामा राखेर खुवाउँदा बच्चालाई अन्य सङ्क्रमण हुने खतरा बढ्छ ।’

स्तनपान गराउँदाको फाइदा

बच्चा जन्मिएदेखि ६ महिनासम्म लगातार स्तनपान गराउनुलाई ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ भनिन्छ । ६ महिनापछि आमाको दूधसँगै अन्य पौष्टिक आहार दुई वर्षसम्म लगातार खुवाउनुपर्ने बाल रोग विशेषज्ञ डा. चापागार्ईं बताउँछन् ।

जन्मिएदेखि लगातार स्तनपान गराउँदा बच्चालाई मात्रै फाइदा नभएर आमालाई पनि हुने चिकित्सकहरू बताउँछन् । आमाले नियमित रूपमा जति धेरै स्तनपान गराउँछिन्, त्यति धेरै दूध आउनुका साथै बच्चासँग आमाको निकटता बढ्ने उनले बताए ।

स्तनपान नियमित गराउँदा स्तनको क्यान्सर, पाठेघरको डिम्बासयको क्यान्सर हुने सम्भावना कम हुने डा.चापागाईंको भनाइ छ । यस्तै, ६ महिनासम्म लगातार स्तनपान गराएमा परिवार नियोजनको साधनका रूपमा काम गर्ने उनले बताए ।

डा. चापागाईंका अनुसार बच्चालाई जति दूध खुवायो, त्यति नै गर्भवती हुँदाको शरीर सामान्य रूपमा फर्कन सहयोग हुन्छ । उता नियमित रूपमा स्तनपान गराउँदा आमा मानसिक रूपमा स्वस्थ रहने उनको जिकिर छ । 

यस्तै, आमाको दूध सफा, सुरक्षित र आर्थिक भारसमेत नपर्ने भएकाले बच्चाको स्वास्थ्य तथा आर्थिक रूपमा पनि फाइदाजनक हुने उनले बताए ।

पूर्ण मात्रामा स्तनपान गराएका बच्चालाई कालान्तरमा गम्भीर खालका समस्याले नसताउने डा. चापागाईंको जिकिर छ । पूर्ण स्तनपान गराइएका झाडापखाला, कुपोषण, निमोनिया लगायत भविष्यमा दम, मधुमेह, उच्च रक्तचाप र नसर्ने प्रकृतिका रोगहरूले नसताउने उनले बताए ।

यस्तै, बट्टाको दूध खुवाएको बच्चाभन्दा आमाको दूध खाएको बच्चा तीक्ष्ण हुने उनी बताउँछन् ।

उनी भन्छन्, ‘पूर्ण रूपमा स्तनपान नगराएका बच्चा पटकपटक बिरामी भई अस्पताल लैजानुपर्ने हुन्छ । पटक पटक अस्पताल लैजाँदा दिइने औषधिकै कारण बच्चा कुपोषित भई धेरैको ज्यान गएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप