झाडापखाला, ज्वरो र सर्पदंशका बिरामीले भरिए अस्पतालका आकस्मिक कक्ष

समाचार सारांश
- मनसुनको समयमा काठमाडौं उपत्यकामा खानेपानी दूषित हुँदा झाडापखाला, ज्वरो र सर्पदंशका बिरामी बढेका छन्।
- टेकु अस्पतालमा दैनिक झाडापखालाका १२-१५, ज्वरो-रुघाखोकीका २५ र सर्पदंशका १०-१२ बिरामी उपचारका लागि आउने गरेका छन्।
- दूषित पानी र खाना, विषादी प्रयोग गरिएका तरकारी र फलफूल, र सर्पदंशबाट बच्न सरसफाइ र सावधानी अपनाउन डाक्टरको सुझाव छ।
काठमाडौँ । मनसुनको स्वास्थ्यका लागि चुनौतीपूर्ण मौसम बन्ने गर्छ । काठमाडौँ उपत्यकामा बर्खा लागेसँगै खानेपानीका मुहान दूषित हुन थालेका छन् । कीराफट्याङ्ग्रया तथा सर्पको बिगबिगी बढ्न थाल्दा अस्पतालहरूमा बिरामीको चाप पनि हुन थालेको छ ।
विशेषगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को आकस्मिक कक्ष झाडापखाला, ज्वरो–रुघाखोकी र सर्पदंशका बिरामीले भरिन थालेको छ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल चालिसेका अनुसार पछिल्लो एक सातायता यस्ता बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । ‘अहिले अस्पतालमा भर्ना हुने बिरामीमा अधिकांश झाडापखाला, ज्वरो र सर्पदंशका छन्,’ उनले भने, ‘केही बिरामी त अत्यन्तै सिकिस्त अवस्थामा बेहोस भएर आकस्मिक कक्षमा आइपुग्छन् ।’
अस्पतालको तथ्याङ्कअनुसार हाल दैनिक औसतमा १२ देखि १५ जना झाडापखालाका, करिब २५ जना ज्वरो–रुघाखोकीका र १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । यी बिरामीहरू काठमाडौँ, ललितपुर र भक्तपुरका साथै उपत्यका बाहिरका छिमेकी जिल्लाहरूबाट समेत आउने गरेका छन् ।
अत्यधिक विषादी प्रयोग गरिएका तरकारी र फलफूलले पनि पेटको समस्या बढाएको हुन सक्ने अनुमान गरिए पनि त्यो प्रमाणित हुन भने बाँकी रहेको उनको भनाइ छ ।
- दूषित पानी र खानाले बढायो झाडापखाला
बर्खायाममा झाडापखाला फैलनुको मुख्य कारण दूषित पानी र खानेकुरा नै रहेको डा. चालिसे बताउँछन् । उनका अनुसार वर्षाको भेलले खानेपानीका मुहान, इनार र पाइपलाइनहरूमा ढल मिसिने हुँदा पानीमा ‘कोलिफर्म’ जस्ता हानिकारक ब्याक्टेरियाको सङ्क्रमण हुन्छ । यही दूषित पानीको प्रयोग खाना पकाउन, भाँडा माझ्न वा सीधै पिउनका लागि गर्दा झाडापखालाको जोखिम बढ्छ ।
‘अहिले अस्पतालमा आउने बिरामीमा पेट दुख्ने र पातलो दिसा हुने साझा लक्षण देखिएको छ,’ डा. चालिसेले भने, ‘यसको कारण ब्याक्टेरियल इन्फेक्सन वा फुड पोइजनिङ हो ।’ बजारमा पाइने फलफूल र तरकारी राम्ररी नपखाली खाँदा पनि सङ्क्रमण फैलिएको बताए ।
अत्यधिक विषादी प्रयोग गरिएका तरकारी र फलफूलले पनि पेटको समस्या बढाएको हुन सक्ने अनुमान गरिए पनि त्यो प्रमाणित हुन भने बाँकी रहेको उनको भनाइ छ । बासी, सडेगलेका र झिँगा भन्किएका खानेकुराले पनि झाडापखालाको प्रकोप बढाउन मद्दत गरेको छ ।
- सर्पदंशका बिरामी पनि बढ्न थाले
झाडापखालासँगै बर्खामा सर्पदंशको जोखिम पनि उत्तिकै बढेको छ । टेकु अस्पतालमा काठमाडौँ उपत्यकाभित्र मात्र नभई धादिङ, गोरखा, नुवाकोट र काभ्रेजस्ता पहाडी जिल्लाहरूबाट समेत सर्पले टोकेका बिरामीहरू उपचारका लागि आइपुगेका छन् ।
सर्पले टोकेमा कुनै पनि घरेलु उपचार वा झारफुकमा अलमल नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न उनको आग्रह छ ।
डा. चालिसेका अनुसार, हाल उपचारमा आएका अधिकांश बिरामीलाई पहाडी क्षेत्रमा पाइने हरियो रङको ‘पिट भाइपर’ सर्पले टोकेको पाइएको छ । यो सर्पको विषले रगतलाई पातलो बनाइदिने र शरीरका विभिन्न भागबाट रक्तस्राव गराउने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । ‘सर्पले टोकेपछि टोकेको भाग सुन्निने, आँखाका ढकनी लत्रिने, नाक, गिजा वा पिसाबबाट रगत बग्ने, र घाँटी लत्रिने जस्ता लक्षणहरू देखिन्छन्,’ उनले भने ।
तराईमा पाइने विषालु सर्प ‘कोब्रा’ र ‘करेत’ले टोकेका बिरामीहरू यस वर्ष हालसम्म अस्पतालमा भर्ना नभए पनि ढुक्क हुने अवस्था नरहेको उनी बताउँछन् । ‘तापक्रम वृद्धिसँगै सर्पको वासस्थानमा परिवर्तन आउन सक्छ, त्यसैले पहाडी क्षेत्रमा पनि यस्ता सर्प देखिँदैनन् भन्न सकिँदैन,’ उनले सचेत गराए ।
सर्पले टोकेमा कुनै पनि घरेलु उपचार वा झारफुकमा अलमल नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न उनको आग्रह छ ।
- कसरी जोगिने ?
डा. चालिसेका अनुसार केही सामान्य सावधानी अपनाए बर्खायाममा देखिने यी स्वास्थ्य समस्याबाट बच्न सकिन्छ :
शुद्ध पानी पिउनेः पिउने पानीलाई सधैँ कम्तीमा एक मिनेट भकभकी उमालेर, फिल्टर गरेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउनुपर्छ ।
खानाको सरसफाइः खाना बनाउनुअघि, खानुअघि र शौचालय प्रयोगपछि साबुनपानीले मिचीमिची हात धुनुपर्छ । बासी, सडेगलेको र खुला स्थानमा राखेको खानेकुरा खानुहुँदैन ।
काँचो खानेकुरामा सावधानीः फलफूल र तरकारीलाई राम्ररी पखालेर मात्र खानुपर्छ । सकेसम्म यो मौसममा काँचो सलाद नखानु नै उत्तम हुन्छ ।
व्यक्तिगत सरसफाइः व्यक्तिगत सरसफाइमा ध्यान दिने र घरवरिपरिको वातावरण सफा राख्ने ।
तत्काल स्वास्थ्य संस्था जानेः दिनमा दुई पटकभन्दा बढी पातलो दिसा भए, शरीर कमजोर भए, वा ज्वरोसँगै श्वासप्रश्वासमा कठिनाइ भए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । झाडापखाला हुँदा शरीरमा पानीको कमी हुन नदिन जीवनजल वा अन्य झोलिलो पदार्थ पटक–पटक पिउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?