आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सिन्डिकेट विरुद्धको अभियान

सुर्खेतका यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध आफ्नै टिपरमा जनता बोक्दै चौकुने गाउँपालिका

शनिबार, २० साउन २०८०, १५ : ०७
शनिबार, २० साउन २०८०

सुर्खेत । सुर्खेतका यातायात व्यवसायीको ज्यादती पछि पश्चिमको चौकुने गाउँपालिकाले सहजताका लागि टिपरमा जनता बोक्ने भएको छ ।  एक महिना अघिदेखि यातायात व्यवसायीले सडकको कारण भनी पश्चिममा गाडी लिने गरेका छैनन् ।

जसका कारण चौकुनेका जनताहरू घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् भने ज्येष्ठ, नागरिक, गर्भवती महिला र राजधानी वीरेन्द्रनगरमा आउने विद्यार्थी लगायत सबैलाई निकै समस्या भइरहेको छ ।   यातायात सञ्चालनका लागि पटक–पटक आग्रह र पहल गर्दा पनि गाडी नपुगेपछि गाउँपालिकाले शनिवारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु सेवा प्रदान गरेको हो । 

पालिकाका अध्यक्ष खड्ग विक (विवश) स्वयम् टिपरमै बसेर चौकुनेबाट प्रदेश राजधानी वीरेन्द्रनगर आएका छन् ।  यातायात व्यवसायीले सडकको कारण देखाए पनि स्थलगत अनुगमनका पश्चात् त्यस्तो कुनै समस्या नरहेको पाइएको छ । जबकि अघिल्ला वर्षहरूमा त्यही सडकमा स्याउला हालेर समेत गाडी सञ्चालन हुने गरेका थिए ।

chaukune-tiper (2)

अहिले त्यस्तो कुनै समस्या नरहेको र यातायात व्यवसायीको दादागिरीले गर्दा जनतालाई समस्या भइरहेको गाउँपालिका अध्यक्ष विकले बताए । गाडी नचलेपछि यहाँ निजी बोलेरो लगायतले ५ सय लाग्ने ठाउँमा २ हजार समेत भाडा लिने गरेका छन् ।

यातायात व्यवसायीले पञ्चपुरी नगरपालिका–९ को विद्यापुरसम्म मात्रै गाडी लिन्छन् । त्यसभन्दा पश्चिम गुटु, लगाम, बिजौराका नागरिकहरू गाडी नचल्दा दुई दिन पैदल यात्रा गरेर विद्यापुर आउने गरेका छन् । 

‘आजदेखि हामीले टिपरमा नागरिक वीरेन्द्रनगर पुर्‍याउँछौँ, यो रहर नभई बाध्यता हो,’ अध्यक्ष विकले भने,‘ यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिपर र तेल खर्च गर्छौँ ।’ 

शनिवारदेखि भे १ ग १२९ र भे १ ग १३० नम्बरको टिपरबाट यात्रुलाई सेवा दिइएको छ । अध्यक्ष विकले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई एक पत्र लेख्दै जनतालाई परेको पीडा महसुस गरी गाउँपालिकाको टिपरमार्फत सवारी ओसार पसार गर्नुपर्ने बाध्यता आएकाले आवाश्य समन्वय र सहयोग गरिदिन आग्रह गरेका छन् ।

वीरेन्द्रनगरदेखि चौकुने गुटुसम्म करिब ६० किलोमिटर छ भने गुटुदेखि लगामसम्म ३३ किलोटिरको दुरी छ । उक्त रुटका लागि विभिन्न साना ठुला गरी ११ वटा गाडीहरू वीरेन्द्रनगरबाट छुट्छन् । यद्यपि ती गाडीहरू विद्यापुरसम्म मात्रै पुग्छन् । जसका विरुद्ध गाउँपालिकाले निःशुल्क यात्राको ब्यानर टाँगेर टिपरमा नागरिकलाई यात्रा गाएको हो । अध्यक्ष विकका अनुसार आइतबार भने चारवटा टिपरबाट सेवा प्रदान गरिने छ । 

chaukune-tiper (3)

दुई वटा टिपरमा पालिका अध्यक्ष र तीनवटा वडाध्यक्षसहित ६० जना यात्रु वीरेन्द्रनगरतर्फ हिँडेका छन् । गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक गगन पाण्डेले भने, संयुक्त (गठबन्धन) भएपछि कसैको केही लाग्दैन भन्ने प्रमाण संयुक्त यातायातले दिएको छ ।

४० दिनदेखि झेल्दै आएको पीडा बुझिदिने कसले ? स्थानीय सरकारले हदसम्म लचकता अपनाउँदा पनि यातायातका साधन चौकुने सम्म लैजान नचाहनु संयुक्त यातायात मौन भयो । चौकुनेबासीको पीडामा रमाउन खोज्नेहरूले यसको हिसाब भविष्यमा पक्कै पाउने छन् । यसरी हेर्दा सङ्घीयता शब्द खराब हो कि शासक खराब भएर यो नतिजा जनताले भोग्नुपर्ने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप