बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख आचार्य र चाइना रेलवे कम्पनीका प्राविधिकहरूबीच छलफल

शुक्रबार, १९ साउन २०८०, २० : ३१
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विस्तृत रेलमार्गको अध्ययनका लागि तथ्यांक संकलन गरिरहेको टोलीले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको हो । 

छलफलका क्रममा पोखरा–काठमाडौँ रेलमार्गका विषयमा पनि कुराकानी भएको छ । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका क्रममा आउने कुनै पनि प्रकार समस्याहरूको समाधानका लागि आफूहरू तयार रहेको बताए । “यो परियोजना अगाडी बढ्यो र अध्ययन तथा निर्माणका दौरानमा हाम्रो महानगरभित्र कुनै अवरोधहरू सृजना भएको खण्डमा तत्काल समाधान गरिनेछ”, उनले भने, “स्थानीय सरकारको तर्फबाट विकासका सवालमा समन्वयात्मक भूमिका रहन्छ नै ।” पर्यटन पहिलो प्राथमिकता रहेको भन्दै प्रमुख आचार्यले पर्यटनको क्षेत्रमा लगानी बढाउन सकिने टोलीलाई सुझाए ।

सो क्रममा चिनिया टोलीले रेलमार्गका अलवा पोखराको औद्योगिक विकासको सम्भावना र जनशक्तिको उपलब्धता सहित परिचालनका विषयमा चासो राखेको थियो । कोरोना भाइरसको सङ्क्रमण पूर्व र पश्चात् चिनियाँ पर्यटकहरूको पोखरा आवागमनको दरका विषयमा समेत टोलीले जिज्ञासा राखेको थियो । चाइना नेपाल इकोनमिक कोरिडोरको विकासका लागि चिन सकारात्मक रहेको टोलीले बताएको छ । 

हरित सहरी विकास र बृहत्तर पोखराको अवधारणा केन्द्रित विकासका नयाँ सम्भावनाहरूको सवालमा समेत चिनियाँ चासो रहेको थियो । प्रमुख आचार्यले आफूहरू पोखराको दिगो भविष्य निर्माण गर्ने दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको बताए । दिगो पर्यटन विकासका विभिन्न परियोजनाहरू सञ्चालनको क्रममा रहेका उनले बताए । पोखरा–काठमाडौँ रेलमार्ग निर्माणले गति लिए पोखराको पर्यटन र समग्र अर्थव्यवस्थामा सकारात्मक प्रभावहरू देखिने उनले बताए । 

चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू सम्मिलित टोलीले अध्ययन पश्चात् तीन वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी पेस गर्ने जनाएको छ । टोलीका अनुसार पहिलो एक वर्षमा सर्भे सम्पन्न गरी डेढ वर्षभित्र फिल्डमा पुगेर सर्भे र म्यापिङ गरिनेछ । आगामी एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने छ ।

काठमाडौँमा कार्यालय समेत खोलेरै काम सुरु गरेको चिनियाँ टोलीले हाल रेलमार्गको स्थलगत अवलोकन सहित अध्ययनको काम गरिरहेको छ । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डिपिआरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप