सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जामा औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

सोमबार, २२ साउन २०८०, १५ : ४२
सोमबार, २२ साउन २०८०

स्याङ्जा । स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । 

तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिइन् ।

उनका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताइन् । उनका अनुसार २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये औषधि सेवन गर्ने एक सय ६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन् । यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका प्रमुख शर्माले जानकारी दिइन् । उनका अनुसार हरिनाशमा एक सय ६६, अर्जुन चौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् ।

त्यस्तै, भिरकोटमा एक सय आठ, चापकोटमा ८२ र गल्याङ नगरपालिकामा २८ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका प्रमुख शर्माले जानकारी दिइन् । औषधि खुवाएर गराइने गर्भपतन सेवा, सुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको उनले बताइन् । उनले उपकरण प्रयोग गर्नुपर्ने प्रकृतिका महिला गर्भपतन गर्न निकै कम आउने भएकाले पनि औषधि सेवन गर्नेको सङ्ख्या बढी देखिएको दाबी गरिन् ।

“निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेको विवरण हामीले समेटेका छैनौँ”, प्रमुख शर्माले भनिन्, “निजी स्वास्थ्य संस्था र अवैधानिकरुपमा गर्भपतन गराउनेको सङ्ख्या जोड्ने हो भने जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या डर लाग्दो छ ।” उनले असुरक्षित यौन सम्पर्क र गर्भपतनलाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप