शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संगीत–बहस

‘नेपाली गीत बनाएपछि त्यो नेपालीजस्तै हुनुपर्छ’

शनिबार, २० साउन २०८०, १७ : १९
शनिबार, २० साउन २०८०

संगीतकार, गायक, संगीत–संयोजक, पन्चैबाजा वादक — आशीष अविरलको परिचय फराकिलो छ । 

भर्खरै फिल्म एैँचोपैँचोको ‘काले केटाले’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भयो । एकनारायण भण्डारीको शब्द रहेको यस गीतका संगीतकार, संगीत–संयोजक तथा गायक अविरलले यतिबेला प्रशंसा र सुन्दर प्रतिक्रिया बटुलिरहेछन् । ‘संगीत मात्रै होइन, मेरो गायकीको पनि प्रशंसा हुन थालेको छ,’ बिहीबारको भेटमा उनले हाँस्दै ठट्यौली शैलीमा भने, ‘म संगीतकार, संगीत–संयोजक, पञ्चैबाजा वादक मात्रै होइन गायक पनि हुँ । गायकको रूपमा चर्चा–प्रशंसा भइरहँदा अझ बलियो संगीतकार भएँझैँ लाग्दो रहेछ ।’

आशिष पछिल्लो दुई दशकभन्दा अघिदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन् । उनी नेपाली संगीत बजारमा बिक्न र नेपाली संगीत बगैँचामा फुल्न थालेको डेढ दशकभन्दा बढी भयो । २०६४ सालमा उनको संगीत र संगीत–संयोजन, आनन्द अधिकारीको शब्द र नरेन्द्र प्यासीको स्वरमा ‘बास्ना’ एल्बम आयो — यही एल्बमबाट नेपाली संगीत आकाशमा उडान भरेका आशिषले व्यावसायिक रूपमा त्यति लामो ‘ट्राजिन्ट’ बेहोर्नुपरेको छैन । 

बास्ना एल्बमका ‘तिमीबिनाको जीवन’, ‘तिम्ले दिने माया’ र ‘फूलको दिलमा पनि’ बोलका गीतलाई श्रोताले उधुमै मन पराए । आजसम्म उनले दुई सयभन्दा बढी गीतमा संगीत दिएका छन् भने दुई दर्जनभन्दा बढीमा आवाज । बास्ना एल्मबअघि उनले पन्चैबाजामा गाएर लोकगीत तथा दोहोरीगीतका पाँचवटा एल्बम निकाले, खासै चलेनन् । योबीचमा उनले डोरेमी संगीत पाठशालामा शास्त्रीय गायन तीन वर्ष र साधना कला केन्द्रमा एक वर्ष किबोर्ड सिके । बास्ना एल्मबसम्म आउँदा उनी साधना र अनुभवले पनि केही खारिएका थिए । 

संगीतकार कति हदसम्म गायक र गायक कति हदसम्म संगीतकार हो, यसको मापन गर्न वा अंकमा भन्न सकिँदैन तर एउटा संगीतकारलाई सरगम, आलाप, राग र तालसँगै वाद्यवादनको आधारभूत ज्ञान हुनुपर्ने अविरल बताउँछन् ।

ashish abiral (1)

‘शब्दलाई लय वा भाकामा ढाल्ने एउटा व्यक्ति होला, लयलाई गाउने अर्को होला । यसरी गीत बन्दा आवश्यक सम्पूर्ण संगीत भर्ने, त्यसलाई मिलाउने व्यक्ति संगीतकार हो,’ आशिष संगीतकारको व्याख्या गर्छन्, ‘रेडियो नेपालमा पहिले गीतको लय, भाका वा धुन मात्रै निकाल्नेलाई तर्जकार भनिन्थ्यो (अरबी शब्द तर्जको अर्थ संगीतको लय वा शैली पनि हुन्छ) । भाका निकाल्ने मात्र काम गर्नेलाई संगीतकार मान्न नसकिने अर्थमा तर्जकार भनिएको हो । पछि पछि गीतको लय वा भाका बनाउनलाई मात्रै पनि संगीतकार भन्न थालियो । अहिलेकै संगीतकारको परिभाषामा पनि संगीतकारले गाउन जान्नैपर्छ, किनभने ऊ स्वयंले सुरमा नगाईकन उसले गीतको मर्मअनुरूप गायकलाई गवाउन सक्दैन ।’

चलचित्रमा अविरल 

उनको राग स्टुडियोमा उनीसँग सुरुवाती पार्टनरका रूपमा रेडियोकर्मी मन्दिरा ढुंगेल थिइन् । एकपटक अभिनेत्री झरना थापा स्टुडियोमा आएका बेला मन्दिराले भनिन्, ‘आशिष निकै राम्रो संगीतकार हो । तपाईंले फिल्ममा गीतका लागि आशिषसँग काम गर्दा हुन्छ नि ।’

झरनाले आशिषको संगीत रहेको कुनै नयाँ गीत सुन्न चाहिन् । आशिषले ‘परान परान’ बोलको गीत सुनाए । पहिलोपटकमै झरनालाई यो गीत मनप¥यो । फिल्म ‘ए मेरो हजुर ३’का लागि भनेर सुरुमा झरनाले आशिषसँग दुईवटा गीत लिइन्, अर्को गीत थियो, ‘जिन्दगी नै भन्दिनँ’ बोलको । 

आनन्द अधिकारीले लेखेको ‘परान परान’ बोलको गीतलाई आशिष र अञ्जु पन्तले गाए । गीत सुपरहिट भयो, अहिलेसम्म यो गीतलाई युट्युबमा पाँच करोड ५६ लाखपटक हेरिएको छ । 

एकनारायण भण्डारीले लेखेको ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतलाई आशिषको संगीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले गाए, यो गीतलाई पनि श्रोता–दर्शकले निकै रुचाए । पहिलोपटकमै दुईवटा गीत हिट भएपछि आफूले फिल्ममा अवसर पाउने आशिषले ठानेका थिए तर सोचेजस्तो भएन । 

 

ashish abiral (2)

एकनारायण भण्डारीको शब्द, आशिषको संगीत, समीर आचार्य र अञ्जु पन्तको स्वर रहेको ‘झम्के माया’बोलको गीतको म्युजिक भिडियोमा कलाकार स्वस्तिमा खड्का मोडल थिइन् । ऐँचोपैँचो फिल्मका लागि आशिषलाई स्वस्तिमाको फोन आयो । स्वस्तिमाको टिमलाई उनले तीनवटा गीत सुनाए, टिमले ‘काले केटाले’ बोलको गीत मन परायो । 

आशिषको अनुभव र बुझाइमा गीत राम्रो हुने साधना, मौलिकता र प्रविधिले नै हो । ‘परान परानमा गन्धर्व गायनशैली छ । त्यस शैलीलाई पनि फरक ढंगले प्रस्तुत गरिएको छ । त्यस्तो लाग्दैन कि यो गन्धर्व गायन शैली हो,’ आशिष भन्छन् । 

हुन पनि मादल, पन्चेबाजा, बाँसुरी र सारंगीको बढी प्रयोगले यो गीत मौलिक बनेको छ । यसपालि ‘काले केटाले’मा पनि उनले सहनै, सारंगी, बाँसुरी बादल प्रयोग गरेका छन् । ‘कालेकेटा विशुद्ध नेपालीपन बोकेको गीत हो । यसमा शब्ददेखि लय, बाजामा पनि नेपालीपन ल्याएको छु,’ उनी भन्छन्, ‘र, यसमा भोकलको भरपुर प्रोग्रामिङ गरेको छु । 

पन्चैबाजामा लोकगीत गाएर संगीत क्षेत्रमा आफ्नो उपस्थिति जनाएका आशिषको निष्कर्ष छ, नेपाली गीत बनाएपछि नेपालीजस्तै हुनुपर्छ । ‘हामीले हिन्दीजस्तो, अंग्रेजीजस्तो गीत बनाउनुको तुक छैन, उनीहरू नै राम्रो बनाइरहेका छन्,’ उनी भन्छन्, ‘त्यसमाथि हामी सांस्कृतिक अतिक्रमणको चपेटामा छौँ । हामीले हाम्रो मौलिकतालाई संसारमा चिनाउन सक्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ ।’

आशिषको संगीतका थुप्रै गीत हिट छन् — ‘माया लुकी लुकी’, ‘यो कुरा गोप्य’, ‘नाइँ मलाई था छैन’, ‘किन कर्के नजर’, ‘म बाँचेकै तिमीसँग माया लाउन हो’ लगायत । उनले आफ्नो संगीतको गीतमा आफैँ संगीत–संयोजनको काम गर्छन् । उनले एरेन्ज गरेका गीत पनि थुप्रै हिट छन् — सालको पात, लालुमै, भँगेरी चरी आदि । 

उनको रिसर्च भन्छ, हलिउड र बलिउडमा हिट गीत जन्माइन्छ । हिट गीत बन्नुमा विभिन्न थ्यौरीले काम गर्छ । एउटै म्युजिकमा सयौँपटक लिरिक्स लेखिन्छन् । एउटै पिस दर्जनौँ स्टुडियोमा रेकर्ड गरिन्छ । कहाँ गरेको रेकर्डमा कस्तो भाइब्स आयो भन्ने हेरिन्छ । 

गीत राम्रो हुन के के मिल्नुपर्छ ? आशिषको जवाफ छ, ‘नेपालमा गीत दुई प्रकारले गीत हिट हुन्छ, एउटा काकतालीले । अर्को गीतको सम्पूर्ण अवयव राम्रो भयो भने त्यो श्रोताको मनमा बस्न पुग्छ । हामीकहाँ प्रायः काकताली परेका गीत नै हिट छन् । कुनै गीतको कुनै शब्द श्रोतालाई मनपर्छ, कुनै गीतको लय मन पर्छ, कुनै गीतमा प्रयोग भएको बाजाले पनि श्रोताको मन खिच्न सक्छ । त्यसरी हिट भएका थुप्रै गीत छन् । सुखद पक्ष के छ भने, अहिले बजारमा कन्ट्रोभर्सीबिनाका जति गीत हिट छन्, ती गुणस्तरीय छन् ।’ 

उनलाई नेपालीपन र पहिचानमै रहेर, नेपालका लोकबाजा, संस्कृतिलाई प्रवद्र्धन गर्ने हेतुले एक्सपेरिमेन्टल गीत बनाउने इच्छा छ । ‘कुनै पनि देश वा राज्यले आफ्नो रैथाने संगीतलाई प्रवद्र्धन गर्न जरुरी छ । यसैमा विश्व विविधता झल्कन्छ,’ अन्तमा उनले भने, ‘मैले सुरुदेखि नै पन्चैबाजा र लोकगीतमा काम गरेँ, मलाई रैथाने संगीतमा मोह छ । रैथाने संगीतमा समाजका धेरै पक्ष हुन्छन् । त्यसमा बेग्लै मिठास हुन्छ । त्यसमा समाज अभ्यस्त हुँदै आएको पनि हुन्छ । अहिले आधुनिकता नक्कल गर्ने हुँदा ती चिज छुटेका छन् ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप