सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको आँखामा ‘भूपी’ पुस्तक लोकार्पण

मङ्गलबार, २३ साउन २०८०, १८ : ४३
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । कवि भूपी शेरचनबारे लेखिएको अंग्रेजी भाषाको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ । मंगलबार एक कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् पुस्तक लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे । 

लोकार्पण कार्यक्रमको सुरुमा पत्रकार एवम् लेखक देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवादसमेत गरे । शेरचनले आफ्ना पिता भूपीका विषयमा आमरुपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे प्रकाश पारिन् । 

‘मलाई एक दुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर चार पाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो ।’ 

आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरु सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले बुझेको उनको भनाइ थियो । 

‘भूपी दाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ,’ कार्यक्रममा भूपीका विषयमा प्राध्यापक अभि सुवेदीले भने, ‘यो समाजमा रक्सी नखाने को छ ? यस विषयमा भूपी दाइलाई अलि बढी नै नकारात्मक रुपमा प्रस्तुत गरिनु हुन्नथ्यो भन्ने मलाई लाग्छ ।’ 

साथै, उनैकी छोरीले लेखेको यस पुस्तकले आफूले बुझेका बुबा र समाजले चिनेका बुबाका सन्दर्भलाई बडो राम्रोसँग प्रस्तुत गरेको सुवेदीले जिकिर गरे ।  

कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपीसँग सँगसँगै प्राज्ञ हुँदाका सन्दर्भदेखि आफूलाई नेपालीमा लेख्न प्रेरित गर्ने व्यक्तित्व पनि भूपी नै रहेको सुनाए । 

‘म विज्ञानको विद्यार्थी, रिपोर्ट आदि विषय अंग्रेजीमै लेख्नुपर्ने, नभए साइन्स नहुने,’ उनले भने, ‘तर भूपीजीले आफूले अध्ययन अनुसन्धान गरेका विषय नेपालीमा पनि लेख्नुस् भनेपछि म नेपाली भाषामा लेखरचना लेख्नतिर लागेको हुँ ।’ 

पुस्तकलाई ढाका टोपी जसरी बुनिएको श्रेष्ठले जनाए । ‘कविरुपी भूपीका सन्दर्भलाई तानरुपी शब्दले रोचक रुपमा जोडिएको छ,’ उनले भने । 

एउटी छोरीले आफ्ना बाबुलाई तटस्थ रहेर प्रस्तुत गरेको पनि उनले बताए । अन्धविश्वास र विकृतिलाई छाडेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशसमेत पुस्तकले दिएको श्रेष्ठले जनाए । 

कार्यक्रममा भूपीपत्नी कान्ति शेरचनले पनि विगत सम्झिइन् । भूपीले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको उनले बताइन् । साथै भूपीको निधन भएको ३५ वर्षपछि आफ्नी छोरीले बाबुलाई सम्झिएर यति सुन्दर पुस्तक लेखेकामा आफूलाई गौरवबोध भएको पनि उनको भनाइ थियो । ‘भूपीजीका विषयमा छोरीले यसरी पुस्तक लेख्दा मलाई साह्रै खुसी लागेको छ,’ उनले भनिन् । 

कार्यक्रममा पुस्तक प्रकाशक फाइनप्रिन्टका नीरज भारीले सर्वकालीन कवि भूपी शेरचनका विषयमा लेखिएको यति गहन कृति प्रकाशन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप